कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बिनायोले जोशीलाई चिनायो’

रमेशचन्द्र अधिकारी

धनकुटा — रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो छिनायो
८१ वर्षीय गायक लक्ष्मीप्रसाद जोशी (एलपी जोशी) अझै पनि यो गीतले दर्शकको मन सहजै जित्न सक्छन् ।

‘बिनायोले जोशीलाई चिनायो’

गृह जिल्ला धनकुटामा सम्मानित हुन पुगेका जोशीले जब गीत गुनगुनाए, तब मात्र उनलाई उनै लोकप्रिय लोक गायक हुन् भन्ने चिने स्थानीयले । त्यसो त आफ्नै जन्म भूमिमा सम्मानित हुन पाउँदा उनलाई ‘नमज्जाको आनन्द’ भयो रे ।


उनले ठट्यौलो पाराले भने, ‘जब गीत गुनगुनाएँ, तब मात्र पो त्यो पुरानो गायक भनेर पछिल्लो पुस्ताले चिन्यो ।’ सम्मानित हुन पाउँदा खुसी लागे पनि आफ्नै गाउँबस्तीमा बिरानो हुनु परेको महसुस गराएकाले उनले ‘नमज्जाको खुसी’ भन्दै व्यंग्य गरे ।


आफूले रेडीयो नेपालमा गाएका ४५ मध्ये अधिकांश गीत अझै पनि सर्वसाधारणले गुनगुनाउने गरेको पाउँदा आनन्द लाग्ने जोशीको भनाइ छ । पाँच दशक पहिलेदेखि हालसम्म पहिचान दिएको उनको उक्त गीतलाई आधार मानेर राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत रमाइलो ढंगले ठट्टा गर्ने गरेको उनले स्मरण सुनाए । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले जोशीलाई चिनायो’ भन्दै घिमिरेले आफूलाई भेटदा अझै ठट्टा गर्ने गरेको बताए ।


उनले २०१३ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको उक्त गीतले त्यस ताका राम्रै जमेको जोशीको कथन छ । २०२० साल पहिल्यै अधिकांश गीत रेकर्ड भएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतले एक छत्र राज गरेको थियो ।


२०११ सालदेखि थापासँग नजिकिएका उनी गाउँ बस्तीका मौलिक गीतको खोजीमा जुट्ने गरेको स्मरण सुनाए । त्यसै मेसोमा रिटिङ रिटिङ...बोलको गीत संकलन गरियो । अझै पनि उक्त गीत सर्वसाधारणको मुखमा झुन्डिने गरेको पाउँदा दंग पर्छन् उनी । २०५३ सालमा आइपुग्दासम्म म्युजिक नेपालबाट रटिङ रिटिङ नामको गीति एल्बम निकाले जोशी त्यसपछि वृद्धावस्थाका कारण गायनमा उति सारो जुटेका छैनन् । किरात समुदायको माझमा जन्मिएकाले उक्त जातिको मौलिकताको प्रतिक बिनायो बाजालाई आफूले गीतमा रोजेको बताए ।


उनैले गाएको अर्को लोकप्रिय ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो भनेर...’ बोलको गीतले धेरैको मन जितेको थियो । सर्वसाधारणले समेत उक्त गीत गाउने र त्यसमा उन्मादले नाच्ने गरेको पाउँदा भने मनै खुसीले फुरुङ हुने गर्छ उनलाई । २०१९ सालमा तत्कालीन राज महेन्द्रलाई उनले अर्को गीत सुनाएको स्मरण सुनाए । जुन गीत सुन्दा महेन्द्र हाँस्दा हाँस्दै सम्मालिनै गाह्रो भएको दृश्य उनलाई ताजै छ ।


‘के को माला के को माला, सुपारीको माला नि लै लै...’ बोलको उक्त गीतले महेन्द्रको हाँसो नथामिएको सुनाए । उक्त गीतको प्रत्येक हरफको शब्दले श्रौताको मन जितेको जोशीले बताए । हार्मोनियम र तबला बजाउन निपूर्ण जोशी अझै पनि बेला मौकामा गुनगुनाउने अवसरलाई उपेक्षा गर्दैनन् ।


उनले पछिल्लो पुस्ताकाले अघिल्ला पुस्ताका गीतको शब्द ‘कपि’ गर्दै गाउनेक्रम बढेको गुनासो पोखे । गृह जिल्ला धनकुटामा आफ्ना समकक्षी गायक तथा सांस्कृतिककर्मीको अभाव भएपछि भौतारिँदै कहिले चितवन त कहिले राजधानीतिर लागे । तर मन बहलाउन सकेनन् । अन्त्यमा झापा झरेका जोशी दमकलाई कर्मथलो बनाउँदै गीत संगीत साधनामा तल्लिन भइरहे । जसलाई अझै निरन्तरता दिइरहेकै छन् । तर गृह जिल्लामा बेलाबेला आउँदा छुट्टै रमाइलो महसुस हुने बताउँछन् । चौथो धनकुटा महोत्सवका अवसरमा सम्मान ग्रहण गर्न उनी त्यहाँ पुगेका थिए । उनलाई १ नं.प्रदेशका मुख्य मन्त्री शेरधन राईले सम्मान गरे ।

प्रकाशित : फाल्गुन २३, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?