कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिले बजारैभरि सीसी क्यामेरा

धनकुटा — ‘हिले बजार यहाँहरूलाई स्वागत गर्दछ, तपाईं सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ हिले बजारको मध्य भागमा यो निगरानीको साइनबोर्ड देख्न सकिन्छ ।

हिले बजारैभरि सीसी क्यामेरा

विगतमा आपराधिक घटनाक्रम बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि गत वर्षदेखि बजारभरि सीसी क्यामेरा जडान गरिएको हो । जडानपछि आपराधिक घटनामा उल्लेख्य कमी आएको प्रहरीले दाबी गरेको छ । हिले पर्यटन प्रवद्र्धन समितिको अगुवाइमा बजारका १२ स्थानमा क्यामेरा जडान गरिएको हो ।

सीसी क्यामेराको निगरानी कक्ष भने हिले प्रहरी चौकीमा रहेको छ । प्राविधिकहरू प्रहरी चौकीबाटै दिनरात नै बजारका गतिविधि नियाल्ने गरिएको चौकी इन्चार्ज यदुकुमार खड्काले बताए । उनले अपराध न्यूनीकरणको सफल उपायका रूपमा यसलाई लिएको जनाए ।‘बजारमा सीसी क्यामेरा जडान भएपछि आपराधिक गतिविधिमा उल्लेख्य न्यूनीकरण भएको छ,’ उनले भने, ‘हरेक चोक गल्लीमा क्यामेरा जडान गरिएकाले हामी कन्ट्रोल रुमबाट सहजै निगरानी गरिरहेका हुन्छौं ।’ बजारमा प्रहरी गस्ती र क्यामेरा जडान दुवै पक्षले विगतमा चोक बजारमा हुने झैझगडा र अन्य अप्रिय घटना न्यूनीकरण भएको इन्चार्ज खड्काले बताए । विगत वर्षहरूभन्दा कम्तीमा ५० प्रतिशत घटना न्यूनीकरण भएको उनले जानकारी दिए ।

रातिको समयमा समेत सोलार प्यानलबाट बत्ती जडान गरिएपछि क्यामेराबाट निगरानी गर्न सहज रहेको स्थानीयवासी समेत रहेका उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको भनाइ छ । सबै व्यापारिक तथा प्रशासनिक थलो रहेका क्षेत्रमा सीसी क्यामेरा जडान गर्न जरुरी रहेको घिमिरेको तर्क छ ।हिले बजारका १० स्थानमा रातिको समयमा सोलार बत्ती जडान गरिएको छ । खासगरी बजारको तल्लो भागसहित तोङ्बा चोक, बीचबजार, सिरानबजारस्थित मन्दिर क्षेत्र, भोजपुर जाने मोड, हिले भ्यु लगायतका स्थानमा जडान सीसी क्यामेराले बजार क्षेत्रको निगरानीमा मद्दत पुगेको जनाइएको छ ।

सबै तहमा जडान गरिने
धनकुटालाई अपराध न्यूनीकरण गर्न सबै स्थानीय तहमा सीसीटीभीबाट निगरानी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलले सीसीटीभी जडान गर्ने निर्णय गरेको हो । जिल्लाका मुख्य–मुख्य सार्वजनिकस्थल, व्यापारिक प्रतिष्ठान र निजी आवासीय घरमा पनि सीसीटीभी क्यामेरा जडान गर्न आह्वान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए । सरोकारवाला निकायसँग समन्वय गरेर सीसीटीभी क्यामेरा जडान गरिने खनालले बताए । सबै स्थानीय तहमा समेत क्यामेरा जडान गर्नु पर्ने जोड दिए ।

सीसी क्यामेरा जडानबारेको निर्देशिका २०७२ अनुसार प्रशासन तथा प्रहरी कार्यालयमा सबै पक्षले पूर्वस्वीकृति लिनुपर्ने प्रशासनको भनाइ छ । हाल सञ्चालनमा रहेका सीसीटीभी क्यामेराबारे आगामी शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन पनि प्रशासनले आग्रह गरेको छ । जिल्लामा रहेका क्यामेराहरूको तथ्यांक राख्न ‘प्रदेश नं. १ आन्तरिक मामला मन्त्रालयबाट आएको निर्देशनअनुसार यस्तो अनुरोध गरिएको हो ।’ कोइरालाले भने, ‘सबै निकायले एक हप्ताभित्र आफुले जडान गरिएका सीसी क्यामेरा जडानबारे जानकारी दिनुपर्ने हुन्छ ।’

प्रकाशित : जेष्ठ १, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?