कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

एकै ठाउँ भेटिए ह्वीलचियर र साइकलयात्री

धनकुटा — ह्वीलचियर र साइकलयात्रीको एकै पटक संयोगको भेट भएको छ । दुवैले नेपाललाई चिनाउने उद्देश्य बोकेका उनीहरू फरक फरक यात्राका क्रममा निस्किए पनि धनकुटामा एकै ठाउँ भेट हुने संयोग मिलेको हो ।

एकै ठाउँ भेटिए ह्वीलचियर र साइकलयात्री

ह्वीलचियरबाट विश्व शान्ति यात्रामा निस्किएका तेजबहादुर कार्की र धार्मिक पर्यटन प्रवद्र्धनमा पहिलो चरणमा नेपाल यात्रामा हिंडेका ओमप्रकाश बानियाँको बुधबार भेट भएको हो । दुवैले एकापसमा सफल यात्राका लागि शुभकामना साटासाट गरेका छन् । ओखलढुंगा निवासी कार्की बसका चालक थिए ।

२०५७ सालमा धादिङको जोगिमारामा बस दुर्घटनामा परी उनले दुवै खुट्टा गुमाएका हुन् । २०६१ सालदेखि ह्वीलचियरयात्री भएर विश्व भ्रमणमा निस्किएका उनले नेपालका ७२ जिल्लासँगै विभिन्न ३४ राष्ट्रको भ्रमण गरिसकेको बताए । ४ छोरा र २ छोरीका बाबु कार्कीलाई श्रीमती प्रेरणा मैनाली कार्कीले पदयात्रामा साथ दिएकी छन् । ‘कुनै पनि व्यक्तिले अपांगताका कारण निराशाको अवस्था बेहोर्नु नपरोस् भन्दै उदाहरणीय काम गर्न सकिने विश्वासले यात्रामा निस्किएको छु ।’ उनले भने, ‘आत्माविश्वास भए हामी असाधारण काम पनि गर्न सक्छौं भन्नेमा विश्वस्त छु ।’ कार्कीले यात्राको क्रममा निस्किएका बानियाँलाई धाप मार्दै शुभेच्छा प्रकट गरे । कार्की दोस्रो चरणमा विश्वयात्राका क्रममा हिंडेका हुन् । उनलाई जिल्लामा जिफन्ट आबद्ध महिलाले सम्मान गरी आर्थिक सहयोगसमेत उपलब्ध गराएका छन् । शान्तिका लागि विश्व भ्रमणमा निस्किएका कार्कीलाई जिफन्ट र फाफुन सम्बद्ध श्रमिक महिलाले सहयोग संकलन गरी ३० हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

संकलित रकम मदनचौकमा कार्यक्रम गरी ह्वीलचियरयात्री कार्कीलाई हस्तान्तरण गरे । यात्रामा साथसहयोग पाएकाले आफ्नो यात्रा सफल भएको बताए । यसैगरी साईकल यात्राका क्रममा नेपाल भ्रमणमा निस्किएका सुनसरीको बराहक्षेत्र गाउ‘पालिका ५ का २७ वर्षीय बानियाँले आफू जन्मिएको जिल्ला धनकुटामा पुग्दा भावुक बन्दै आँसु खसाले । बाल्यकालमा धनकुटाबाट परिवारसाथ बसाइँसराइका क्रममा सुनसरी पुगेका थिए । उनी १६ दिनअघि साइकल यात्राको रुपमा निस्किने क्रममा जन्म जिल्ला पुगेका हुन् ।

ह्वीलचियरबाट विश्व यात्रामा निस्किएका साइकलयात्री ओमप्रकाश बानियाँ धनकुटामा । तस्बिर : रमेशचन्द्र

पहिलो चरणमा सात प्रदेशको यात्रा गर्न हिंडेका उनी १ नं.प्रदेशको यात्राको क्रममा चौथो जिल्ला पार गर्दै धनकुटा पुगेका छन् । साढे ६ वर्ष वैदेशिक रोजगारमा रहेर डेढ महिना अघि मात्र स्वदेश फर्किएका उनले साइकल यात्रीको रुपमा सुनसरी, झापा, मोरङपछि धनकुटा पुगेको बताए ।

दुई दिनको बसाईमा उनले साहित्यकार झमक घिमिरे, जिल्लास्थित प्रशासन प्रमुख, राजनीतिक दल, सञ्चारकर्मी लगायत आफ्नो गाउ‘ कागतेमा आफन्तसंग भेटघाटमा बिताए । पहिलो चरणमा नेपाल यात्रापछि आगामी दशैंदेखि विश्व यात्रामा निस्कने तयारी गरेका छन् । बानियॉले ह्वीलचियर यात्री कार्कीसंग भेटेर आफ्नो यात्राको लागि प्रेरणादायी भएको बताए ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?