कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सहमति र सहकार्य अझै सान्दर्भिक’

मोरङ — पूर्वप्रधानमन्त्री तथा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति दिवसका अवसरमा मंगलबार विराटनगरस्थित कोइराला निवासमा फोटो प्रदर्शनी गरिएको छ ।

‘सहमति र सहकार्य अझै सान्दर्भिक’

जिपी कोइराला फाउन्डेशनले आयोजना गरेको प्रदर्शनीमा गिरिजाप्रसादको विभिन्न समयमा खिचिएको ५५ वटा तस्बिर प्रदर्शनीमा राखिएको हो ।

यसै अवसरमा आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा जनतालाई मालिक बनाउने आन्दोलनामा कोइराला महानायक भएको बताए । ‘उहाँको स्पष्ट अडान र प्रस्ट दृष्टिकोणले निरंकुश राजतन्त्र अन्त्य र प्रजातन्त्रको बहाली भयो,’ उनले भने, ‘त्यति बेला अलमलिएको नेपाली राजनीति र नेपाली समाजलाई गिरिजाप्रसाद कोइरालाले दिशानिर्देशन गर्नुभयो जसले सम्पूर्ण नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको नागरिक बनाएको छ ।’

गुमिसकेको प्रजातन्त्र फर्किने आश मारिसकेका आम नेपालीले कोइरालाको अडान र दृढताले प्रजातन्त्रको पुनर्बहाली भएको उनको भनाइ थियो । ‘मुलुकलाई कोइरालाको नेतृत्व प्राप्त नभएको भए अस्तित्व नै समाप्त हुने स्थिति सृजना भएको थियो,’ मुख्यमन्त्री राईले भने, ‘उहाँले देखाएको बाटोअनुसार मुलुकमा तीन तहको सरकार गठन भएर शान्ति स्थापना भइसकेको र अब मुलुक समृद्धि र विकासको बाटोमा अग्रसर भइसकेको छ ।’ सबैले साझा एजेन्डा बनाएर मुलुकलाई समृद्ध र विकसित बनाएर उहाँको सपना पूरा गर्न सबैको योगदान आवश्यक भएको उनले बताए ।

कोइरालाले छोडेर गएको मुलुक र युग बनाउने जिम्मेवारी पूरा गर्न सबैले दम्भ र अहंकार त्यागेर लाग्नुको विकल्प नभएको उनले बताए । ‘प्रदेश १ लाई मुलुकमा नमुना र समृद्ध प्रदेश बनाउन सबैलाई एकजुट भएर अगाडि बढने बेलामा दम्भ र अहंकारको सोचबाट मुक्त हुनुपर्छ,’ उनले भने, ‘प्रदेशको स्थायी राजधानी र नामकरण छिट्टै टुंग्याउँछौं, अप्ठयारो र असहज छ भन्दै चुप लागेर हुँदैन ।’

उनले मुलुकमा प्रजातन्त्र प्राप्तिमा कोइराला परिवारको अहं योगदान रहेकाले संग्रहालय बनाउने प्रतिबद्धता जनाए । प्रतिनिधिसभा सदस्य तथा कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले शान्ति र संविधानसभाबाट संक्रमणकालीन अवस्थाबाट मुलुकलाई निकास दिने मार्ग देखाउने गिरिजाप्रसाद कोइरालाको सपना समृद्ध र विकसित मुलुक बनाउन कांग्रेसको सदैब सहयोग रहने बताए । ‘संविधानमा सर्वस्विकार्यता बढाउन एमाले, माओवादी केन्द्र र मधेसवादी दल एक ठाउँ उभिएको छ,’ उनले भने, ‘सबै मिलेर संविधान संशोधनका लागि अघि बढे कांग्रेसको साथ सहयोग रहन्छ ।’

नेपालको उन्नतिका लागि औद्योगीकरण र नेपालीको मुक्तिका लागि आन्दोलन गर्ने विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाएर मुलुकमा भएको सम्पूर्ण परिवर्तनको सम्मान गर्न उनले आग्रह गरे । संघीय मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रजातन्त्र प्राप्तिमा कोइराला परिवारको योगदान अविस्मरणीय रहेको बताए । कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले कोइराला निवासमा जिपी संग्रहालय निर्माण गर्न आग्रह गरे ।

प्रकाशित : चैत्र ७, २०७४ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?