कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनप्रतिनिधिले जनभावना अनुसार काम गर्नुुपर्छ : मुख्यमन्त्री राई

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका जनप्रतिनिधिलाई जनभावना अनुसार योजनाबद्ध रुपमा काम गर्न आग्रह गरेका छन् । 

जनप्रतिनिधिले जनभावना अनुसार काम गर्नुुपर्छ : मुख्यमन्त्री राई

नेपाल नगरपालिका संघको प्रादेशिक भेलाको उद्घाटनमा बुधबार उनले व्यवस्थित र योजनाबद्ध रुपमा विकास निर्माणको काम भएमात्रै मुलुकमै नमूना प्रदेश निर्माण हुने बताएका हुन् । ‘सुशासन, विकास र समृद्धिको एजेण्डा बोकेर जनचाहना, भावना र जनताको सपना साकार पार्ने जिम्मेबारी जनप्रतिनिधिले बोक्नु भएको छ,’ उनले भने, ‘जनताको घरदैलोमा सुखदु:खमा साथ दिने स्थानीय सरकार हो । त्यसैले प्रदेशलाई नमूना बनाउनभन्दा अघि स्थानीय तहलाई नमूना बनाउनु पर्छ । त्यो जनप्रतिनिधिको दायित्व हो ।’


स्थानीय तहको विकास र समृद्धिको यात्रालाई तिव्र गतिमा बढाउनु प्रदेश सरकारको साथ र सहयोग सधैं रहने मुख्यमन्त्री राईको भनाई थियो । ‘समृद्ध प्रदेश बनाउन सरकार विकास निर्माणको काम गर्ने अनुकुल वातावरण तयार पार्छ,’ उनले भने, ‘प्रत्येक स्थानीय तहको नक्सा, जनसंख्या, स्रोत साधनको हिसाबले गुरुयोजना बनाएर व्यवस्थित विकासका काम अगाडि बढाउन प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्छ ।’


प्रदेश सरकारले ल्याएको सय दिने कार्यक्रम स्थानीय तहसँग समन्वय गरेर कार्यान्वयनमा तत्काल लगिने राईले बताए । ‘जनताले तीन वटै सरकारलाई गम्भिरता पूर्वक नियाली रहेको छ,’ उनले भने, ‘केही असहजता र अप्ठयाराहरु छन् त्यसैले स्थानीय, प्रदेश र संघीय सरकारबीच आपसी सहकार्य गरेर संघीयताको मर्म र भावनालाई जनभावनासँग जोड्नु पर्छ ।’ यसका लागि प्रदेश सरकारले कानुन निर्माणको काम सुरु गरिसकेको र केन्द्रिय सरकारले पनि चाँडै बाटो खुलाउने भएकोले आपसी सदभाव राखेर जनताको काममा जुट्न सबैलाई मुख्यमन्त्री राईले आग्रह गरे ।


नगरपालिका संघका सभापति अशोककुमार ब्यान्जुले स्थानीय तहलाई प्राप्त संबैधानिक अधिकार कार्यान्वयन गर्नुपर्ने बताए । ‘संघीय सरकारका कर्मचारीले संबैधानिक अधिकार विपरित स्थानीय तहमा कर्मचारी व्यबस्थापन गरिरहेका छन्,’ उनले भने, ‘कर्मचारी आवश्यक छ तर त्यो संबैधानिक अधिकार कुण्ठित हुने गरी पठाउनु हुँदैन ।’ संघीय र प्रदेश सरकारले कानुन निर्माण गरेर स्थानीय तहको सम्पूर्ण संबैधानिक अधिकार कार्यान्वयनमा ल्याउन उनले आग्रह गरे । बित्तीय आयोग गठन गरेर संबैधानिक प्रक्रिया अनुसार स्रोत व्यबस्थापनको काम तत्काल गर्न सभापति ब्यान्जुले माग गरे ।


विराटनगर महानगर प्रमुख भीम पराजुलीले कानुन अभावमा स्थानीय तहका जनताको घरदैलोमा सिंहदरबारको अधिकारको प्रत्याभुति हुन नसकेको गुनासो पोखे । ‘जनताले सबै अधिकारको प्रत्याभुति खोजेका छन्,’ उनले भने, ‘त्यसको व्यबस्थापनमा सबैको सहयोग अपरिहार्य छ ।’

प्रकाशित : फाल्गुन २३, २०७४ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?