कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसपार्क सञ्चालन हुने

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकास्थित निर्माणाधीन बसपार्क चैतबाट सञ्चालन हुने भएको छ । निर्माण कम्पनीले महानगरपालिकालाई चैतमा हस्तान्तरण गर्ने गरी बस टर्मिनलको कामलाई तीव्रता दिएको छ ।

बसपार्क सञ्चालन हुने

निर्माण कम्पनीका कन्सल्टेन्ट इञ्जिनियर राजिब साहले असार मसान्तसम्ममा बसपार्क निर्माण गर्ने समय सीमा भए पनि आफूहरूले चैत मसान्तभित्र हस्तान्तरण गर्ने योजनाका साथ कामलाई तीव्रता दिएको बताए । तत्काल काम सम्पन्न गर्न कामदारहरूलाई ओभरटाइम दिएर काम गर्न लगाएको उनले सुनाए ।


इञ्जिनियर साहले भवन निर्माण, नाला र ५३ वटा बस तथा १८ वटा माइक्रोबस पार्किङ गर्ने स्थल निर्माणमा भइसकेको बताए । बसपार्कमा बाँकी रहेको फुटपाथ र पिच निर्माणको काम धमाधम भइरहेको उनले बताए ।


‘जनप्रतिनिधि आएपछि दैनिक जसो काम हेर्न आउने र छिटो सकाउन दबाब दिइरहेकाले चाँडोभन्दा चाँडो निर्माण काम सम्पन्न गराउनेतिर आफूहरू लागेका छौं,’ उनले भने । विराटनगर महानगरपालिकाका इञ्जिनियर अर्जुन थापाले एसियाली विकास बैंकको ऋण सहयोगमा ११ करोड ९८ लाखको लागत स्टिमेट रहेको बस टर्मिनल ८ करोड ४७ लाखमा ठेक्का लिएको गौरी पार्वती निर्माण सेवा काठमाडौंले अहिलेसम्ममा ८५ प्रतिशत काम सम्पन्न गरिसकको बताए । ‘बसपार्कभित्र फुटपाथ र पिच निर्माणको काम बाँकी छ,’ उनले भने, ‘निर्माण कम्पनीको कामको गतिअनुसार चैतभित्र हस्तान्तरण गर्न सक्ने अवस्था छ ।’ बसपार्क नभएर यात्रुहरू सडकमा नै बस चढन बाध्य भएकाले टुर्घटनाको जोखिम उच्च रहेको छ ।


स्थानीय सुमन खडकाले सडकमा बसेर गाडी चढ्नु पर्दा विभिन्न सवारी साधनले उडाएको धूलोले हैरान हुनुका साथै दुर्घटना हुने त्राससमेत रहने गरेको गुनासो पोखे । ‘बसपार्क निर्माण भएपछि व्यवस्थित रूपमा टिकट लिएर बस चढन पाइन्छ,’ उनले भने, ‘बालबालिकाहरूलाई लिएर बस तथा माइक्रो चढन त चुनौतीजस्तै लाग्छ किनकि एकातिर धूवाँधूलो र अर्कोतिर सवारी साधनको सडकमा रहेको चापले दुर्घटना हुने डर ।’


महानगरभित्र सडक र ढल निर्माणको काम चौतर्फी भइरहेकाले सडकमा नै सवारी साधन पार्किङ गर्दा ट्राफिक जामको समस्या समेत अत्यधिक रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । महानगरका प्रमुख भीम पराजुलीले बस टर्मिनल निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरी काममा तीव्रता दिन निर्माण कम्पनीलाई आग्रह गर्दै आएको बताए । ‘बस पार्क नभएर सवारी चालकहरूका साथै यात्रुहरूसमेत समस्या भोग्न बाध्य छन्,’ उनले भने, ‘त्यसैले चाँडोभन्दा चाँडो काम सम्पन्न गरेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई ताकेतासँगै दबाब दिन बाध्य छौं ।’

उनले द्रुत गतिमा निर्माण काम सम्पन्न गरेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई आग्रह गरेको बताए । ‘नयाँ वर्षमा हस्तान्तरण गर्ने निर्माण कम्पनीको तयारीअनुसार नै आफूले हस्तान्तरणसँगै सञ्चालनको तयारीमा जुटेका छौं,’ उनले भने, ‘बसपार्क सञ्चालनका लागि टेन्डरलगायतको प्रक्रिया समयमा अगाडि बढाएर निर्माण कम्पनीले हस्तान्तरण गरेकै दिनदेखि सञ्चालन गर्ने गरी तयारीमा बस्न कर्मचारीलाई निर्देशन दिइसको छु । त्यसैअनुसार तयारी पनि भइरहेको छ ।’

प्रकाशित : फाल्गुन ८, २०७४ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?