कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीको बासको टुंगो छैन 

‘मन्त्री भएपछि साथी भाइकोमा गएर बस्ने कुरा पनि भएन, निवास कहिले तयार हुन्छ अत्तोपत्तो छैन’
कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो बिहीबार शपथ लिएर पहिलो मन्त्रिपरिषद बैठकमा सहभागी भए । बैठक सकिँदा साँझ परेको थियो । पद बहालीका लागि मन्त्रालय पुगे र मोबाइलको बत्ती बालेर पद बहाली भए । 

मन्त्रालयमा पुग्दा लोडसेडिङको समय परेकाले मोबाइल बालेर पद बहाली गरेको आङबोले बताए । त्यसपछि मन्त्री आङबो स्वगतम् होटलमा बास बसे । ‘मन्त्री भएपछि साथी भाइकोमा गएर बस्ने कुरा पनि भएन, निवास कहिले तयार हुन्छ अत्तोपत्तो छैन,’ आङबोले भने, ‘यो होटलमा कति दिन बसाइ हुन्छ थाहा छैन ।’


मुख्यमन्त्री, प्रमुख सचिव र मोरङका प्रमुख जिल्ला अधिकारीसँग मन्त्रालय र निवासको व्यवस्थापनका लागि शुक्रबार छलफल गरेको आङबोले बताए । ‘संविधानमा क्षेत्रीय कार्यालयहरू अस्तित्वमा छैनन् तर व्यवहारमा यी कार्यालयहरू काम गरिरहेका छन्,’ उनले, ‘निजी घरहरू भाडामा लिएर निवास बनाउन सक्ने अवस्था छैन सरकारी कार्यालयहरू पर्याप्त छन् तर व्यवस्थापकी पक्ष धेरै नाजुक भएकाले यस्तो समस्या आएको हो ।’


आर्थिक मामिला तथा योजना मन्त्री मात्र हैन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको पनि बास होटलमा नै छ । ‘केही दिन यतै बस्नु पर्लाजस्तो छ,’ कार्कीले भने ।

‘अहिलेसम्म मुख्यमन्त्रीकै आवास बनिनसकेको छैन,’ कार्कीले भने, ‘मन्त्रीहरूको अवस्था पनि उस्तै छ । सरकारले प्रदेशको अस्थायी राजधानी घोषणा गर्नमा गरेको ढिलाइको यो परिणाम हो ।’ यसको समाधानका लागि अब द्रुत गतिमा काम भइसकको कार्कीले बताए ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालय क्षेत्रीय प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा राखीएको छ । यहाँवाट औपचारिक रूपमा काम थालिए पनि कर्मचारी आइसकेका छैनन् भने मर्मत कार्य जारी छ । मन्त्रीको निवास कहिलेसम्म बन्छ भन्ने यकिन छैन । यो मन्त्रालयमा ४१ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पनि मर्मत भइसकेको छैन । ‘अब कार्यालयको काम गर्न सक्ने अवस्थामा छौं तर पूर्ण तयारी भने भइसकेको छैन,’ प्रदेशका प्रमुख सचिव यादवराज कोइरालाले भने, ‘मुख्यमन्त्रीको निवास पनि साताभित्र तयार भइसक्छ ।’

उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय मन्त्री जगदीश कुसियतको अवस्था पनि उस्तै रह्यो । बिहीबार क्षेत्रीय वन कार्यालयमा स्थापना गरिएको मन्त्रालयमा गएर पद बहाली गरेका कुसियत राति करिब ६५ किलोमिटर टाढा सुनसरीको कोसी गाउँपालिका ३ हरिपुरमा रहेको आफ्नो घरमा बास बस्न पुगे ।


सामाजिक विकास मन्त्री जिवन घिमिरेका त मन्त्रालयका सचिव नै आइपुगेका छैनन् । बिहीबार जिल्ला जन स्वास्थ्य कार्यालयमा राखिने भएको छ मन्त्रालयमा गएर पद बहाली गरेका घिमिरे राति विराटनगरमा रहेको आफ्नै घरमा गएर बसे । ‘मेरो मन्त्रालयका सचिव नै आइनपुगेकाले समस्या रहेछ,’ घिमिरेले भने, ‘मैले पद बहालीचाहिँ गरें अरू सबै बाँकी छ । लगतै २ दिन सरकारी बिदा भएकाले घरैमा छु ।’

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?