कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनजंघा हिमशृंखलाको पदमार्ग व्यवस्थित गर्न माग

आनन्द गौतम

ताप्लेजुङ — कञ्चनजंघा हिमाल आरोहणका लागि व्यवस्थित पदमार्गको निर्माण र सुविधासम्पन्न होटल स्थापना हुनुपर्ने पर्यटन व्यवसायीहरूको सुझाव छ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशृंखला मध्ये ८ हजार ५ सय ८४ मिटर अग्लो कञ्चनजंघा आरोहण गर्नेको संख्या कम छ ।

कञ्चनजंघा हिमशृंखलाको पदमार्ग व्यवस्थित गर्न माग

तुलनात्मक रुपमा महंगो भएका कारण पर्यटक वृद्धि गर्न समस्या रहेको व्यवसायीहरू बताउँछन् । अरुण ट्रेक्स एन्ड एक्सपिडिसन ग्रुपका प्रवन्धक छाङ शेर्पा सम्भावना भएर पनि सदुपयोग नभएको बताउँछन् ।

पर्यटन मन्त्रालयको तथ्यांकअनुसार सन् २००८ मा १ हजार ४ सय ९० विदेशी पर्यटक आएको क्षेत्रमा त्यसपछि वार्षिक ७ सयभन्दा बढ्न सकेको छैन । कञ्चनजंघा संरक्षण क्षेत्रको तथ्यांकअनुसार सन् २००० मा ३ सय ७५ पर्यटक आएका थिए । पछिल्लो वर्ष सन् २०१६ मा ६ सय, १५ मा ५ सय २, १४ मा ५ सय ६१, १३ मा ६ सय ४८, १२ मा ४ सय ५५, ११ मा ७ सय २, १० मा ५ सय ९९ र ९ मा ५ सय ९२ पर्यटकले भ्रमण गरेका छन् ।

संरक्षण क्षेत्रका वार्डेन हेमराज आचार्य दीर्घकालीन पर्यटन विकास योजना नबन्नु यहाँको मुख्य समस्या रहेको बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार नहुनु, स्थानीय तह, राजनीतिक दल, नागरिक समाजको चासो कम हुनु, पर्यटन क्षेत्रमा काम गर्नेहरूबीच समन्वय नहुनु, स्थानीय र निजी लगानी कम हुनु पर्यटन क्षेत्रको विकास हुन नसक्नु मुख्य कारण रहेको उनको दाबी छ ।

यो क्षेत्रका पैदल मार्गहरू पर्यटक लक्षित नभई स्थानीयका लागि एकदेखि अर्को गाउँ जोड्ने मात्रै छन् । पर्यटकीय केन्द्रलाई जोड्ने मार्ग कमै मात्रै छन् । लामो पैदलमार्ग, सञ्चार असुविधा, नियमित उडान नहुनु, क्याम्प साइड व्यवस्थित नहुनु र चिया तथा खाजा खाने ठाउँहरूसमेत पर्याप्त नभएकाले पर्यटक र तिनलाई गाइड गर्नेलाई समस्या रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । आचार्यका अनुसार पैदलमार्गमा जाने पहिरोले प्रत्येक वर्षजसो पैदलयात्रीको ज्यान जाने गरेको छ भने असारदेखि भादौसम्म बाढी पहिरोले पैदलयात्रा ठप्प हुने गरेको छ । बाढीपहिरोले बिगारेको पैदलमार्ग पर्यटक र उनीहरूका भरियाले हिँडेरै बनाउनुपर्छ । लेलेप, ओलाङचुङगोला, तापेथोक र याम्फुदिन गाविस समेटिएको क्षेत्रमा कहीं पनि मोबाइल फोन लाग्दैन । मौसम सफा हुँदा एकादुई ठाउँमा राखिएका टेबुल फोनको भरमा पर्नुपर्छ ।


कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बू यो क्षेत्रमा आउने पर्यटकले तिरेको रोयल्टीको रकम अहिलेसम्म यहाँको विकासमा लगानी नभएको बताउँछन् । कञ्चनजंघा क्षेत्रको पूरा भ्रमण गर्न २६ दिनसम्म लाग्ने गर्छ । कञ्चनजंघाको भ्रमण गरेर फर्किएका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले अहिलेको बाटो हिंड्दा हिमाल देख्न नपाइने भएकाले हिमाल हेर्दै हिंड्दै गर्ने मार्ग पहिचान गर्न सक्नुपर्ने बताए । अहिले कञ्चनजंघा क्षेत्रको पूरा रुट २ सय ८० किलोमिटरको छ । सुकेटार–ताप्लेजुङ–लेलेप–घुन्सा हुँदै उत्तरी बेसक्याम्पको १ सय २ किलोमिटर यात्रा गर्न १८ दिन लाग्छ । सुकेटार–याम्फुदिन–रामजेर हुँदै दक्षिणी बेसक्याम्पसम्मको ८८ किलोमिटर पार गर्न १६ दिन लाग्छ । प्रारम्भिक सर्भे भएको माथिल्लो फेदी–पाथीभरा देउराली–सिम्बुवा–लेलेप एक हप्ताको सर्किटबाट भने ८ हजारमाथिका तीनवटा र ७ हजार मिटरमाथिका ११ वटा हिमाल हेर्दै छाँगा, झरना अवलोकन गर्दै भ्रमण गर्न पाइन्छ । स्थानीय भने यो क्षेत्रमा सञ्चार सुविधा पुर्‍याउन, सामुदायिक लज तथा होटल बनाउन, क्याम्पसाइडको मर्मत र पैदलमार्गको व्यवस्थापन गर्नसके मात्रै पर्यटक वृद्धि हुने दाबी गर्छन् ।

तमोर, काबेली, घुन्सा, सिम्बुवाजस्ता ठूला नदी र यिनले बनाएका भ्याली, नाङगाम, छेरचेन, पावुक, तिम्वूङ, सिजेमा, रामजेर, नाक्फीण्डा जस्ता पोखरी र तालहरू रहेका छन् । दर्जनौको संख्यामा मनोरम झरना, सून्दर भौगोलिक बनोट तथा मनोरम दृश्य यहाँका आकर्षण हुन् । याङमा, खाम्बाचेन, लोनाक, रामजेर, चेराम, महुवाजस्ता ४ हजार र घुन्सा, ओलाङचुङगोला, फलेजस्ता ३ हजार मिटरमाथिका बस्ती रहेका छन् । कञ्चनजंघा, कुम्भकर्ण, यालुङ, ओकिखाङग्रीजस्ता हिमाल र हिमशृंखला रहेका छन् । हिउँचितुवा, ध्वाँसे चितुवा, रेडपाण्डा, नाउर, हिमाली कालोभालु, तिब्बतियन ब्वाँसोजस्ता वन्यजन्तु र डाँफे, मुनाल, चिलिमेजस्ता चराचुरुङ्गी रहेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?