कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाङलुङ गुफाबाट ग्यास 

कान्तिपुर संवाददाता

तेह्रथुम — छथर गाउँपालिका ६ सुदापको चाङलुङ गुफामा निस्किएको प्राकृतिक ग्यास संरक्षणमा गाउँपालिकाले चासो देखाएको छ । गुफाको सिरानमा रहेको ढुंगाको ठूलो काप बाट निस्किरहेको तातो ग्यास संरक्षणमा गाउँपालिकाले चासो देखाएको हो ।

फराकिलो क्षेत्रफलमा फैलिएको ग्यास निस्किरहेको गुफा क्षेत्रको अध्ययन अनुसन्धान गरी पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले विज्ञ व्यक्तिहरू ल्याएर काम गर्ने तयारी गरिरहेका गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए । ‘कस्तो प्रकारको ग्यास हो, अध्ययन गरेर पत्ता लगाउने काममा गाउँपालिकाको ध्यान केन्द्रीत भएको छ,’ अध्यक्ष लिम्बूले भने । स्थानीय युवाहरूले समेत सो क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्ने भन्दै गुफाको सरसफाइ गरी संरक्षणमा जुटेका छन् । युवाहरूले घुम्न जानेक्रममा गुफाको विभिन्न स्थानबाट प्राकृतिक रूपमा ग्यास निस्किरहेको फेला पारेका हुन् । गुफामा ग्यास फेला परेपछि स्थानीय युवाहरू समिति नै गठन गरेर सो क्षेत्रको संरक्षणमा जुटेका छन् । ऐतिहासिक रूपमा रहेको ढुंगै ढुंगाको चाङबाट बनेको गुफा क्षेत्रलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्न सरसफाइ गर्ने क्रममा तातो ग्यास निस्कीरहेको फेला परेको चाङलुङ गुफा संरक्षण समितिका अध्यक्ष महेन्द्र मादेनले बताए । गुफा रहेको ठूलो क्षेत्रफलको ३ स्थानका ढुंगाको कापबाट तातो ग्यास निस्करहेको छ ।


लुतो, घाउखटिरा लगायतका छालाका विरामी यो ग्यासले सेकताप गर्दा निको हुने भन्दै ग्यास निस्किएको गुफामा सेकतापका लागि आउने गरेका छन् । ग्यास निस्किरहेको ठाउँलाई वरिपरिबाट घेराबारा गरेर संरक्षण गर्ने तयारी थालिएको गुफा संरक्षण समिति सदस्य श्यामबहादुर लिम्बूले बताए । कुन र कस्तो प्रकारको ग्यास हो भनेर आफूहरूले छुट्याउन नसकेको अध्यक्ष मादेनले बताए । ग्यासको रङ र स्वाद पनि थाहा पाउन नसकिएको स्थानीय अर्का युवा शुक्रराज आङखेवाले बताए । ग्यास निस्किएको वरिपरि पसिना आएर रूखका पातपतिंगर र माटोसमेत भिजेको प्रस्ट देखिन्छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?