कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यावसायिक तरकारी खेतीतर्फ किसानको आकर्षण

कृषि समूहलाई प्लास्टिक टनेल, बीउ, पाइपलगायत सामग्री वितरण

संखुवासभा — खाँदबारी सेकाहाकी पवित्रा गुरुङ बेमौसमी तरकारी विस्तारमा लागेकी छन् । वडाका विभिन्न पाँच कृषक समूहको पन्चकन्या तरकारी विस्तार पकेट क्षेत्र नामकरण गरी व्यावसायिक तरकारी खेतीमा लागेको समूहका संयोजक गुरुङले बताइन् ।

व्यावसायिक तरकारी खेतीतर्फ किसानको आकर्षण

गत वर्ष जिल्ला कृषि विकास कार्यालयमार्फत २ लाख ८० हजार रकम अनुदान प्राप्त भएपछि खेती विस्तार गरिएको हो । यो वर्ष खाँदबारी नगरपालिकामार्फत ५ लाख र कृषकबाट २ लाख १९ हजार ५ सय रकम उपलब्ध भएको थियो ।

उक्त बजेटमार्फत कृषि समूहलाई बीउ वितरण, पाइप, प्लास्टिक टनेल, टुटा मियुल, स्प्रीङ कललगायतका सामग्री वितरण गरेको छ । लगानीअनुसार तरकारी उत्पादन भएपछि कृषि उपज बिक्री गर्न सदरमुकाम खाँदबारी ल्याउने उनले बताइन् । तरकारी बेचेर छोराछोरीलाई पढाइ खर्च हुन्छ, उनले भनिन्, ‘अझै बिस्तार गर्ने सोचमा छु ।’ तरकारीको माग स्थानीय बजारमा धेरै भएको उनले बताइन् । तराईका जिल्लाबाट पनि तरकारी यहाँ ल्याइन्छ, हामीले बजारसम्म लैजान थालेपछि सेकाहाको तरकारी खोज्ने ग्राहक बढेका छन्, उनले भनिन्, ‘हामी गाउँघरमा कुहाएर बनाएका मल प्रयोग गर्छौं, त्यही भएर तरकारको माथ थामिनसक्नु छ ।’

सेकाहाका ८४ परिवारले तरकारी फलाएर बजारसम्म बेच्न ल्याउने गरेको उनले बताइन् । धेरै उपभोक्ता गाउँमै पुगेर तरकारी किन्ने गरेका छन् । उपभोक्ता गाउँमै आउँछन्, बारीमा फलेका ताजा तरकारी किनेर लैजान्छन्, उनले भनिन्, ‘बजारसम्म तरकारी पुर्‍याउन नसकिँदा पनि समस्या छैन ।’ स्थानीय तहले गरेको आर्थिक र प्राविधिक सहयोगले तरकारी खेती गर्न झनै सहज भएको उनको भनाइ थियो ।

खाँदबारी नगरपालिका ४ सेकाहाका किसानहरू प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएपछि समृद्धितर्फ उन्मुख भएका हुन् । परियोजना सञ्चालनमा आएसँगै किसानहरू तरकारी खेतीमार्फत आर्थिक रूपमा समृद्ध बन्दै गइरहेका छन् ।

कृषि विकास कार्यालयमार्फत सञ्चालन भएको परियोजनाले सेकाहाका ९४ घर परिवार अहिले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । तरकारी विस्तार पकेट क्षेत्र घोषणा गरिएको सेकाहामा विगत दुई वर्ष देखि परियोजना सञ्चालनपछि तरकारी उत्पादन भइरहेको छ । उनीहरूले २ सय रोपनीमा गोलभेडा, कोपी, रायो साग, अकबरे खुर्सानी लगायतका तरकारीको खेती लगाएका छन् ।

अनुगमनमा पुगेका मेयर मुरारी प्रसाद खतिवडाले नगरपालिकाका विभिन्न वडालाई कृषिजन्य वस्तुहरूको पकेट क्षेत्र बनाउन पहल गरिरहेको बताए । पाँचखपन नगरपालिकाका मेयर विपिन राईले नगरपालिकाका विभिनन स्थानहरूको पहिचान गरी कृषि उब्जनीका माध्यमबाट आफ्नो नगरपालिकालाई कृषि प्रदान नगरपालिका बनाउनेमा लाग्ने धारणा व्यक्त गरे ।

प्रकाशित : जेष्ठ ७, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?