कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछापुछ्रेकाे काखमा क्रिकेट विश्वकप ट्रफी (फाेटाेफिचर)

तस्बिर : अंगद ढकाल

काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप ट्रफी शनिबार पर्यटकीय सहर पाेखरामा प्रदर्शन गरिएकाे छ । शुक्रबार नेपाल अाइपुगेकाे ट्रफी पाेखरा रंगशालाकाे क्रिकेट मैदानमा प्रदर्शनमा राखिएकाे थियाे । ट्रफी नेपालका कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछानेले उचालेका थिए ।

नेपालमा क्रिकेटको विश्वकप ट्रफी पहिलोपल्ट अाएकाे हाे ।यसको प्रायोजक निसानमाफर्त पाँच महादेशको २१ राष्ट्रमा पुर्‍याइँदा नेपालमा पनि ल्याइएकाे हाे । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मुख्यालय दुबईबाट अगस्ट २७ बाट सुरु विश्वकप ट्रफी टुर नेपालमा ४ दिन रहने छ । २०१९ को जुलाई १४ मा लन्डनको लर्डस क्रिकेट मैदानमा विश्वकप विजेतालाई उक्त ट्रफी प्रदान गरिनेछ ।

दिउँसो २ बजे फेवातालमा ट्रफीको प्रदर्शनी हुनेछ । काठमाडौं फिर्ता भएपछि आइतबार विश्वकप ट्रफी केबलकारबाट चन्द्रागिरि डाँडामा प्रदर्शनीलाई पुर्‍याइने छ । त्यहाँ खेलाडी पनि उपस्थिति हुने आईसीसीको तालिका छ ।

नेपाल भ्रमणको अन्तिम दिन सोमबार ट्रफीलाई बेसक्याम्प पुर्‍याउने कार्यक्रम छ भने त्यसै दिन बसन्तपुरमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने छ । ट्रफी टुरको अवधि ९ महिनाको हुनेछ । विश्वकप इंग्ल्यान्ड र वेल्सले २०१९ को मे ३० देखि जुलाई १४ सम्म आयोजना गर्दै छ । विश्वकप खेल्ने राष्ट्रमा मात्र लैजाने यसअघिको परम्परालाई तोडै यसपालि क्रिकेटका उदाउँदा ११ राष्ट्रमा विश्वकप ट्रफी टुर गर्न लागिएको हो ।

यूएईबाट सुरु विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नदेरल्यान्ड्स, जर्मनी हुँदै १ सय दिन लगाएर फेब्रुअरी १९ मा वेल्स र इंग्ल्यान्ड पुग्नेछ ।

नेपालले मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमा सहभागिता जनाएको थियो । विश्वकपमा पुग्न नसकेको नेपाल जिम्बावेको प्रतियोगितामा आठौं स्थान हात पार्दै वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो ।

प्रकाशित : कार्तिक १०, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्