कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्दकपुरको सेरोफेरो [फोटोफिचर]

विप्लव भट्टराई

इलाम — सगरमाथादेखि कुम्भकर्ण र कञ्चनजंघा हुँदै भारत र भुटानका दर्जन बढी हिमाललाई सिधा उभिएर एक सय ८० डिग्रीको सतहमा देख्न सकिने एउटै स्थान हो सन्दकपुर । जैविक विविधता, लेकाली जीवन शैली अनि कन्काई माईको उद्गम स्थलसमेत रहेकाले घुमघाममा रुचाउने मात्र हैन तिर्थालू र खोजकर्ताकालागि पनि रोजाईमा पर्ने सन्दकपुरको मौसम हो यो ।

दसैंसँगै खुलेको मौसमले आन्तरिक मात्र हैन विश्वभरका पर्यटकलाई यो स्थानले लोभ्याउँछ । सदरमुकाम इलाम बजारबाट करिव ४५ किलोमिटर उत्तरमा रहेको यो क्षेत्र पाँचथरको फालेलुङ गाउँपालिका र भारतको सिंहलिला राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुरमा यति बेला खुट्टा राख्ने ठाउँ छैन ।

भारततर्फबाट आयोजना हुने साइक्लिङ, म्याराथोन दौड र घुम्न आउने विश्वभरका पर्यटक अनि नेपाली बाटो भएर पुग्ने आन्तरिक पर्यटकका कारण यहाँका होटल व्यवसायीलाई एकछिन फुर्सद देखिँदैन ।

सन्दकपुर पुग्न इलामबाट माइमझुवा र मावुको बाटोबाट सवारी यात्रा रोज्न सकिन्छ । माइमझुवाबाट गए माइपोखरी, टोड्के झरना, छिन्टापुलगायतका मनोरम दृष्यसँग रम्दै उक्लनको मज्जा छुट्टै हुन्छ । मावुतर्फबाट टोड्के झरनाको अवलोकनसहित मावुथाम, हिले र दोबाटेको सुरम्य प्राकृतिक छटासँगको सामिप्यले यात्राको कष्ट मेटाउँछ । जमुनातर्फवाट गए ढापपोखरी, हाँगेथाम, कैयाकट्टालगायतको सुन्दरताले मन लोभ्याउँछ । फिक्कल हुँदै नयाँवजार, रमिते र जौवारीको मनमोहक दृष्य चिर्ने बाटोबाट पनि सन्दकपुरको यात्रा गर्न सकिन्छ ।

सन्दकपुरसँगै विखे, कालपोखरी, कैयाकट्टा, जौवारी, गैरीवास, तुम्लिङ, मेघ्मा, गुराँसेलाई पनि गन्तव्य बनाउदा थप रोमान्चकता थपिन्छ । तर यसकालागि मानेभञ्ज्याङ–सन्दकपुरको ३१ किलोमिटर सडकको साहारा लिनुपर्छ । मेची राजमार्गले भेट्ने पौवाभञ्ज्याङ, पाटेनागी छिन्टापु गोरुवाले हुँदै सन्दकपुरसम्मको ट्रेकिङ पनि लोभ लाग्दो हुन्छ ।

पाँचथरको फिदिमवाट पनि सन्दकपुरलाई चुम्न कठिन छैन । सन्दकपुरवाट फ्यालुट, चिवाभञ्ज्याङ, तिम्वुङपोखरीहुँदै कञ्चनजंघासम्मको साहसिक ट्रकिङ पनि गर्ने भेटिन्छन् ।

यी क्षेत्रमा पाइने चौरी गोठ, चिराइतो, पाखनवेत, कुट्की, हटचुरलगायत जडिवुटी, लेकाली रहनसहन आदी र झुल्केघामको दृष्यावलोकनले घर फिर्न मन लाग्दैन । यी सबै क्षेत्रमा खान–बस्नको राम्रो प्रवन्ध छ । तर पर्यटकको चाप भएको सिजनमा केहि कष्ट भने सहनै पर्छ । छ्यांगै मौसम खुल्ने असोजदेखि बैशाखसम्म नै सन्दकपुर यात्रा गर्न सकिन्छ । जाडो बढी हुने भएकाले न्यानो कपडाको व्यवस्था गर्न बिर्सियो भने चाँही कष्ट सहनु पर्छ । लेकलाग्ने समस्याले धेरैलाई सताउने भएकाले भुटेको मकै, अदुवा आदी साथमा लानु उपयुक्त हुन्छ । त्यहाँ पुगेपछि स्थानीय उत्पादनहरुको स्वाद चाख्दै ठूलठूला फाँटमा बुकुर्सी मारेर उफ्रनुको आनन्दले पटक–पटक यात्रा गर्ने मोह जाग्छ ।

सन्दकपुरको एउटै पीडा भनेको भारतले यति धेरै पर्यटक त्यहाँ पुर्‍याएर फाइदा लिएको छ त्यसको तुलनामा नेपाल कम्जोर देखिन्छ । सन्दकपुर क्षेत्रमा प्रयोग हुने खानेपानी नेपालकै र अग्लो थुम्को नेपालकै भएसँगै पारीभन्दा धेरै आनन्द लिने वस्तु वारी नै छन् । मूलुक नयाँ संरचनामा गएसँगै यस क्षेत्रका सम्पूर्ण स्थलहरुको विकास र प्रर्वधनमा ३ तहकै सरकारले ध्यान दिने की ?

तस्बिर : विप्लव भट्टराई


प्रकाशित : कार्तिक १६, २०७५ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्