कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘शिक्षाको विकासले मुलुक समृद्ध’

कान्तिपुर संवाददाता

उदयपुर — राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयको समुचित व्यवस्थाबाटमात्रै मुलुक समृद्ध हुने बताएकी छन् । कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै भण्डारीले सामुदायिक विद्यालयको गुणस्तरीयता, विकास र समृद्धिबाट मात्र मुलुकको विकास सम्भव भएको बताइन् । 

‘शिक्षाको विकासले मुलुक समृद्ध’

राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोतसाधनको धनी देश भए पनि यसको समुचित व्यवस्था नहुँदा मुलुक समृद्ध हुन नसकेको भण्डारीले बताइन् । राष्ट्रपति भण्डारीले शिक्षाको क्षेत्रबाट स्रोतसाधनको वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । ‘राष्ट्रको ठूलो लगानी शिक्षा क्षेत्रमा भएकाले यसको वैज्ञानिक व्यवस्थापन, गुणस्तरीयता र आवश्यक सुधारको खाँचो छ,’ उनले भनिन्, ‘प्राविधिक जनशक्ति उत्पादन गर्दै बेरोजगारी समस्याको समाधान गर्नु आजको आवश्यकता हो ।’


कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हिमाल, पहाड, तराईको फाँटले सजिएको १ नम्बर प्रदेश विकास, समृद्धि र सम्पन्नताले पनि १ नम्बर नै बन्ने ठोकुवा गरे । उनले केही दिनभित्रै प्रदेश सरकारले समृद्ध प्रदेशको खाका तयार गरी सार्वजानिक गरिने बताए । राईले वर्तमान अवस्थामा द्वन्द्व, आराजक, अस्थिरताको कुनै गुन्जायस नहुने बताए । ‘तीन वटै तहको निर्वाचनपछि मुलुकमा संक्रमणकालको अन्त्य भएको छ,’ उनले भने, ‘मुलुक यति बेला नयाँ युग, नयाँ एजेन्डा लिएर अघि बढिसकेकाले सानातिना समस्यालाई तेर्साएर समृद्ध नेपाल निर्माणको यो महाअभियानलाई छेकबार नगराैं।’


कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा कटारी विद्यार्थी समाजका अध्यक्ष शम्भु थापाले त्रिवेणी स्कुललाई देशकै नमुना स्कुल बनाउने उद्घोष गरे । कार्यक्रममा राष्ट्रपति भण्डारीले विद्यालयलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कदरपत्रबाट सम्मान गरेकी थिइन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?