कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३३ केभी अवरुद्ध भएपछि स्थानीय बिजुली प्रयोग

काठमाडौँ — ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि नेपाल विद्युत् प्राधिकरण खाँदबारीले स्थानीय स्तरमा उत्पादित विद्युत् प्रयोग गरेको छ ।

३३ केभी अवरुद्ध भएपछि स्थानीय बिजुली प्रयोग

जिल्लाका विभिन्न स्थानमा उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरिएको भए पनि ३३ केभीमा समस्या आएपछि तीन जिल्लाका लागि यहाँ बिजुली प्रयोग गरिएको हो ।

सभाखोलाबाट उत्पादित ४ र हेवाखोलाबाट उत्पादित ३ मेघावाट बिजुली तीन जिल्लामा बालिएको प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख ध्रुव अधिकारीले बताए । सातायता ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि बिजुली अनियमित भएको उनले बताए । ३३ केभी प्रसारणको लाइन काटेर स्थानीय स्तरमा उत्पादन भएको बिजुली संखुवासभा, भोजपुर र तेह्रथुममा बालिरहेका छौं, उनले भने, बर्षातका कारण जताततै समस्या देखिएको छ, मर्मत गर्न गएका समयमा पानी पर्ने भएकाले प्राविधिकलाई समस्या हुँदै आएको छ । यी दुई विद्युत् गृहबाट भनेजति बिजुली उत्पादन नभएपनि ३ जिल्लामा दिइरहेको उनले बताए ।

अन्धकारमा बस्नुभन्दा दैनिक बिहान र बेलुकी १२ घण्टासम्म यो बिजुली सञ्चालन गरिएको छ, उनले भने, ३३ केभी प्रसारण लाइनको समस्या समाधान नभएसम्म यसलाई नै निरन्तरता दिने छौं । केन्द्रीय प्रसारण लाइनको बिजुली धेरै अवरुद्ध भएपछि स्थानीय स्तरमा उत्पादन भएको बिजुली बालिएको हो ।

दिवेश्वरी र हेवाखोला हाइड्रोपावरले उत्पादन गरेको ७ मेघावाटको बिजुली सदरमुकाम खाँदबारी, चैनपुर लगायत भोजपुरको दिङ्ला क्षेत्र र तेह्रथुममा बिजुली बालेको हो । क्षमताभन्दा माग बढी भएकाले बिहान र बेलुकीको समयमा राइस मिल, गृल उद्योग, क्रसर मेसिन बन्द गर्न उनले आग्रह गरेका छन् । बिजुली अनियमित भएपछि स्थानीय रेडियोहरू बन्द भएका थिए । जिल्लामै उत्पादित बिजुलीले बल्न थालेपछि केही राहत मिलेको स्थानीयले बताएका छन् ।

सभा र हेवाको हाइड्रोपावरबाट उत्पादन भएको बिजुलीका २४ सै घण्टा विद्युत् आपूर्ति हुनुपर्ने भए पनि प्राधिकरणले प्रसारण लाइनमा आएको प्रविधिक गडबडी पत्ता लगाउन नसक्दा विद्युत् आपूर्ति अनियमित भएको हो । विद्युत् लाइन कहाँ फल्ट भएको हो ? भनेर पत्ता लगाउन नसक्दा समस्या भएको प्राधिकरण वितरण केन्द्रका प्रमुख अधिकारीले बताए । सीमित कर्मचारी र विद्युत् विस्तार भएको क्षेत्र ठूलो भएकाले समस्या भएको उनले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?