कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मासिन थाले ट्रेकिङ रुट

कुम्भराज राई

ओखलढुंगा — दोलखाको जिरी भएर लुक्ला हुँदै सगरमाथा आधारशिविर जानेको संख्या निकै घटेको छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि लुक्लातर्फ सडक विस्तार भइरहेको छ । चौंरीखर्कको सुर्केसम्म सडक लाने तयारीका साथ तीव्र गतिमा सडक विस्तार भइरहेको छ । पर्यटकीय क्षेत्र र जिल्लामा सडक सञ्जालहरू जोडिएका छन् ।

सडक सञ्जालको विस्तारसँगै पर्यटकीय पदमार्ग (ट्रेकिङ रूट) हरू भने विस्तारै मासिने क्रम सुरु भएको छ । विदेशी पर्यटकहरूलाई हप्तौंसम्म घुमाएर फर्काइने गन्तव्यहरू दुई–चार दिनमा छोटिन थालेका छन् । नयाँ ट्रेकिङ रूटहरूको खोजी गर्ने विषय उठे पनि पुराना र प्रसिद्ध ट्रेकिङ रूटहरू मासिएको विषयमा सरकारले कुनै योजना बनाएका छैनन् ।


‘स्वभाविक रूपमा सडकका कारणले गर्दा ट्रेकिङ रूटहरू मासिँदै गएका छन्,’ ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का पूर्व महासचिव कर्णबहादुर लामाले भने, ‘तर सडक लाँदा खेरी ट्रेकिङ रूट नमासिने गरी लानुपर्ने नीति बन्न जरुरी छ ।’ उनले विकास विरोधी बन्न नसके पनि वैज्ञानिक तवरले देशको मुख्य आम्दानी मानिने पर्यटनलाई टेवा पुग्ने गरी विकास गरिनुपर्ने बताए ।


‘राष्ट्रिय योजना आयोग र मन्त्रालय स्तरबाट हुने सडक विस्तारमा पर्यावरण र पर्यटनलाई केही लेखाजोखा गरिएको छ ।’ पर्यटन व्यवसायी लामाले भने, ‘तर स्थानीय तहबाट अहिले प्रत्येक जसो पहाडी र पर्यटकीय जिल्लामा सडक खनिएका छन् । जसले पर्यटकीय पदमार्ग मात्र मासिएका छैनन् । कुरुप नै बनेका छन् ।’ उनले यसलाई सरकारले नीति नै बनाएर स्पष्ट पार्नुपर्ने बताए । पदमार्गलाई नमास्ने गरी वैकल्पिक रूपमै राख्नुपर्ने लामाले बताए ।


ट्रेकिङ रूट मासिएर पर्यटकीय गन्तव्यहरू छोटिन थालेपछि बाह्य पयटकभन्दा आन्तरिक पर्यटक बढेको व्यवसायीको भनाइ छ । गन्तव्य छोटिएपछि फाइदा र घाटा दुवै भएको उनीहरू बताउँछन् । लामो समय बिताएर फर्किने पर्यटकरू धेरै खर्च नगरी छोटो समयमै फर्किने गर्दा केही घाटा हुने गरेको छ । तर पर्यटकको संख्या तुलनात्मक रूपले बढ्ने गरेको उनीहरूको भनाइ छ ।


सडक पुगेका स्थानहरूमा पनि अन्य सम्भावनाजस्तै क्यानोनिङ, र्‍याफटिङ, होमस्टेजस्ता पर्यटकीय गतिविधि थप गरेर आम्दानी गर्न सकिने कार्यक्रम ल्याउनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । पर्यटन मन्त्रालय र विभागले सडक लगायतका विकास निर्माण गर्दा पर्यटकीय पदमार्ग मासिन नहुने स्पष्ट नीति बनाएको छैन ।

यहि विषयलाई लिएर स्पष्ट नीति पर्यटन विभागले बनाएको छैन । पदमार्गहरू वैकल्पिक रूपमा निर्माण गरेर पनि मासिन नदिने कार्यक्रम सुरु गरेको विभागले जनाउँदै आएको छ । सुरुवातमा विभागले मानसरोवर, डोल्पा हुँदै मुगुको रारा ताल जाने वैकल्पिक पदमार्ग निर्माणका लागि ४० लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?