कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेर्नुहोस्, जाजरकोट दरबारमा फूलपाती भित्र्याउँदाका तस्बिरहरु

भीमबहादुर सिंह

जाजरकोट — दसैंको सातौं दिन सप्तमीमा जाजरकोट दरबारमा फूलपाती भित्र्याइएको छ । शक्तिको प्रतिक खडग देवतासहित जाजरकोट दरबारमा फूलपाती भित्र्याइएको हो । त्यस्तै यहाँका मौला शक्तिपीठ तथा स्थानीयले पनि घरमा फूलपाती भित्र्याएका छन् ।

जाजरकोटमा उखु, अदुवा, बेलपत्रलगायत पुजा सामाग्री र खडग देवतासहित फूलपाती भित्राउने चलन छ । पुरानो जगतीपुर दरबारका पुजारी रत्नदास शर्माका सन्तानले खडग देवता ल्याएर खलंगा दरबारको दसैं घरमा फूलपाती भित्र्याउने परम्परा छ । २३ वर्षअघिसम्म जगतीपुर दरबारबाटै ब्राम्हण जातिका पुजारीले खडग देवतासहितको फूलपाती ल्याउने प्रचलन थियो । तर, माओवादी द्वन्द्वसँगै जिल्ला प्रहरी कार्यालय परिसरको कालिका मन्दिरमा खडग देवता राख्ने गरिएको थियो ।

मंगलबार पनि कालिका मन्दिरबाट फूलपाती दरबारमा पूजाआजासहित भित्र्याइएको छ । पुजारी सत्यप्रसाद शर्माले ल्याएको खडग र फूलपातीलाई प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले विधिपूर्वक भित्र्याए ।इतिहासका जानकार केदारबहादुर शाहका अनुसार विक्रम सम्वत १८२५ मा पृथ्वीनारायण शाह र तत्कालीन जाजरकोटे राजा हरि शाहबीच काँसीमा मितेरी लाएर धर्मसन्धि भएको थियो । मितेरीसँगै जाजरकोटले पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई सघाउने, पृथ्वीनारायणको फौजले जाजरकोट राज्यमाथि आक्रमण नगर्ने, जाजरकोट राज्यको अस्तित्व कायम रहनेलगायत सम्झौता काँसीमै भएको शाहले बताए । सोही सम्झौताका क्रममा पृथ्वीनारायणले शक्तिको प्रतिक भगवतीको मूर्ति र खडग जाजरकोटे राजालाई उपहार दिएको इतिहासमा उल्लेख भएको शाहले बताए ।

काठमाडौं उपत्यकाको आक्रमणमा पराजित भएपछि पृथ्वीनारायण शाह हतियारको बन्दोबस्ती गर्न र हरि शाह तीर्थयात्रा गर्न गएको मौका काँसीमा भेट भएको थियो । पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर हनुमान ढोकामा भित्र्याउने परम्पराको थालनी गरेसँगै जाजरकोट दरबारमा पनि जगतीपुरबाट फूलपाती ल्याउने प्रचलन सुरु भएको शाहले बताए । २ सय ५५ वर्षअघि जाजरकोट राज्यको दरबार जगतीपुरमा थियो । हाल जगतीपुर दरबार भग्नावेश छ ।


प्रकाशित : आश्विन ३०, २०७५ १६:११
प्रतिक्रिया
पठाउनुहोस्