कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादित बन्दै जनप्रतिनिधि

कुम्भराज राई

ओखलढुंगा — जनप्रतिनिधिहरूले चुनावका बेला अनेक आश्वासन बाँडे । पूरा गर्न सकिने नसकिने सबै आश्वासन बाँडेका उनीहरूले चुनाव जित्न करोडौं खर्च पनि गरे । तर त्यत्रो खर्च गर्ने रकम कहाँबाट आयो भन्ने भने कसैले देखाएनन् ।

विवादित बन्दै जनप्रतिनिधि

यही कारण निर्वाचित भएको केही महिनादेखि विवादमा आउन थालेका छन् । पहिलो गाउँसभा सम्पन्न भए लगत्तै अधिकांश जनप्रतिनिधि आफै डोजर व्यवसायमा संलग्न भए । कान्तिपुरमा समाचार प्रकाशित भएपछि उनीहरूको व्यापक आलोचना भयो ।


अधिकांशले आफ्नो संलग्नता नभएको भन्दै प्रत्यक्ष संलग्नतालाई ढाकछोप गरे । स्थानीय तहले गर्न सक्ने धेरै प्रमुख कामहरूलाई ओझेलमा राख्दै भौतिक विकासलाई प्राथमिकता दिएका छन् । तर त्यसभित्र अनियमितता हुन थालेको आरोप लाग्न थालिसकेको छ जसले गर्दा जनप्रतिनिधिहरू निर्वाचित भएको वर्ष दिन नपुग्दै बदनाम हुन थालेका छन् ।


यहाँको चम्पादेवी गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै केही दिनअघि जिल्ला प्रशासनमा उजुरी दर्ता भइसकेको छ । स्थानीयले फागुन २७ गते भ्रष्टाचार गरेको अभियोगमा उजुरी दर्ता गरेका छन् । आरोपीमा गाउँपालिका प्रमुख नवराज केसी, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, लेखापाल मिलन लुइँटेल, इन्जिनियर नवीन श्रेष्ठ र पूर्वाधार विकास समिति संयोजक अजय लुइँटेल छन् ।


सोही उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत दर्ता गराइसकेका छन् । उजुरीमा आव ०७३/७४ को गाउँपालिका सञ्चालन अनुदानको खर्च सार्वजनिक नगरेको, विभिन्न ४ वटा सडक आयोजनामा दोहोरो मूल्यांकन गरी भ्रष्टाचार गरेको, गाउँपालिकामा आवश्यक सामग्री तथा उपकरण सार्वजनिक खरिद ऐनविपरीत खरिद गरेको उल्लेख छ ।


त्यसैगरी सडक खन्ने काममा प्रयोग भएका स्काभेटरको दररेट निर्धारण नगरी लगत स्टिमेटभन्दा तलमाथि पारी भुक्तानी दिइएको आरोप छ । सडक निर्माण क्रममा विद्यालय भवन भत्काइएको र स्थानीय खोलामा गिट्टीबालुवा ठेक्का लगाउँदा किर्ते गरी स्वीकृत गरेको आरोप छ ।


गाउँपालिकाकै केही वडाअध्यक्षहरूले स्पष्ट रूपमा भ्रष्टाचार बढेको स्विकारेका छन् । त्यसको उचित छानबिन हुनुपर्ने उनीहरूको माग छ । वडा ७ का अध्यक्ष सुरेशकुमार थापाले भने, ‘स्पष्ट छानबिन हुनु जरुरी छ । अहिलेदेखि नै हामीले सचेत नगराउने हो भने थप भ्रष्टाचार मौलाउँदैन भन्न सकिन्न ।’


गिट्टीबालुवा उत्खनन तथा व्यापार अवैध तरिकाले भइरहेको भन्दै वडा ६ का अध्यक्ष तिलक कार्कीले ०७४ माघ २९ गते प्रहरीचौकी फूलबारीलाई रोक्न पत्राचार गरेका थिए । तत्कालीन फूलबारी गाविसका अध्यक्ष खड्गबहादुर कार्कीसहितका स्थानीयले ७ बुँदामा गाउँपालिका प्रमुखसहितका व्यक्तिले भ्रष्टाचार गरेको अभियोगमा उक्त ठेक्कामा समेत किर्ते गरेर भ्रष्टाचार गरेको अभियोग छ । गाउँपालिका प्रमुख नवराज केसी यसअघि पनि सेवाग्राही र कर्मचारी कुटेको विषयमा विवादमा तानिएका थिए ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले भने प्रक्रिया र नियम मिचेर काम नभएको दाबी गरेका छन् । कसैलाई व्यक्तिगत रूपमा चित्त नबुझेका कारण गलत आरोपसहित उजुरी दर्ता भएको हुन सक्ने दाहालले बताए । तर आफूलाई जनताले भोट दिएर जिताएको भन्दै जनप्रतिनिधिहरूमा मनोमानी निर्णय गर्ने प्रवृत्ति हावी हुँदै गएको छ । चुनावमा जनताको सेवा एक पैसा नलिई गर्छु भन्ने वडाअध्यक्षदेखि प्रमुखहरूसम्म अहिले गाडी, मोटरसाइकलजस्ता सुविधा लिनमा तँछाडमछाड गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७४ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?