कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हवाई सेवा अब प्रदेशभर

मोरङ — विराटनगर विमानस्थलबाट प्रदेश १ का सबै विमानस्थलमा हवाई सेवा सुरु हुने भएको छ । प्रदेश सरकारले निजी विमान कम्पनीहरूसँग समन्वय गरी सेवा सुरु गर्ने जनाएको छ ।

हवाई सेवा सुरु भएपछि यहाँको पर्यटन व्यवसायसमेत फष्टाउने भएकाले सरकारको प्राथमिकतामा परेको हो । प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले हिमाली र पहाडी जिल्लाका लागि छिटो, छरितो, भरपर्दो र सुरक्षित हवाई सेवाले हिमाल, पहाड र तराई जोड्न मद्दत मिल्ने भएकाले सरकार तत्काल सञ्चालनको तयारीमा रहेको बताए ।

‘हवाई यातायात सुरु भएपछि यात्रुहरूलाई समयको बचत हुन्छ र धेरैभन्दा धेरै मानिसको अवागमन बढेपछि स्वत: विकास अघि बढ्छ,’ उनले भने, ‘हवाई सेवा सुचारु भएसँगै यहाँको पर्यटन व्यवसायमा समेत गुणात्मक वृद्धि हुने प्रदेश सरकारको विश्वास छ ।’

प्रदेश १ स्थित १४ जिल्लामध्ये विराटनगर, भोजपुर, खोटाङको लामीडाँडा, खानीडाँडा र थामखर्क, ताप्लेजङको सुकेटार, संखुवासभाको तुम्लीङटार, ओखलढुंगाको रूम्जाटार र सोलुखुम्बुको फाप्लु विमानस्थल छ । सबै विमानस्थल सञ्चालन अवस्थामा रहेको छ । प्रदेश १ को पहाडी र हिमाली जिल्लास्थित ७ वटा विमानस्थलमध्ये विराटनगरबाट संखुवासभाको तुम्लीङटारमा प्रत्येक साताको बुधबार र शुक्रबार गरी ४ वटा उडान भइरहेको छ । भोजपुर र खोटाङको लामीडाँडा, खानीडाँडा र थामखर्क विमानस्थलमा काठमाडौंबाट आएका नेपाल वायुसेवा निगमको विमान विराटनगर आउने र विराटनगरबाट उक्त विमानस्थल हुँदै फर्किने गरेको छ । ताप्लेजङको सुकेटार, ओखलढुंगाको रूम्जाटार र सोलुखुम्बुको फाप्लु विमानस्थलमा विराटनगरबाट हवाई सेवा सञ्चालनमा छैन ।

यसअघि अधिकांश विमानस्थलमा उडान भर्दै आएका नेपाल वायुसेवा निगमको जहाजको संख्या निरन्तर घट्दै गएपछि पहाडी जिल्लामा हुँदै आएको धेरै उडानहरू बन्द भएको थियो ।

नागरिक उड्डयन प्राधिकरण शाखा विराटनगरका प्रमुख सुरेशमान सिंहले विराटनगर विमानस्थलबाट प्रदेश १ स्थित ७ वटै विमानस्थलमा हवाई सञ्चालन गर्न सकिने बताए । ‘सबै विमानस्थलमा काठमाडौंबाट प्रत्येक सिजनमा हवाई सेवा सञ्चालन हुँदै आएको छ,’ उनले भने, ‘जहाजको कमीले विराटनगरबाट हवाई सेवा सञ्चालन हुन सकेको छैन ।’

पर्यटन व्यवसायी भवेश श्रेष्ठले राज्यको शासन सत्ता विकेन्द्रित भए पनि विमान कम्पनीहरू काठमाडौं विमानस्थलमा मात्रै केन्द्रित भएर नहुने अवस्था रहेको बताए । ‘प्रदेश र स्थानीय सरकारको संरचनाअनुसार निजी विमान कम्पनीहरूले विकेन्द्रित गरेर जहाज सञ्चालन गर्नु आवश्यक छ ।’

प्रकाशित : चैत्र १७, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?