कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारमा मनपरी, अनुगमन छैन

अर्जुन राजवंशी

दमक — दुई साता अघि दमक नगरपालिकाको दोस्रो नगर सभामा एक जना वडा सदस्यले बजारमा व्यापारीको मनपरी बढेको भन्दै चर्को शब्दमा आफ्नो भनाई राखे । बजारमा बढेको बेथिति कसले रोक्ने ? भन्दै उनले प्रश्न समेत गरे । स्थानीय सरकारले नै गर्ने हो भने, तत्काल बजार अनुगमन गर्नुपर्‍यो भन्दै माग गरे ।

बजारमा मनपरी, अनुगमन छैन

उक्त वडा सदस्यले भनेजस्तै जिल्लामा बजार अनुगमन ठप्प बनेको छ । अनुगमन अभावमा व्यापारीहरूले उपभोग्य सामग्रीमा मनपरी मूल्य निर्धारण गरेका छन् । एक बर्ष यता व्यापारीहरूले पसलमा मूल्य सूचीसमेत राखेका छैनन् ।

विशेषगरी स्थानीय तहको निर्वाचनपछि सबैखाले बजार अनुगमनहरू ठप्प भएका हुन् । त्यसअघि भने प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला बजार अनुगमन समितिले बेलाबेलामा बजार अनुगमन गर्ने गरेको थियो । जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले स्थानीय सरकारको ध्यान बजेट, सडक निर्माणलगायतमा जाँदा बजार अनुगमन ठप्प बनेको बताए ।

उनले अनुगमनको अभावमा उपभोक्ताले सबैखाले सेवामा मार खेप्नु परेको बताए । ‘आआफ्ना क्षेत्राधिकारभित्रका जनतालाई सर्वसुलब सेवा दिन स्थानीय सरकारहरू सक्रिय हुनुपर्ने हो’ पोर्तेलले भने,‘तर, यसतर्फ स्थानीय तहहरूको खासै ध्यान गएको देखिदैन ।’ उनले विकास निर्माणसँगै उपभोक्ताको अधिकार र बजारमा विकृति नबढ्ने गरी काम गर्न सुझाव दिए ।

उनले विगतमा नियमित अनुगमन हुँदा पसलमा सेवा र त्यसको मूल्य सूची राख्ने गरेको बताए । तर, वर्ष दिनयता पसलहरूमा मूल्यसूची नदेखिने गरेको उनले स्वीकार गरे । ‘बजार अनुगमन नहुँदा व्यापारीहरूले पनि मूल्यसूची राख्न ध्यान दिएको जस्तो देखिँदैन,’ उनले भने, ‘धेरै ढिला भइसक्यो । अब, चाँडै स्थानीय सरकारहरूले आआफ्नो क्षेत्रमा बजार अनुगमनमा जुट्नुपर्छ ।’

बजार अनुगमन नहुनुको प्रमुख कारण कानुन निर्माण नभएको स्थानीय सरकार प्रमुखहरूको भनाइ छ । जिल्लामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तह छन् । त्यसमध्ये दमक नगरपालिकाले मात्रै बजार अनुगमन कार्यविधि बनाएको छ । तर, उक्त कार्यविधि पनि स्थानीय राजपत्रमा प्रकाशित भइनसकेकाले कार्यान्वयन गर्न नसकिएको नगर प्रमुख रोमनाथ ओलीले बताए । बाँकी स्थानीय तहले यसबारे कुनै प्रयास गरेका छैनन् ।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले कानुन निर्माणतर्फ गम्भीर रहेको बताए । उनले कानुन अभावमा बजार अनुगमनसहित अन्य थुप्रै काम गर्न कठिनाइ भइरहेको अनुभव सुनाए । ‘कानुन नभएकै कारण हामीले चाहेजसरी काम गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘त्यसैले हामीले एउटा कार्यदल बनाएका छौं ।

उक्त कार्यदलले चाँडै अत्यवाश्यक कार्यविधि, नियमावली र निर्देशनहरू जारी गर्नेछ ।’ उनले स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने विषयवस्तुको नियम, कानुन निर्माणलाई तीव्रता दिँदै नगरको समग्र विकासमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।

दमकका प्रमुख ओलीले बजार अनुगमनका लागि आवश्यक कार्यविधि बनाएर नगरको दोस्रो नगरसभाबाट पारित गरिसकेको बताए । उनले चाँडै राजपत्रमा प्रकाशित गरेर कार्यान्वयन तहमा लाने बताए । ‘राजपत्रमा प्रकाशित भइसकेपछि स्वत: लागू भएको ठहर छ,’ प्रमुख ओलीले भने, ‘त्यसपछि बजार अनुगमनलाई सशक्त र कडाइका साथ अघि बढाउनेछौं ।’ उनले कानुन बनिसकेकाले अनुगमनका क्रममा कोही दोषी पाइए, तत्काल कारबाही प्रक्रिया अघि बढाउने बताए ।

‘बजार अनुगमन नभएको, व्यापारीले आफूखुसी गरेको, बजार व्यवस्थापन नभएको लगायत गुनासा आइरहेका छन् । तर, आवश्यक नियम, कानुनबिना बजारमा कुद्नु हँुदैन’ उले थपे, ‘अब हामीलाई आफ्नो काम गर्न कुनै कठिनाइ हुँदैन ।’

प्रकाशित : वैशाख १३, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?