कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सक्षम बन्दै ग्रामीण महिला

अर्जुन राजवंशी

दमक — गौरीगञ्ज गाउँपालिका ६ खजुरगाछीकी भावना राजवंशी दुई वर्षअघिसम्म सामान्य गृहिणी थिइन् । तर, दुई वर्षयता उनको परिचय फेरिएको छ । अहिले उनलाई राजनीतिक नेत्री एवं अगुवा महिलाको रुपमा समाजले चिन्न थालेको छ ।

सक्षम बन्दै ग्रामीण महिला

गत स्थानीय तहको चुनावमा भावनालाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउनुपर्ने भनी छलफल समेत भयो । उक्त बहसले उनलाई थप सक्षम महिलाको रुपमा उभ्यायो । पछिल्लो समय जिल्लाका आदिवासी महिलाहरू आत्मनिर्भर बन्न थालेका छन् । उनीहरूले आफूलाई सीपमूलक र राजनीतिक रूपमा सक्षम बनाउन थालेका हुन् ।

जिल्लाको ग्रामीण भेकका कोरोबारी, गौरीगञ्ज, खजुरगाछी, जुरोपानी, कोहबरा क्षेत्रका आदिवासी, मुस्लिम, दलित महिलाहरू अचेल चुलोचौकासँगै सामाजिक काममा पनि सक्रिय हुन थालेका छन् । उनीहरूले आफूलाई आर्थिक रुपमा सक्षम बनाउँदै सामाजिक रुपमा पनि क्रियाशील बनाएका छन् ।

सामान्य गृहिणी रहँदै आएकी कोहबराकी तारादेवी लिम्बू दुई वर्षदेखि राजनीतिक रुपमा सक्रिय छिन् । उनी स्थानीय नेपाली कांग्रेसकी सक्रिय सदस्य हुन् । ‘पहिला त हामीले पनि राजनीति गर्न सक्छौं र, जस्तो लाग्यो । तर, अहिले दुई वर्षदेखि पार्टीका ठूलाबडासँग हिंडडुल गर्दा, बैठक, छलफल, कार्यक्रममा जाने गरेकोले राजनीति गर्न सकिन्छ भन्ने हिम्मत पलाएको छ,’ लिम्बूले भनिन् । ग्रामीण तथा सहरी विकास नेपाल (रुड) नामक संस्थाले महिला सशक्तीकरणको तालिम दिएपछि उनीहरूको दैनिकी फेरिएको हो ।

उक्त तालिम लिएपछि गौरीगञ्ज गाउँपालिका ६ की अविवाहित रोशन खातुनले १० जनाको परिवार पाल्दै आएकी छन् । दुई पटक गरी पाँच महिनाको तालिम लिएपछि खातुनले अहिले टेलर्स सञ्चालन गर्दै आएकी छन् । आफू र थप दुई जना स्टाफ राखेर टेलर्स चलाउँदै आएकी छन् ।

उक्त पसलको कमाइबाटै आमा, चार बहिनी, बिरामी भिनाजु र दिदीका छोराछोरीलाई पाल्दै आएकी छन् । ‘मेरै पसलको कमाइले दु:खजिलो घरको व्यवहार चलेको छ,’ उनले भनिन्, ‘आफ्नो कमाइले घर चलाउन पाएकोमा खुसी छु ।’ उनले सिलाइ कटाइको तालिमले आफूलाई सक्षम बनाएको बताइन् ।

गत वर्षको माघ र फागुनमा गरी दुई महिनाको सीप विकास तालिम लिएर गौरीगञ्ज ३ की वसन्ती राजवंशी पनि अहिले आत्मनिर्भर बनेकी छन् । उनले गौरीगञ्ज बजारमा ८ महिनादेखि ‘नविना लेडिज टेलर्स’ सञ्चालन गर्दै आएकी छन् ।

सामान्य रुपमा एउटा सिलाइ मेसिन राखेर सुरु गरेको टेलर्सबाट अहिले वसन्तीले मासिक १५ हजार कमाइ गर्छिन् । घर खर्च कटाएर आम्दानीको आधा रकम मासिक रुपमा बचत गर्दै आएको उनले बताइन् । उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा कतारमा छन् ।

‘टेलर्सबाट आएको आम्दानीले घर खर्च चलेपछि श्रीमान्को कमाइ सबै बचत गर्न सकेका छौं,’ उनले भनिन्, ‘यो कामले समाजमा मेरो पनि इज्जत बढाएको छ । थोरै भए पनि घरपरिवारमा सहयोग गर्न पाएकामा खुसी लागेको छ ।’

महिला सशक्तीकरण र सीप विकास तालिमअघि उक्त भेकका महिला घरकै कामधन्दामा दिन बिताउने गरेको रुड संस्थाकी जिल्ला अध्यक्ष वसन्तलक्ष्मी उदासले बताइन् । ‘हामीले नियमित रुपमा तालिम दिन थालेपछि अहिले ग्रामीण तथा लेखपढ नभएका साधारण महिला पनि आत्मनिर्भर बनेका छन् ।

आफ्ना समस्या धक फुकाएर राख्न सक्ने भएका छन्,’ उदासले भनिन् । अवसर पाए ग्रामीण महिलाहरूले पनि आफूलाई सक्षम बनाउन तथा राजनीतिक रुपमा अघि बढाउन सक्ने उनले तर्क गरिन् । ‘ग्रामीण क्षेत्रका आदिवासी, मुस्लिम, दलित महिलाहरू अवसर नपाएरै वर्षांैदेखि घरधन्दामै सीमित हुन पुगेका छन्,’ भावना राजवंशीले भनिन्, ‘यो संस्थाले अवसर दिएकाले अहिले हामी घरभन्दा बाहिर निस्किन सकेका छौं ।’

प्रकाशित : चैत्र ८, २०७४ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?