कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रित्तिए ९० चौंरी गोठ

आनन्द गौतम

ताप्लेजुङ — जिल्लाको पूर्वी भारतीय सिमावर्ती गाउँ याम्फुदिन चौंरी पालनका लागि उपयुक्त स्थल हो । त्यही भएर २०५८ सालसम्म यहाँ ९६ वटा गोठ थिए ।

रित्तिए ९० चौंरी गोठ

तर चरण क्षेत्र अभावलगायत कारणले १५ वर्षको अन्तरमै सबै गोठ रित्तिएका छन् ।

सिरिजंघा गाउँपालिका ७ साविकको याम्फुदिनमा हाल दुइटा मात्रै गोठ रहेको पूर्वजनप्रतिनिधि सोम राईले बताए ।

उनका अनुसार दुईमध्ये पनि एउटा मात्रै परम्परागत रूपमा पालिदै आएको गोठ हो । अर्को चार वर्ष अघिमात्रै सुरु भएको हो ।बावुबाजेकै पालादेखिको नरबहादुर गुरुङ ‘छोङवा’ सँग ५५ वटामात्रै चौंरी छन् । मनकुमार राईसँग ४७ वटा । बाँकी सबै गोठ बिक्री भइसकेको राईले बताए । नापी कार्यालयका अनुसार ६७ लाख ७२ हजार वर्गमिटर क्षेत्रफल रहेको यो वडामा गौचरणका लागि सार्वजनिक जग्गा मात्रै ७ हजार ८ सय ४० वर्गमिटर छ । १ लाख १६ हजार ३ सय ७४ वर्गमिटर खोल्सी, वाटो, कुलो, नदी र ५ लाख ६० हजार ४६ वर्गमिटर जंगल क्षेत्र छ । घाँस, पानीका लागि यी सबै आवश्यक हुन् ।

तर पनि चाैंरी पालकको आकर्षण हराएको राईले बताए । यहाँ सबैभन्दा बढी वर्तमान वडाध्यक्ष टसी भोटेका हजुरबुवा ठिले पासाङले पालेका थिए । उनका गोठमा १ सय १३ वटा चाैंरी त एकै पटकमा दुहुने गरिएका थिए । त्यो गोठलाई उनका छोरा पासाङले बिक्री गरे र काठमाडौं गए । उनले बिक्री गर्दा प्रतिगोटा नौ हजारले बिक्री हुन्थ्यो । छोराछोरी पढाउन अभिभावकहरू सहर केन्द्रित भएकै कारण गोठ रित्तिएको सोमको बुझाइ छ । वडाध्यक्ष टसी पनि यसमा सहमत छन् । उनले भने, ‘पहिला पढाउनुपर्छ भन्ने मान्यता कम थियो, आफ्ना छोराछोरी पढाए पनि अरूका छोराछोरी गोठ बस्न आउथे । अहिले सबैमा चेत खुल्यो, सबैले पढाउन थालेपछि खर्कमा चौंरी धपाउने नभएकै कारण गोठ रित्तिएको हो ।’

युवा पुस्ता नभएको र बूढाबूढीले थेग्न नसक्ने भएपछि चौंरी बिक्री भएको ओलाङचुङगोलाका छेतेन शेर्पा बताउँछन् । हिमाली बस्तीमा चाैंरीको दूधबाट परिकार बनाउने समेत जनशक्ति कम भएको छेतेनले बताए । यहाँका चौरी सबै तिब्बतमा बिक्री गरिन्छ । चौंरीबाट विगतदेखिनै फाइदा भएको पालकहरू बताउँछन् । चौंरी पालन छोडेका याम्फुदिनकै पासाङ शेर्पाका अनुसार २०४५/४६ सालसम्म यहाँको घिउ टिनमा लगाएर तराई लगीन्थ्यो । त्यो बेला १० धार्नीको एक टिन हुन्थ्यो । एक धार्नीमा अहिले तीन किलो हुन्छ । ३२ रूपैयाँ धार्नीले बिक्री हुन्थ्यो । घिउ झापाको बिजनबारी लगिन्थ्यो । मोहीबाट ‘सेरगेम’ बनाइन्थ्यो ।

मोही पार्‍यो, त्यसलाई उमाल्यो, फटायो, कपडामा तार्‍यो, निचोरेर फुर्रर्र पार्‍यो र घाममा सुकाएपछि फुर्रर्र बनाएको चिजलाई मरमसला लगाएर तरकारीका रूपमा पकाएर खाइन्थ्यो । २०४५/४६ सालदेखि भने सेरगेम नबनाएर छुर्पी बनाउन थलिएको हो । अब पुरानै अवस्थामा चौंरी गोठ फर्काउन व्याससायिक ढंगले नै पालन गर्नुपर्ने सोम बताउँछन् ।

प्रकाशित : वैशाख ९, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?