होस्टल र खाजाले नजिकका स्कुल बन्द 

आनन्द गौतम

लेलेप (ताप्लेजुङ) — बालबालिकाका लागि आवासीय सुविधा कति महत्त्वपूर्ण रहेछ भन्ने उदाहरण कञ्चनजंघा आधारभूत विद्यालय घुन्सा भएको छ । यसले आवासीय सुविधासहितको कक्षा सञ्चालन गरेपछि नजिकका ग्याब्ला र फले आधारभूत विद्यालय विद्यार्थीविहीन भएका छन् ।

फोटो: ३१ सय मिटर उचाइमा रहेको ताप्लेजुङको घुन्सा आधारभूत विद्यालय र विद्यालयमा अध्ययनरत विद्यार्थी । तस्बिर : आनन्द

Yamaha

विद्यार्थी नभएपछि गाउँपालिकाले ३ विद्यालयलाई पुस्तक खरिदको रकम दिएको छैन । शिक्षकलाई पनि विद्यार्थी भएको विद्यालयमा सार्ने तयारी भएको छ । गाउँपालिका अध्यक्ष सरोज एभेङका अनुसार ग्याब्ला, फले, याङमा र जनता आधारभूत विद्यालयलाई पुस्तक खरिदका लागि निकासा नदिइएको हो ।

घुन्सामा अहिले ५४ विद्यार्थी रहेको प्रधानाध्यापक लीलाचक्र गुरुङले बताए । ३१ सय मिटरको उचाइमा रहेको यो विद्यालयमा पढ्न फक्तालुङ गाउँपालिकाको केन्द्र तापेथोक, इखावु, लेलेपको तल्लो बस्ती, जौंवारीदेखिका बालबालिका गएका छन् । तिनलाई सदरमुकाम फुङलिङ घर भएका प्रधानाध्यापक गुरुङले विद्यालय जाँदा लिएर जाने र छुट्टी हुँदा पुर्‍याउने व्यवस्था मिलाइदिएका छन् ।

समुदायको चाहना र अहिलेको आवश्यकताअनुसार अंग्रेजी माध्यमको पढाइ पनि सुरु गरेको गुरुङले बताए । गाउँमा १९ जना बालबालिका छन् । बाँकी सबै बाहिरबाट गएका विद्यार्थी हुन् । ४० जनालाई होस्टल सुविधा दिइएको छ । होस्टलमा गाउँका पाँच जना मात्रै बस्छन् । १४ जना घरबाटै धाउँछन् ।

आवासीय सुविधाका लागि हिमालयन डेभलपमेन्ट फाउन्डेसन अस्टेलिया (एचडीएफए) ले सहयोग गरेको छ । उसले प्रतिविद्यार्थी २ हजार सहयोग गरेको छ । अभिभावकले खानाका लागि एक हजार रुपैयाँ बुझाउनुपर्छ । कर्मचारीको व्यवस्थापन विद्यालय र एचडीएफले गरेका छन् । सदरमुकाम फुङलिङबाट खाद्यान्न, तरकारी लानुपर्ने भएकाले खाना महँगो पर्ने गुरुङले बताए ।

सदरमुकामबाट गाडीमा छिरुवासम्म र त्यहाँबाट खच्चडमा बोकाएर लैजानुपर्छ । खच्चड पुग्न दुई दिन लाग्छ । खाद्यान्न प्रतिकिलो ७० रुपैयाँ ढुवानी लाग्ने गुरुङले बताए । यहाँ चामलको खरिद मूल्यभन्दा ढुवानी मूल्य बढी पर्ने गरेको छ ।

आवासीय सुविधापछि चौंरी चराउन जाने हरेक बालबालिका फर्किएको गुरुङ बताउँछन् । ‘म, तत्कालीन शिक्षक खेमराज निरौला, एलएनलगायतले गोठ, गोठमा गएर नानीहरू स्कुल पठाइदिन अनुरोध गर्‍यौं,’ गुरुङले ५ वर्षअघिको स्मरण गर्दै भने, ‘अभिभावकलाई पनि सम्भाउन सकेनौं, विद्यार्थी पनि फकाउन सकेनौं, त्यसको विकल्प सोचेर होस्टल चलाएका सबै विद्यार्थी फर्काउन सफल भयौं ।’

अहिले विद्यालयको प्रभाव क्षेत्रका एक जना पनि स्कुल बाहिर बालबालिका नरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमाली चुङदा बताउँछन् । विद्यालयको शैक्षिकस्तर सुधारमा यहाँ जन्मेर काठमाडाै‌ं बस्दै आएका छवाङ शेर्पा, मिङमा शेर्पा लगायतले सहयोग पुर्‍याउँदं आएको हिमाली बताउँछन् ।
माविमा फर्किए बोर्डिङका विद्यार्थीः
फक्तालुङ गाउँपालिका ६ लेलेपको सरस्वती च्यारिवुक माध्यमिक विद्यालयमा बोर्डिङका विद्यार्थी फर्कन थालेका छन् । सदरमुकाम फुङलिङमा अध्ययनरत १६ जना विद्यार्थी यो वर्ष फर्किएको प्रधानाध्यापक राम तामाङले बताए ।

६ देखि नौ कक्षासम्मका विद्यार्थी फर्किएका हुन् । तामाङका अनुसार गत वर्ष १४ जना फर्किएका थिए । विद्यालयको शैक्षिक सुधारसँगै विद्यार्थी फर्किएको उनले दाबी गरे । तामाङका अनुसार हिमाली यो विद्यालयमा अहिले ४ सय विद्यार्थी अध्ययनरत छन् ।

‘हामीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले पनि सहयोग गरिरहेको छ । आफूले पनि विद्यालयको स्रोतसाधनले भ्याएसम्मको प्रयास गरिरहेका छौं,’ तामाङले भने, ‘विद्यार्थीको पढाइमा सुधार आएको छ र विद्यार्थी संख्या पनि उल्लेख्य वृद्धि भएको छ ।’ यसलाई टिकाइराख्न विद्यालयले रचनात्मक भूमिका खेल्ने पनि तामाङले बताए ।

Esewa Pasal

प्रकाशित : जेष्ठ ६, २०७५ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘नेपाली पनि अंग्रेजीसरह पढाऊ’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली लेखक संघले विद्यालय तहका सबै कक्षामा नेपाली भाषालाई अंग्रेजीसरह अनिवार्य पढाउन माग गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमको प्रारम्भिक खाका सार्वजनिक गरेसँगै संघका अध्यक्ष कवि श्रवण मुकारुङले यस्तो माग गरेका हुन् ।

कक्षा ११ र १२ मा अंग्रेजी २०० पूर्णाङ्क तर नेपाली १०० पूर्णाङ्कको मात्र पढाउने गरिएकोमा संघले आपत्ति जनाएको छ । पाठ्यक्रमको प्रारम्भिक खाकामाथि आठबुँदे धारणा राख्दै संघले नयाँ पुस्तालाई नेपाली भाषाबाट विमुख हुन नदिन बालमैत्री वर्णविन्यास, रचनात्मक एवं कार्यमूलक व्याकरण तथा रुचिपूर्ण पाठ्यसामग्री विकासमा जोड दिइनुपर्ने जनाएको छ ।

‘विद्यालय तहका नेपाली तथा अंग्रेजी भाषाका पाठ्यक्रममा समावेश गरिने साहित्यिक रचनाको छनोटमा वैचारिक सन्तुलन एवं बहुलतालाई ध्यान दिइनुपर्छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । संघले ऐतिहासिक जनआन्दोलनको भावना र संविधानको मूलमर्मलाई विद्यालय तहका पाठ्यक्रमले आत्मसात गर्नुपर्ने बताएको छ ।

‘देशमा लामो संघर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशिताको प्रवद्र्धनमा टेवा पुग्ने गरी विद्यालय तहका पाठ्यक्रम निर्माण गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ १९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT