कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिचेर बनाइएका संरचना भत्काइँदै

खोला मिचेर बनेका ४/५ तले घरहरू पनि भत्काइन्छ : मेयर
कान्तिपुर संवाददाता

काठमाडौँ — इटहरी– सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना इटहरी उपमहानगरले शुक्रबारबाट भत्काउन थालेको छ । उपमहानगर ४ र ५ मा खेती खोला मिचेर निर्माण गरिएको ३ सय मिटर रिटेनिङ वाल नगरपालिकाले भत्काएको छ ।

मिचेर बनाइएका संरचना भत्काइँदै

खेती खोलाको नक्साबमोजिमको जमिन खाली गर्न सर्वदलीय बैठकले मिचेर बनेका संरचना भत्काउने निर्णय गरेको थियो । आर्मी क्याम्पभन्दा दक्षिणबाट नगरपालिकाले अतिक्रमित संरचना एक्साभेटरको प्रयोग गरी भत्काएको हो । खोला मिचेर बनेका ४/५ तले घरहरू पनि भत्काइने मेयर द्वारिकलाल चौधरीले बताए ।

उनका अनुसार खोला पैनी, ऐलानी, पर्ती जमिनमा बनेका संरचना पनि भत्काइनेछ । खोलाको किनारमा घर भएका गिरिराज परियारको केही संरचना भत्काइएको छ । उनले पाथीभरा हार्डवेयर सञ्चालन गर्ने भीम गौतमसँग करिब ८ वर्षअघि उक्त जमिन खरिद गरेका थिए । उक्त जमिन ऐलानी भए/नभएको आफूले थाहा नपाएको परियारको दाबी छ ।

संरचना भत्काइएको स्थानमा उपस्थित एमालेका इटहरी अध्यक्ष रेवती घिमिरेले नगरपालिकाले चालेको कदम सही भएको बताए । एमालेकै पार्टी कार्यालय पैनी मिचेर बनाइको छ ? भन्ने प्रश्नमा घिमिरेले कार्यालयले पैनी नमिचेको दाबी गरे ।

खोला पैनी मिच्ने संरचना भत्काउन थाल्दा पार्टी कार्यालय नै भत्काउनुपर्ने माग चौतर्फी बढेपछि रातारात पैनी सारिएको स्रोतको दाबी छ । नगरपालिकाकै कर्मचारीहरूले पनि खोला पैनी मिचेर करोडौंका घर निर्माण गरेको पाइएको छ ।


नगरपालिका कार्यालयवरिपरि नै कर्मचारीका घरहरू मापदण्डविपरीत रहेको स्थानीय बताउँछन् । खोला मात्र नभएर पहुँचवालाहरूले पैनीमाथि संरचना बनाउने, बाटो मिचेर घर निर्माण गर्ने, सार्वजनिक जमिन हडप्ने र त्यसलाई नम्बरी बनाउने काम यसअघि जनप्रतिनिधि नहुँदाको अवस्थामा भएकाले अब सबै संरचनालाई क्रमैसँग भत्काइने मेयर चौधरीले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?