कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतीय पाठ्यपुस्तक पढाउने विद्यालयमा तालाबन्दी 

अर्जुन राजवंशी

दमक — भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने झापा दमक नगरपालिका–६ स्थित सूर्योदय बोर्डिङ स्कुलमा युवा संघ नेपालले तालाबन्दी गरेको छ । 

भारतीय पाठ्यपुस्तक पढाउने विद्यालयमा तालाबन्दी 

विद्यालयले विद्यार्थीलाई हाम्रो देश भारत हो । नयाँ दिल्ली देशको राजधानी हो । भारतीय झण्डा हाम्रो मुलुकको राष्ट्रिय झण्डा हो भनि पढाउने गरेको थियो । विद्यालयले भारतको पूर्व राष्ट्रपति प्रणब मुखर्जीको तस्बिर राखेर हाम्रो देशको राष्ट्रपति भएको र नरेन्द्र मोदी देशको प्रधानमन्त्री भएको भनि विद्यार्थीलाई पढाउने गरेको थियो ।

नेपाली राष्ट्रियतामाथि गम्भीर आँच पुग्ने गरी भारतीय राष्ट्रियताको पाठ पढाएकाले विद्यालयमा तालाबन्दी गरेको युवा संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले बताए । युवा संघले विद्यालयको प्रिन्सिपल र प्रशासन कक्षमा ताला लगाएको हो । युवा संघले विद्यालयकी प्रिन्सिपल म्याकडिलिङ सिंहलाई नेपालको झण्डा चिनाउँदै उक्त झण्डा हस्तान्तरण गरेको थियो ।

विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने गरेको पाइएको हो । विद्यालयले ५ सय विद्यार्थीलाई भारतको राष्ट्रियता हाम्रो देशको राष्ट्रियता हो भनि पढाउने गरेको पाइएको छ । विद्यालयले भारतीय प्रकाशनका पुस्तकहरु ‘न्यू अंग्रेजी कन्भर्सेसन’ र ‘फन विथ मेन्टल मेथमेटिक्स्’ पढाउने गरेको थियो । ‘पाठ्यक्रम विकास केन्द्र सनोठिमी भक्तपुरमा सूचीकृत नभएको भारतीय पाठ्यपुस्तक पढाएर साना बालबालिकालाई हाम्रो देश भारत हो । भारतीय झण्डा हाम्रो हो भन्दै खुल्ला रुपमा भारतीय राष्ट्रियता लाद्ने काम भएको छ’ अध्यक्ष भण्डारीले भने,‘यस्तो विद्यालयलाई सरकारले कारबाही नगरेसम्म हाम्रो तालाबन्दी अनिश्चितकालसम्म जारी रहन्छ ।’

भारतीय प्रकाशनको पुस्तक पढाएकोबारे दमक नगरपालिकाको नगर शिक्षा समितिले स्पष्टिकरण सोधेको थियो । २४ घण्टाभित्र बुझाउन भनिएको स्पष्टिकरणमा विद्यालयले भूलबस भारतीय पुस्तक पर्न गएको जवाफ फर्काएको छ । विद्यालयले स्पष्टिकरण पत्रमार्फत एक पटकको गल्तीमा क्षमा माग्दै आगामी दिनमा यसप्रकारको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । विद्यालयले स्पष्टिकरण पत्र मार्फत भारतीय पाठ्यपुस्तक पढाउन बन्द गरेको जानकारी समेत गराएको छ ।

विद्यालयले नेपाली राष्ट्रियतामाथि गम्भीर असर पर्ने गरी खुलेआम भारतीय पाठ्यपुस्तक पढाइरहेकोप्रति विद्यार्थी तथा सरोकारवालाहरुले आपत्ति जनाएका छन् । यसअघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सोमबार उक्त कदमको विरोध गर्दै विद्यालयलाई ज्ञापन पत्र बुझाएको थियो । उसले भारतीय पाठ्यपुस्तक पढाएर स्कुलले नेपालको राष्ट्रिय स्वाधिनता र स्वाभिमानमाथि ठाडो प्रहार गरेकाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेको छ ।

नेपाल विद्यार्थी संघका जिल्ला सभापति रोशन विष्टले स्कुलले राष्ट्रियतामाथि खुल्लारुपमा हस्तक्षेप गरेको आरोप लगाए । उनले विद्यार्थीलाई खुल्लारुपमा आफ्नो देश भारत भएको, राजधानी नयाँ दिल्ली भएको तथा भारतको झण्डा नेपालको झण्डा हो भनि पढाउनु नेपाल र नेपालमाथि खुलेआम हस्तक्षेप भएको बताए । उनले यसबारे सरकारले कडा कदम चाल्नुपर्ने माग गरे । उनले यस विषयमा स्थानीय सरकार लचिलो बन्न नहुने सुझाव समेत दिए ।

प्रकाशित : जेष्ठ २, २०७५ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?