कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब कोसेली कोदो, फापर र जुनेलो

डिल्लीराम खतिवडा

उदयपुर — रौतामाई गाउँपालिका ६ पोखरीका लोकबहादुर सार्की अहिले पाखो बारीमा कोदो, फापर र जुनेलो खेती गर्दै आएका छन् ।

अब कोसेली कोदो, फापर र जुनेलो

५ वर्षअघिसम्म थोरै कोदोसँगै ७ रोपनी जग्गामा गाँजा खेती गर्दै आएका उनी किन अहिले कोदो, फापर र जुनेलो खेती गर्दैछन् ? सार्की सहजै उत्तर दिन्छन्, ‘सहरतिर कोसेली कोदो र फापरको पिठोसँगै जुनेलो हो । त्यसैले गाँजा छोडेर कोदो, फापर र जुनेलो खेती गरियो ।

गाँजा छोडेर कोदो, फापर र जुनेलो खेती किन गरेको त ? लोकबहादुर भन्छन्, ‘पहिले गाँजा नै विक्थ्यो, अहिले कोदो, फापर र जुनेले ।’ ‘बजारमा जे विक्छ, त्यसैको खेती गर्यो भनेमात्रै किसान उभो लाग्छ,’ लोकबहादुरले भने, ‘तर पहिले गाँजा पनि खाइएन, अहिले कोदो, फापर र जुनेलो पनि खाइँदैन ।’ शहरमा कोसेली पठाउ नै पुग्दैन, त्यसैले खान नपाएको उनले बताए ।

लोकबहादुरले उत्पादन गरेको कोदो र फापर, मकै र फापर वर्षभरि खान पुग्छ । तर उनको भन्सामा कोदो र फापरको रोटी पाकेको छैन । त्यस्तै उदयपुरगढी गाउँपालिका डुम्रेका अमरबहादुर मगरले यसवर्ष झन्डै ५० मुरी फापर फलाए । अहिलेपनि उनको घरमा २/४ पाथी फापर राखिएको छ । अहिले कै जस्तो फल्यो भने फापरबाटै गुजरा गर्न सकिने उनले बताए ।

लोकबहादुर र अमरबहादुर जस्तै जिल्लाको उत्तरी ग्रामीण क्षेत्रका सयौ किसानले पछिल्लो समय कोदो, फापरसँगै जुनेलो खेती गर्न सुरु गरेका छन् । तर त्यहाँका किसानले कोदो, फापर र जुनेलो खान छोडेको वर्षाैं भयो । सहरमा कोदो, फापर र जुनेलो माग बढेको छ । त्यसैले किसानले आफूले खानुभन्दा सहरमा बिक्री आम्दानी धेरै हुने र कोसेलीका रूपमा पठाउने गरेकाले खान छोडेको बताए ।

‘पहिले मकै, कोदो र फापरको ढिलो खाएरै गुजारा गरिन्थ्यिो,’ ताम्लीछाका किसान दर्गाबहादुर परियारले भने, ‘अब त स्वाद पनि विर्सियो ।’ खानुभन्दा बिक्रीबाट धेरै आम्दानी हुने गरेकाले खान छोडेको उनले बताए ।

यता दुर्गम ताप्ली गाउँपालिककाको थाक्लेका नन्दलाल पोखरेलको परिवारमा खाजा नै बदलियो । ३/४ वर्षअघिसम्म खाजाको रूपमा मकैभटमास, कोदो/मकै र फापरको रोटी खाने उनी अहिले चाउचाउ, चाउमिनसँगै फ्रुटि, कोकोकला, ड्यु र बिस्कुट खान्छन् ।

‘बालबालिकालाई अलिहे चाउमिन र बिस्कुटसँगै चिसो चाहिन्छ,’ नन्दलालले भने, ‘अन्य वेला जे खाए पनि दिउँसोको खाजामा चाउचाउ, चाउमिन र बिस्कुटसँगै चिसो चाहिन्छ ।’ गाउँघरमा फलेको केदो, फापर, जुनेलो लगायतका खाद्यान्न सहरमा माग भएकोले घर घरमै आएर व्यापारीले लगेपछि बजारीया खाजाले गाउँ प्रवेश भएको उनले बताए ।

पछिल्लो समय दुर्गम ग्रामिण क्षेत्रका बालबालिका, युवायुवती र बृद्धबृद्धाको खाजा चाउचाउ र बिस्कुट नै खान्छन् । मकै, कोदो र फापर नपाएर उनीहरूले चाउचाउ र बिस्कुलाई खाजाको रूपमा ग्रहण गरेका होइन । सहजै रूपमा गाउँघरमा चाउचाउ र बिस्कुट जस्ता तयारी खाद्य पर्दाथको आपूर्ती हुन थालेपछि अहिले ग्रामीण क्षेत्रमा तयारी खाजाको बिक्री बढेको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगतले बताए ।

‘सहरमा अहिले बिहान वेलुकाको खाना नै कोदोको ढिडो खाइन्छन्,’ अध्यक्ष भगतले भने, ‘दिउँसो खाजा उपलव्ध भएसम्म मकै भटमास र फापरको रोटी हो ।’ विभिन्न रोगका करण कोदो, मकै र फापर लगायका खाद्यान्न खाँदा उत्तम हुने चिकित्सको सल्लाहको कारण पनि सहरतिर मकैको भात, ढिडो र रोटि खाने चलन नै भएको उनले बताए ।

उच्च रक्तचाप, मधुमेह र थाइराइड जस्ता रोगका कारण सहरीया भए पनि बाध्य भएर मकै, कोदो र फापरमा भर पर्नु परेको सर्वसाधारण बताउँछन् । सहरमा तयारी खाजा खानु भन्दा गाउँघरबाट ल्याएको मकै, कोदो र फापर राम्रो भएकाले नै प्रयोग गर्ने क्रम बढेको अध्यक्ष भगतले बताए । ‘त्यसैले गाउँबाट आउनेलाई सहरीयाले कोसेलीको रूपमा कोदो, फापर र जुनेलो ल्याउन सुझाउँछन्,’ उनले भने ।

चाउचाउ र बिस्कुट जस्ता खाद्य पदार्थ गाउँ पुर्‍याउन ग्रामीण सडकले महत्वपूर्ण भूमिका खेलेकाले यो सम्भव भएको हो । ग्रामिण क्षेत्रमा सडक सञ्चालन आएपछि अहिले ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तुको ढुवानी सहज भएको छ । ग्रामीण सडक सञ्चालन भएपछि चाउचाउ, बिस्कुट जस्ता तायारी खाजा सस्तो भएकाले गाउँ गाउँमा यी वस्तुको प्रयोग बढेको हो ।

ग्रामिण सडक नहुँदा गाउँघरमा सवारी साधन चलेका थिएन । दैनिक उपभोग्य वस्तुको ढुवानी पनि महँगो थियो । ढुवानी महगो हुदा उपभोग्य वस्तुको मूल्य पनि बढी नै थियो । तर अहिले जताततै सडक बनेपछि चाउचाउ, बिस्कुट, दालमोट भुजीया, लगायतका खाजामा प्रयोग गर्न सकिने वस्तुको धरान, विराटनगर, राजविराज, लाहान, जनकपुर र गाईघाट लगायका सहरबाट सोझे ग्रामीण क्षेत्रमा सप्लाइ हुने गरेको उद्योगी व्यापारी बताउँछन् ।

‘गाउँ–गाउँमा सडक पुगेपछि सहज रूपमै ढुवानी गर्न सकिने भएपछि मकै, कोदो र फापरको सहरमा माग बढी छ,’ चौडण्डिगढी उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्कीले भने, ‘सहरको चाउचाउ, बिस्कुट, भुजा र अन्य तयारी खाजाको गाउँमा माग छ ।’ त्यसैले पनि गाउँ र सहर दुवैको खाजा खाने शैली फेरीएको उनले बताए ।

अहिले जिल्लाको दुर्गम गाउँ ताम्लिछा, बारा, बाँसबोटे, बलम्ता लगायत गाविसका गाउँमा गाईघाट बजार भन्दा थोरै (न्यून) बढी मूल्यमा दैनिक उपाभोग्य वस्ुत पाइने अध्यक्ष कार्कीले बताए । ‘ग्रामीण सडकको सोझो सम्र्पक सहरसँग भएकै कारणले सहर र गाउँको शैली परिर्वतन भएको हो,’ कार्कीले भने ।

‘सस्तोमा तयारी खाजा पाएपछि किन अन्य खाजाको लागि झन्झन्ट गर्नु’ लेखगाउँकी सुमित्रा राईले भनिन्, ‘गाउँघरमा काम गर्न सधंै हतार हुन्छ, तायारी खाजा पाएपछि सयमको बचत पनि हुने, मीठो हुने भएकोले चाउचाउ र बिस्कुट नै खाजामा प्रयोग गरिन्छ ।’ सहजै सस्तोमा पाएपछि दु:ख गर्ने बानी हटिसकेको अवस्थामा झनै घरमै तयारी वस्तु सस्तोमा पाउदाँ खाने गरेको उनले बताइन् ।

ग्रामिण सडक सञ्चालन नहुँदा भरिया र खच्चडलाई बोकाएर दैनिक उपभोग्य वस्तुको ढुवानी गरिन्थियो । भरियाले गाईघाटबाट ४ र खच्चडले ३ दिन लगाएर दैनिक उपभोग्य लगायतका वस्तु गाउँ पुर्‍याउने गरेको स्थानीय व्यापारी बताउछन् । तर अहिले गाईघाटबाट ३ घण्टामा घरमै आवश्यक परेको सामग्री र्‍याइदिने व्यपारीले बताए । ‘गाईघाटबाट हिँडेर यात्रा बलम्ता पुग्न झन्डै ३ दिन लाग्ने गरेको थियो,’ ताप्लीगाउँपालिका कुमलटार बजारका व्यापारी सन्तोष गिरिले भने, ‘तर अहिले २ घण्टामा पुगिन्छ ।’ यात्रा सहजसँगै दैनिक आवश्यक पर्ने सामग्री समेत सजिलो हुँदा सर्वसाधारणको जीवन शैली समेत परिर्वतन भएको उनले बताए ।

प्रकाशित : चैत्र १३, २०७४ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?