कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

मन्त्रीद्वारा बीपी प्रतिष्ठान निरीक्षण

अनियमितता नियन्त्रण गर्ने पहल

विराटनगर — अनियमितता विवादमा फसेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले शुक्रबार निरीक्षण गरेका छन् ।

मन्त्रीद्वारा बीपी प्रतिष्ठान निरीक्षण

उपकरण खरिद र भौतिक संरचना निर्माणमा अनियमितता भएको भन्दै प्रतिष्ठान आलोचित बनिरहेका बेला मन्त्रीले निरीक्षण गरेका हुन् ।


प्रतिष्ठानबारे व्यवस्थापनमा समस्या बढेको र यही कारण सेवाको गुणस्तर नै प्रभावित भएको भन्दै प्रदेश सरकारले प्रतिष्ठान सुधारको पहल गर्दै चासो राखेको हो । प्रतिष्ठानका विभिन्न विभागको अवलोकन गर्दै मन्त्री घिमिरेले पदाधिकारीहरु, विभागीय प्रमुख, र कर्मचारीहरुसँग भेटघाट गरेका थिए । त्यस क्रममा उनले प्रतिष्ठानबाट सर्वसाधारणलाई उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिए ।


‘धेरैले सेवा लिनुपर्ने संस्थामा गडबडी भइरहनु उचित होइन’ मन्त्री घिमिरेले भने, ‘सुधार गरी सेवा दुरुस्त पार्ने प्रक्रियाका लागि प्रतिष्ठानको प्रारम्भिक अवलोकन गरिएको छ, अब अर्को चरणमा पदाधिकारीहरुसित छलफल हुनेछ ।’

प्रतिष्ठानमा उपकरण खरिदमा अनियमितता, चार सय शैय्याको मातृशिशु भवन, दुई सय शैय्याको मुटु र दुई सय शैय्याको क्यान्सर अस्पताल निर्माण प्रक्रियामा आर्थिक अनियमितता भएको आरोप लागेको छ । निर्माणाधीन अवस्थाको मातृशिशु उपचार केन्द्रको भवन ६ महिनादेखि रोकिएको छ । मन्त्री घिमिरेले यसबारे कर्मचारी र पदाधिकारीसँग चासो राखेका थिए ।


यसअघि प्रदेश सरकारले प्रतिष्ठानमा भएको अनियमितताको गम्भीर रुपले छानबिन गर्ने जनाएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चाँडै प्रतिष्ठानको बेथिति अध्ययन गरेर त्यहाँको अवस्था सुधार्न सरकारले आवश्यक कदम चाल्ने बताउँदै त्यहाँका बेथिति, लापरवाही, भ्रष्टाचार र अनियमितताका विषयलाई अब नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिष्ठानमा भएका सबै खालका बेथितिलाई अन्त्य आवश्यक कदम चाल्ने उल्लेख गर्दै उनले चाँडै प्रतिष्ठानको अवस्था अध्ययन गरेर सुधारका लागि अघि बढ्ने बताएका थिए । प्रदेश १ र २ का जिल्लाका बिरामी अनि भारतीय सीमावर्ती क्षेत्रका बिरामीको समेत ‘रेफरल सेन्टर’ का रुपमा मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनियमितता विवादले अस्तव्यस्त बन्न थालेपछि प्रदेश सरकारको ध्यानाकर्षण भएको हो ।

प्रकाशित : वैशाख ८, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?