कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समृद्धिका लागि एक हुने प्रण

पहिलो प्रदेशसभा बैठक
प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि पारित

विराटनगर — प्रदेश १ का सांसदहरूले प्रदेश समृद्धिमा एक भएर लाग्न जोड दिएका छन् । मंगलबारको पहिलो बैठकमा बोल्ने अधिकांश सांसदले प्रदेशलाई मुलुककै नमुना बनाउन दलहरूबीच एकता आवश्यक रहेको बताए । प्रदेश १ लाई बलियो बनाउन सबैको सकारात्मक सहयोगको आवश्यकतामा पनि उनीहरूले जोड दिए । 

एमालेका भीम आचार्यले यो प्रदेश साधनस्रोत सम्पन्न भएकाले यसलाई उपभोग गर्न साझा सहमति आवश्यक रहेको बताए । कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठले प्रदेश १ स्रोतसाधनका दृष्टिले उर्वरभूमि रहेकाले नम्बर १ प्रदेश बनाउने अठोट गरे । माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले चुनावका बेला जनतासँग गरेका प्रतिबद्धता यही थलोबाट पूरा गराउने अभिभारा रहेको उल्लेख गरे । स्रोत–साधन, प्राकृतिक बनोट र भूगोलका हिसाबले प्रदेश १ सुविधासम्पन्न रहेकाले यो पहिलो नै बन्ने उनको दाबी थियो । संघीय समाजवादी फोरमका जयराम यादवले हिमाल, पहाड र तराई–मधेस मिलेर बनेको यो प्रदेश आर्थिक उन्नतिमा पनि पहिलो नै हुने दाबी गरे । सांसदहरू इन्दिरा राई र विष्णु तुम्बाहाम्फेले प्रदेशलाई समृद्ध बनाउन सबै जातजाति, भाषाभाषी र समुदायलाई मूलधारमा ल्याउन आवश्यक रहेको साझा धारणा राखेका थिए । पहिलो बैठकको पहिलो वक्ताका रूपमा उदयपुरबाट निर्वाचित स्वतन्त्र सांसद नारायण बुर्जामगरले संघीय गणतन्त्र नेपालको पहिलो प्रदेशसभा सदस्य भएकाले यसलाई चुनौती र अवसरका रूपमा लिएको बताए । बैठकमा बोल्ने आधा सदस्यले लिखित भाषण पढेर सुनाएका थिए भने केहीले बुँदागत रूपमा टिपोट गरेका थिए ।

उत्साहसाथ सहभागी

पहिलो बैठकमा सांसदहरू उत्साहसाथ सहभागी भए । उनीहरूले एकापसमा शुभकामना र कार्यकाल सफलताको कामना पनि गरे । बैठकमा सहभागी हुन केही सदस्य आफ्नो समुदायअनुसारको मौलिक पोसाक लगाएर उपस्थित भएका थिए । जिल्ला समन्वय समितिको सभाकक्षमा तयार पारिएको बैठक कक्षमा निर्धारित समयभन्दा २० मिनेट ढिलो सुरु भएको बैठक करिब १ घण्टा २१ मिनेट सञ्चालन भएको थियो । सभासदले शुभकामना र कार्यकाल सफलताको कामना गर्दै मन्तव्य व्यक्त गरेपछि बैठक एक सातासम्मका लागि स्थगन भएको छ । अर्को बैठक माघ २९ गते १ बजेका लागि बोलाइएको छ ।

बैठकका लागि संसद् सचिवालय, सभामुख, उपसभामुखको कार्यालय र प्रदेशसभा हल राखिएको जिल्ला समन्वय समितिको कार्यालयलाई मर्मत गरी सिँगारिएको थियो । बैठकमा सहभागी हुन १० बजेबाटै सांसदहरू हलमा प्रवेश गर्न थालेका थिए । बैठकमा आमन्त्रण गरिएका प्रतिनिधिसभाका सदस्यहरू, पूर्वमन्त्रीहरू, पूर्वसांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, उद्योगी व्यवसायी ११ बजेबाट आउन थालेका थिए । दिउँसो १ बजे बैठक सुरु हुने भनिए पनि निर्धारित समयभित्र ५ सांसद आइपुगेका थिएनन् । १ बजेर १९ मिनेट जाँदा बैठकस्थल प्रवेशको जनाउ दिन घण्टी बजाइएको थियो । सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले कार्यसूचीअनुसार बैठक सुरु गरेका थिए । सरावगीले प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले बैठक सञ्चालनका लागि लेखेको पत्र पढेर सुनाएपछि बैठक सुरु भएको थियो । ‘नेपाल संघीय व्यवस्थामा प्रवेश गरेपछि प्रदेशको पहिलो बैठकमा पाल्नुभएका सबै सदस्यलाई स्वागत गर्दछु,’ सरावगीले भने, ‘रोस्ट्रममा आएर बोल्न ५ मिनेटको समय दिन्छु, त्यो समयको ख्याल गर्नुहोला, नभए बत्ती बालिनेछ ।’

प्रकाशित : माघ २३, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?