कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीलाई साइकल

कान्तिपुर संवाददाता

उदयपुर — विद्यालयमा विद्यार्थी बढाउन र वडालाई वातावरणमैत्री बनाउने उद्देश्यले चौडण्डीगढी नगरपालिका ७ वडाले साइकल वितरण गरेको छ । वडाबाट सामुदायिक विद्यालय तथा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई साइकल वितरण सुरु गरिएको हो ।

पहिलो चरणमा दस जोड दुई र उच्च शिक्षा हासिल गर्ने ४७ विद्यार्थीलाई साइकल विरतण गरिएको छ । ७ नम्बर वडामा बसोबास गर्ने विपन्न तथा जेहेन्दार छात्राछात्रलाई साइकल वितरण गरिएको वडाध्य सन्तोष सुवेदीले बताए ।


‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी गरिब र विपन्न परिवारको हुने भएकाले पनि वडा समितिले साइकल दिइएर सहयोग गरेको हो,’ सुवेदीले भने, ‘वातारणमैत्री पनि हुने, उच्च शिक्षामा सहयोग र विपन्न परिवारको उत्थानसमेत हुने भएकाले साइकल वितरण गरिएको हो ।’ वडा समितिको बजेटबाट खरिद गरेर नि:शुल्क साइकल वितरण गरिएको उनले बताए । ३४ छात्रा र १३ छात्रलाई साइकल दिइएको छ । विद्यार्थीलाई क्याम्पस आवतजावत गर्न सजिलो होस् भनेर वार्षिक कार्यक्रम बनाएर नै साइकल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।


‘साइकलले विद्यार्थी शैक्षिकस्तर उकास्न र विद्यालय टाढा भएका कारण बीचैमा विद्यालय छोडनबाट रोक्ने छ,’ वडाध्यक्ष सुवेदीले भने, ‘वडाका अधिकांश विद्यार्थी शैक्षिक संस्था टाढा भएकै कारण विद्यालय छोड्ने गरेकाले पनि रोक्न साइकल वितरण गरिएको हो ।’ वडाको माडिवास, झोरापाटा, सुगारे लगायतका स्थाबाट क्याम्पस टाढा भएकाले विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको उनले बताए । ‘अहिले दुई नम्बर वडाले वितरण गरेको छ, आगामी वर्षदेखि नगरपालिकाले सबै क्षेत्रमा साइकल वितरण गर्ने छ,’ नगरपालिकका मेयर खगेन्द्र राईले भने, ‘सुरुमा साइकल वितरण कार्यक्रम राख्दा विरोध भए पनि अहिले आएर हेर्दा यो कार्यक्रम ठीक रहेछ ।’


साइकलले विद्यार्थीको पठनपाठनमा ठूलो सहयोग पुर्‍याउने साइकल प्राप्त गर्ने विद्यार्थीले बताए । ‘साइकल सहयोगले विद्यार्थीमा उत्साह थपिएको छ,’ विद्यार्थी अनिसा राइले भनिन्, ‘पैदल हिँडेर डेढ घण्टा लाग्ने बाटो अब १५ मिनेटमै पुगिन्छ ।’ त्यसैले थकाइ र समय दुवै बचत भएपछि पढाइलाई पनि सहयोग पुग्ने उनले बताइन् । वडा कार्यालयले अहिले विद्यार्थी प्रत्साहनस्वरूप साइकल वितरण गरेको हो । आगामी वर्ष वडाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट पुर्‍याउने वडाध्यक्ष सुवेदीले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?