कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक छैन पुलमात्रै !

अर्जुन राजवंशी

दमक — बाटो निर्माण नहुँदा झापा र मोरङ जिल्लालाई जोड्ने मावा खोलाको पुल प्रयोगविहीन बनेको छ । दमक नगरपालिका १० सेतुमारीदेखि मोरङको उर्लाबारी नगरपालिका ९ राजघाट जोड्ने पुल एक वर्षदेखि प्रयोगविहीन बनेको हो ।

सडक छैन पुलमात्रै !

पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण गरिएको पुल प्रयोगविहीन बन्दा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति झापाको चार करोड २१ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको थियो । ७५.४५ मिटर लम्बाइ र ५.४५ मिटर चौडाइको पुलको निर्माण कार्य काठमाडौंको बीटी निर्माण सेवाले सम्पन्न गरेको हो ।

पुल निर्माणका लागि ०७० चैतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार ०७१ असोजबाट निर्माण सुरु गरी ०७३ चैतमा पुल निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका राजकुमार भण्डारीले बताए । तर, मोरङतर्फको करिब ५ सय मिटर बाटो निर्माण नगरिँदा पुल सञ्चालनमा आउन सकेको छैन ।

पुल निर्माण भएको एक वर्ष बितिसके पनि राजघाट खण्डको ५ सय मिटर बाटो निर्माणको प्रक्रिया अझै सुरु हुन सकेको छैन । वर्ष दिनसम्म सरोकारवालाले बाटो निर्माणमा पहल नगर्दा पुल अलपत्र बनेको युवा नेता सन्तोष दुलाले बताए । ‘करोडौं खर्चिएर पुल निर्माण गरियो । तर, सामान्य बाटो निर्माण गर्न नेताहरूले पहल गरेनन्,’ उनले भने । वर्षाैंदेखिको पहलपछि मावा खोलामा निर्माण भएको पुल अलपत्र बन्दा स्थानीय अन्योलमा परेका छन् ।

राजघाटका टेकबहादुर दाहालले बाटो बनाउन ढिलाइ गर्दा आफूहरूलाई आवतजावतमा समस्या भएको बताए । उनले पुल निर्माण भइसक्दासम्म बाटो बनाउन भने सम्बन्धित निकायले नियतबश ढिलाइ गरेको आरोप लगाए । उनले बाटो बनेर आवतजावत गर्न सके राजमार्ग नटेकी झापा जान सहज हुने बताए । दमक १० का स्थानीय कमल न्यौपानेले तत्काल बाटो बनाउन माग गरे । ‘पुल बन्यो तर बाटो छैन । पुल बनेको के अर्थ रह्यो ?’ उनले भने, ‘पुल बनेकोमा हामी खुसी छौं । अब चाँडै बाटो बनाइदिनुपर्‍यो ।’

पुल रेखदेख समितिका अध्यक्ष अम्बिका खनालले बाटो नहुँदा पुल बेकामे बनेको बताए । उनले भने, ‘पुल बनाउन थाल्दादेखि नै पश्चिमतिर बाटो बनाउनुपर्छ भन्ने सबैलाई थाहा भएकै हो । तर, पुल निर्माण भएको वर्ष दिन बितिसक्यो, बाटो के गर्ने भन्ने अझैसम्म कुनै ठोस निर्णय हुन सकेको छैन ।’ उनले जिल्ला समन्वय समितिले तदारुकता नदेखाउँदा बाटो निर्माणमा ढिलाइ भएको बताए । उक्त पुल निर्माणमा लोकल रोड एन्ड ब्रिज कार्यक्रमले प्राविधिक सहयोग गरेको थियो ।

पुल सञ्चालनका लागि बाटो बनाउनुको विकल्प नरहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर सुशील श्रेष्ठले बताए । उनले भने, ‘पुलको पश्चिमतिरको बाटो निर्माणको लागि हामी ठेक्का प्रक्रियामा छौं । कल्भर्ट र बाटो बनाउने कार्य चाँडै सुरु गर्छाैं।’ उनले पुलको सुरक्षाका लागि दुवै किनारमा थप तारजाली लगाउन आवश्यक रहेको समेत बताए ।

इन्जिनियर श्रेष्ठले पुलको पश्चिमतिर दुई वटा कल्भर्ट र बाटो निर्माणका लागि तीन करोड रुपैयाँको स्टिमेट गरी माथिल्लो निकायमा कागजात पठाएको बताए । उनले आगामी बर्खा अगावै काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको बताए ।

प्रकाशित : वैशाख २, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?