वर्षात्‌मा सडक

बेदराज पौडेल

काठमाडौँ — वर्षा याम सुरु भइसक्यो । यो वर्ष केही अगाडि नै वर्षात् हुन थालेको हो । होचा सहर तथा गाउँमा मध्यवर्षामाझैं सडक हिलाम्मे भइसक्यो । खाल्डाखुल्डीमा पानी जमेर हिँड्नै मुस्किल हुन थालेको छ ।

जेठको सुरुआतसँगै अब यो आर्थिक वर्षको अन्तिम एक महिना मात्र बाँकी रहेको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँ पालिकाहरूमा असारे विकास सुरु भइसकेको छ । झरिपर्दै गर्दा पनि निर्माणका कामहरू असारको २१ सम्ममा सकेर बिल फरफारक गर्ने हतारो ठेकेदारलाई हुन्छ ।

असार लागेपछि चोक, सडक, ढल निर्माणमा तीव्रता आउँछ । बजेट खर्च गर्ने हतारोले काम समयमा नै अनुगमन नहुँदा कमसल हुने गरेका छन् । असारमा निर्माण गरिएका सडक दुई महिना पनि नबित्दै खाल्डा पर्न थाल्छन् । उपभोक्ता सम्मिलित आयोजना भने केही राम्रै भए पनि ठेकेदारको मनोमानीले अन्य योजनाहरू भने झारा टार्ने मात्र हुन्छन् ।

Yamaha

हतारमा निर्माण भएरहेका योजना कसरी निर्माण भइरहेका छन् भन्ने आमउपभोक्ताले चासो राख्ने हो भने गुणस्तरमा सम्झौता नगरी ठेकेदारले निर्माण गर्न बाध्य हुन्छन् ।

नत्र सामान्य र कमसल काम गरेर सरकारी निकायबाट ठकेदारले सम्पूर्ण रकम असुलिरहेको हुन्छन् । इटहरीको पशुपति मार्गको तीन सय मिटर लम्बाइको सडक स्थानीय उपभोक्ताहरूको निगरानीमा निर्माण भइरहेको छ । उपभोक्ता आफैंले रकम खर्च गरेर निर्माण गरिरहेको उक्त सडकको कमजोर नहोस भनेर उपभोक्ताहरू कामदारसँगै निगरानी गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल आउला त अलिबाबा ?

चिनियाँ ई–कमर्स जायन्ट अलिबाबाले दराज किनेपछि यसले नेपालमा निरन्तरता पाउला ?
निरन्तरता पाएमा नेपाली ई–कमर्स उद्योगमा यसको प्रभाव कस्तो हुन्छ ?
विजय तिमल्सिना

काठमाडौँ — चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाले नेपालसहित दक्षिण एसियाली केही देशमा सञ्चालनमा रहेको अनलाइन मार्केट प्लेस दराज डट कम किनेको खबरले नेपाल मात्रै नभएर एसियाको प्रविधि बजार नै तरंगित भयो ।

धेरैले यसलाई चिनियाँ कम्पनीको दक्षिण एसियाली बजार प्रवेशको संकेतका रूपमा बुझे । युरोपियन कम्पनी रकेट इन्टरनेटसँग अलिबाबाले दराजको सम्पूर्ण स्वामित्व किनेको थियो । दराज नेपालमा मात्रै नभएर पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा पनि सञ्चालनमा छ ।


नेपालमा पनि सञ्चालनमा रहेको दराजलाई अलिबाबाले किन्दा अब नेपाली ई–कमर्स बजारमा अलिबाबाको प्रवेश भएका रूपमा धेरैले बुझे । केही विश्लेषण छ, यसले अब नेपाली ई–कमर्सलाई प्रतिस्पर्धात्मक बनाउनेछ र केहीले अलिबाबाको प्रवेशले सानासाना पुँजीबाट स्थापित हुने प्रयासमा रहेका अनलाइन व्यवसायलाई असर गर्नेछ ।


दराजको बिक्रीपछि यसको मातृ कम्पनी रकेट इन्टरनेटले जारी गरेको प्रेस विज्ञप्तिमा बिक्रीपछि पनि यसको सञ्चालन दराजकै नाममा हुने उल्लेख गरिएको छ । दराजमा पूर्ण स्वामित्व अलिबाबाको भएपछि यसलाई प्राविधिक रूपमा अलिबाबाको नेपाल प्रवेश भन्न त मिल्ला तर ठूला बजारमा आफ्नो आँखा लगाउने अलिबाबाले नेपालमा यसलाई सञ्चालन गर्छ कि गर्दैन भन्ने निश्चित छैन । किनभने अनलाइनमार्फत सामान अर्डर गर्ने जनसंख्या नेपालमा निकै थोरै छ । नेपालका सबै जनसंख्याले कुनै दिन अनलाइनमार्फत सामान अर्डर गर्न थालेछन् भने पनि यसको जनसंख्या ३ करोड हाराहारीमा मात्रै छ । अझ नेपालको ठूलो जनसंख्या देश बाहिर छ । यति सानो बजारमा अलिबाबाले दराज डटकमलाई आफनो लगानीमा सञ्चालन गर्ला ?


जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवाल अलिबाबाले नेपालमा दराजलाई निरन्तरता दिनेमा शंका गर्छन् । ‘अलिबाबाले दराजलाई निरन्तरता दिन्छ भन्नेमा म कमै मात्र विश्वस्त छु,’ उनी भन्छन्, ‘उसको ध्यान पाकिस्तान, बंगलादेशजस्ता ठूलो बजार हुन सक्छ ।’


दराज सञ्चालनमा रहेको ५ वटै देशमा आफ्नो राम्रो उपस्थिति जनाएको छ । नेपाल र श्रीलंकाबाहेक अन्य देशमा जनसंख्या ठूलो छ । जहाँका उपभोक्तालाई आकर्षित गर्न सके अलिबाबाले ठूलो उपभोक्तामार्फत विस्तार हुने अवसर पाउन सक्छ ।


पाकिस्तानबाट सन् २०१२ मा सुरु भएको दराज डट कम त्यहाँ पनि लोकप्रिय छ । पाकिस्तानमा सबैभन्दा लोकप्रिय मार्केट प्लेसमा दराज पर्छ । पाकिस्तानको जनसंख्या २० करोड छ । यस्तै १६ करोड जनसंख्या भएको बंगलादेशमा पनि दराज डट कम सबैभन्दा चर्चित अनलाइन मार्केट प्लेसमै पर्छ । दक्षिण एसियाका अन्य देशजस्तै पाकिस्तान र बंगलादेशमा पनि इन्टरनेट प्रयोग गर्ने जनसंख्याको दर बढदो छ ।


अलिबाबाले आफ्नो उपस्थितिलाई निरन्तरता दिए नेपाली ई–कमर्सको आयाम फेरिने विश्वास अग्रवालको पनि छ । यहाँका उपभोक्तामा अनलाइनप्रति विश्वास बढाउन र ई–कमर्सले पनि आफ्नो ग्राहक सेवालाई बढाउन ठूलो लगानीको आवश्यकता उनले देखेका छन् । यसको पूर्ति अलिबाबाको आगमनले पूर्ति हुन सक्छ । तर, दराज आफू ई–कमर्स नभएर अनलाइन मार्केट प्लेस भएकाले नेपालमा धेरै समस्या झेलेको उनको बुझाइ छ । ‘दराजले अरूबाट सामान लिएर उपभोक्तालाई दिँदै कतिपय व्यापारीले भ्याट बिल नदिने र सामान नपाउने जस्ता समस्या भोगेका थिए,’ उनी भन्छन्, ‘योबाहेक नेपालमा पेमेन्ट गेटवेको विषय पनि थाँती छ ।’


दराजको खरिदपछि नेपालमा अलिबाबाले यसलाई सुचारु गर्छ कि गर्दैन भन्ने निश्चित नभए पनि नेपालमा ई–कमर्स व्यवसायमा सक्रिय भएकाहरू प्नि ठूलो कम्पनीको आगमनले उद्योगलाई सकारात्मक असर पर्नेमा विश्वस्त देखिन्छन् । सस्तो डिलका संस्थापक अमूल थापा ठूला कम्पनीको आगमनले उपभोक्तालाई ई–कमर्सबारे सचेतना फैलाउन सहयोग गर्ने बताउँछन् । यसमा उनको आफ्नै अनुभव पनि छ । सन् २०११ म सस्तो डिलको सुरुवात गरेका उनी नेपालमा सन् २०१४ मा केयमु आएपछि नेपालमा ई–कमर्सको आकर्षण बढेको ठान्छन् । दराजले एक वर्षअघि केयमुलाई आफूमा मर्ज गरेको थियो । यद्यपि थापा अलिबाबाले दराज किनेपछि नेपालमा निरन्तरता दिन्छ भन्नेमा विश्वस्त छैनन् । भन्छन्, ‘दराज किन्नुको उद्देश्य अलिबाबाको उद्देश्य पाकिस्तानी बजार हुन सक्छ ।’


‘केयमु आउनुअघि ई–कमर्सबारे उपभोक्तालाई बुझाउन गाह्रो थियो,’ उनी भन्छन्, ‘केयमुको आगमनपछि उनीहरूले गरेको प्रवद्र्धनले हामीलाई पनि सजिलो भयो ।’ नेपाली बजारमा अलिबाबाको उपस्थितिले यहाँको उपभोक्तामा ई–कमर्सप्रति आकर्षण बढ्ने र यसले यहाँका साना कम्पनीलाई फाइदा पुग्ने उनको तर्क छ ।


‘एउटै कम्पनीले शत प्रतिशत बजार ओगट्न सक्दैन,’ उनी भन्छन्, ‘अन्य कम्पनीहरूलाई आफ्नो उपस्थिति जनाउने ठाउँ सधैं रहन्छ ।’ ठूला कम्पनीको आगमनले बढाउने प्रतिस्पर्धाले अन्य साना कम्पनीको पनि प्रतिस्पर्धी क्षमता बढ्ने थापाको भनाइ छ । ‘बजारमा स्थापित हुने क्रममा रहेका सुरुवाती कम्पनीहरूलाई यसले बेफाइदा गर्न सक्छ तर सानै भूमिकामा भए पनि आफूलाई स्थापित गरेका कम्पनीलाई कुनै न कुनै रूपमा फाइदा हुन्छ,’ उनी भन्छन् । अलिबाबाले दराजलाई नेपालमा निरन्तरता दिए आगामी वर्षमा नेपाली ई–कमर्स क्षेत्रले फडको मार्ने उनको अनुमान छ ।


थ्रेड पेन्ट्सका संस्थापकमध्येका एक आशिष आचार्य पनि थापाकैजस्तो तर्क राख्छन् । ‘ढिलो चाँडो कुनै ठूलो कम्पनी आउँछ भन्ने थियो । अब आयो,’ आचार्य भन्छन्, ‘ठूलो कम्पनी भित्रिएपछि यहाँका कम्पनीले त्यसैअनुसारको योजना बनाउनुपर्छ ।’


थ्रेड पेन्टसले पनि ग्राहकलाई दिने सेवा र सामानको गुणस्तरमा वृद्धि गर्ने योजना बनाएको आचार्यले बताए । ‘बलियो प्रतिस्पर्धी आएपछि हामीले पनि त्यहीअनुसारको क्षमता बनाउनुपर्छ,’ उनी भन्छन्, ‘नेपालमा ई–कमर्सका लागि कुनै मापदण्ड थिएन, अब बन्यो । प्रतिस्पर्धा पनि त्यही स्तरको हुन्छ ।’

प्रकाशित : जेष्ठ २, २०७५ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT