कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कर्मचारी माग्दै जनप्रतिनिधि काठमाडौंमा

तत्काल गाउँ पुग्ने व्यवस्था गर्छु : मन्त्री पण्डित
अजयकुमार राई

ताप्लेजुङ — आफ्नो गाउँपालिकामा कर्मचारी पठाइदिन ताप्लेजुङका स्थानीय जनप्रतिनिधिले केन्द्रीय मन्त्रीसँग हारगुहार गरेका छन् ।

कर्मचारी माग्दै जनप्रतिनिधि काठमाडौंमा

मंगलबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेट्न काठमाडौं पुगेको टोलीले कर्मचारी नहुँदा जनताको काम गर्न नसकेको गुनासो गरे ।

मन्त्रीलाई भेट्न पाथीभरा याङवरकका अध्यक्ष केशर मेन्याङबो, फक्तालुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ, सिदिङवा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया र आठराई त्रिवेणी, मेरिङदेन, फक्तालुङ, सिदिङवा गाउँपालिकाका उपाध्यक्ष निवासमै पुगेका थिए । उनीहरूलाई प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले मन्त्रीसम्म पुर्‍याएका थिए ।

आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लामा फक्तालुङ र मिक्वाखोला गाउँपालिकाका कार्यकारी अधिकृतको दुई पटक सरुवा भइसकेको छ । मिक्वाखोला, मेरिङदेन गाउँपालिकाका कार्यकारी सरुवाको प्रक्रियामा छन् । वडा सचिव भने कुनै पनि गाउँपालिकामा आवश्यकता अनुसार छैनन् । सातवटा वडा रहेको सिदिङवा गाउँपालिकामा एकजना पनि वडा सचिव छैनन् । सिरिजंगाको समस्या पनि समान छ । यी गाउँपालिकामा कर्मचारीले नै वडा सचिवको पनि भूमिका निर्वाह गरिरहेका छन् । आफूहरूले कम्तिमा एक वडामा एक सचिवको ब्यवस्था मिलाइदिन अनुरोध गरेको मेन्याङबोले बताए । मन्त्री पण्डितले तत्काल व्यवस्था गर्ने आश्वासन जनप्रतिनिधिलाई दिलाएका छन् ।

‘पठाउँदा पनि नगएकालाई तत्काल पुग्ने व्यवस्था मिलाउँछु, अपुग कर्मचारी पठाउँछु’ मन्त्री पण्डितको भनाइ उद्धृत गर्दै फक्तालुङ गाउँपालिका अध्यक्ष एभेङले भने । उनले मन्त्रीको आश्वासनपछि अब कर्मचारी आउलान् भन्ने आशा पलाएको बताए ।

जिल्लामा ६१ वडा छन् । ३६ जना वडा सचिव यो वर्ष नै सरुवा मागेर बाहिरका जिल्ला गएका छन् । आफ्नोमा नपठाएको, भएका कर्मचारीको अन्यत्र सरुवा मात्रै गरेको गुनासो जिल्ला समन्वय समितिले मन्त्रालयमा गरेको थियो । समितिका अनुसार सात जना कर्मचारी लोकसेवाबाट यो वर्ष आउँदैछन् ।

कर्मचारीको पटक/पटकको सरुवाले विकासे काम प्रभावित भएको फक्तालुङका अध्यक्ष सरोजले गुनासो गरे । उनले भने, कार्यालयका दैनिक गर्ने कामदेखि विकासे कामसमेत प्रभावित भएका छन् । ‘कर्मचारीले गर्ने काम र हामीले गर्ने काममा फरक हुँदोरहेछ कर्मचारी नहुँदाको समस्याले असफल हुने त्रास भइसक्यो, उनले थपे, न नयाँ नियुक्त गर्नु न पर्खेर बस्नु समस्या भएको थियो, सबै समस्या सुनाएका छौं ।’

प्रकाशित : चैत्र २२, २०७४ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?