कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमानस्थल स्तरोन्नति गरिने

ताप्लेजुङ — कालोपत्रे भएर पनि बाह्रै महिना सञ्चालनमा आउन नसकेको सुकेटार विमानस्थल स्तरोन्नति गरिने भएको छ । विमानस्थलका दुवै तर्फबाट जहाज अवतरण गर्ने बनाउन लागिएको हो ।

विमानस्थल स्तरोन्नति गरिने

यसका लागि विमानस्थलपूर्वतर्फको ढिस्को फाल्ने तयारी गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका सिभिल इन्जिनियर पुष्प न्यौपानेले सोमबार प्रारम्भिक सर्भे गरेका छन् ।


प्राविधिकका अनुसार पूर्वतर्फको ढिस्को भत्काएर धावनमार्ग थप पाँच सय मिटर कालोपत्रे गरे दुवैतिरबाट जहाज अवतरण गर्न सकिन्छ । ‘अहिले हेर्दा टु वे अप्रोच गर्न सकिने सम्भावना देखिएको छ,’ न्यौपानेले भने, ‘कति माटो फाल्नुपर्छ, कती समय लाग्छ भन्नेचाँही डिटेल सर्भेपछि थाहा हुन्छ ।’ मन्दिर क्षेत्र रहेको भागमा ‘स्लोभ’ मिलाउनुपर्ने र पूर्वतर्फ धावनमार्ग बढाउनुपर्ने उनले बताए । मन्दिरतर्फको जग्गा प्राधिकरणकै नाममा रहे पनि पूर्वतर्फ भने निजी जग्गा छ । अहिले धावनमार्गको ७ सय ५० मिटर कालोपत्रे गरिएको छ । पाँच सय मिटर बढी धावनमार्ग कालोपत्रे गर्न बाँकी छ ।


विमानस्थल निर्माणदेखि नै उडान भर्दै आएको नेपाल वायुसेवा निगमका चालकले पूर्वतर्फको ढिस्को फालेर पाँच सय मिटर बढाए दुवै तर्फबाट अवतरण गर्न सकिने सुझाव दिँदै आएका छन् । सामान्य समस्या पर्दा भित्ताको ढिस्कोमा ठोकिन सक्ने भएकाले पूर्वतर्फबाट अवतरण भएको छैन । धावनमार्ग नपुग्ने भएकाले १९ सिट क्षमताको जहाजले काठमाडौंबाट १२ जना र ताप्लेजुङवाट १५ जना यात्रु मात्र बोक्दै आएको छ ।


जहाज बस्न नसके अवतरण प्रयास र फर्कनेसमेत फ्युल बोक्नुपर्ने भएकाले काठमाडौंबाट धेरै यात्रु ल्याउन नसकिएको निगमले जनाएको छ । निजी विमानको समस्या पनि उस्तै छ । पश्चिम दिशाबाट मात्रै गर्दा सामान्य कुहिरो लाग्दा पनि जहाज अवतरणमा समस्या हुने गरेको छ । पूर्वतर्फबाट अवतरण गर्न पाए समस्या नहुने विमान चालकले बताउने गरेका छन ।


तमोर, कावेली नदीवाट उठ्ने कुहिरो विमानस्थलको दक्षिणतर्फको क्षेत्रमा जम्मा हुने गरेको छ । अवतरण हुने क्षेमा कुहिरोले ढाकिरहदा पूर्व तर्फको भाग भने खुला हुने विमानस्थल कर्मचारी बताउँछन् । जहाज नचल्दा यहाँका यात्रुले तीन दिन लगाएर काठमाडौं पुग्नुपर्छ ।

प्रकाशित : वैशाख ३, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?