कुटपिटपछि वडाध्यक्षको मृत्यु

माधव घिमिरे

विराटनगर — स्थानीय बासिन्दाको कुटपिटपछि बिरामी परेका पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको भएको छ ।

हिलिहाङ-७ स्थित तम्फुला सडक आयोजनाको अनुगमनका क्रममा स्थानीय भीम योक्पाङदेन र उनका छोरा सुवास योक्पाङदेनले तिम्सिनालाई चैत ११ गते कुटपिट गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि बिरामी परेका वडाध्यक्ष तिम्सिनाको शुक्रबार साँझ मृत्यु भएको हो । सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार छिनेको विषयलाई लिएर तिम्सिनालाई कुटपिट गरिएको थियो । तिम्सिनाले बिहीबार आफूमाथि भएको कुटपिटको विषयमा पीडकमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दर्ता गराएका थिए । आफूलाई सार्वजनिक स्थलमा छातीमा समातेर पछार्दै कुटपिट गर्नुका साथै अपशब्द प्रयोग गरेको उनले उजुरीमा उल्लेख गरेको प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले बताए ।

कुटपिटपछि शारीरिक र मानसिक रुपमा कमजोर भएका उनलाई उपचारका लागि फिदिमस्थित पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट चिकित्सकले रेफर गरेपछि उपचारका लागि झापा लैजाँदै गर्दा इलामको नेपालटार पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तिम्सिनाको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको छ ।

यसैबीच, हिलिहाङ गाउँपालिकाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

प्रकाशित : चैत्र १७, २०७४ १४:००
प्रतिक्रिया
पठाउनुहोस्

छिट्टै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधानमन्त्रीको भनाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले स्थनीय तहमा भएको कर्मचारीको अभाव चाँडै पूरा गरिने बताएका छन् । 

गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनको शनिबार उदघाटन गर्दै उनले सरकारले कर्मचारी समायोजनको काम अघि बढाइसकेकोले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने बताएका हुन्।

त्यस अवसरमा उनले स्थानीय तहका जनप्रतिनिधीलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशनसमेत दिएका छन्। भ्रष्टाचार, कुशासनजस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस्।’ प्रधानमन्त्री ओलीले पूर्वाधार, विद्युत्, वैकल्पिक उर्जा, सञ्चार आदि क्षेत्रको विकासमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन्।

स्थानीय तह सफल भएमात्र देश सफल हुने उनको भनाइ थियो। राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री ओलीले, ‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभूति गर्ने गरी तपाईहरुले काम गर्नुहोस्।’ सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेको उल्लेख गर्दै उनले सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए।

प्रकाशित : चैत्र १७, २०७४ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्