कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धिचरण लोकमार्ग १ महिना बन्द

डिल्लीराम खतिवडा

उदयपुर — माथिल्लो पहाडी क्षेत्र सोलु, ओखलढुंगा र खोटाङलाई तराईसँग जोड्ने सिद्धिचरण लोकमार्ग आइतबारदेखि महिनादिनसम्म बन्द हुने भएको छ ।

सिद्धिचरण लोकमार्ग १ महिना बन्द

लोकमार्गको कटारी/घुर्मी खण्डअन्तर्गत पर्ने ठाँटी भञ्ज्याङमा सडक मर्मत गर्नुपर्ने भएकाले बन्द गरिने भएको हो ।

सवारी आवागमन हुँदा सडक मर्मत गर्न समस्या हुने भएकाले बन्द गर्नु परेको हो । तर लोकर्मागको पूरै भाग भने बन्द हुने छैन । कटारीदेखि गहुँबारीसम्म र घुर्मीदेखि बाँसबारीसम्म आवतजावत गर्न सकिने इलाका प्रशासन कार्यालय कटारीले जनाएको छ । बन्द हुने क्षेत्र ठाँटी भञ्ज्याङको विकल्पमा डाइर्भसन समेत निर्माण गरिएको डिभिजन सडक कार्यालय लाहानले जनाएको छ । गहुँबारी हँुदै मंयखुखोला भएर भदौरो जोडिने डाइर्भसनमा हलुका सवारी साधनमात्रै सञ्चालन हुन सक्ने साइड इन्जिनियर चित्तनारायण यादवले बताए ।

डिभिजन सडक कार्यालय लाहानको अनुरोधका जेठ १३ देखि असार १२ गतेसम्म लोकमार्ग बन्द गर्ने निर्णय गरिएको इलाक प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले बताए । ‘ठाँटी भञ्ज्याङमा सडक मर्मत गर्नु परेकाले १३ जेठदेखि महिना दिन लोकमार्ग बन्द हुन्छ,’ प्रमुख पौडेलले भने, ‘तर कटारीदेखि गहँुबारीसम्म र घुर्मीदेखि भदौरेसम्म सडक खुला रहने छ ।’ लोकमार्गको ठाँटी भञ्ज्याङस्थित सडकको दुवै किनारा पहिरोले लगेको छ । पटकपटक पहिरोले सडक भत्किएपछि अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो । सामान्य मर्मत गरेर सडक सञ्चालन हुँदा ठाँटी भञ्ज्याङमै पटकपटक दुर्घटना भई दर्जनभन्दा बढीको ज्यान समेत गइसकेकाले अहिले आएर ठाँटी भञ्ज्याङ सहित झन्डै डेढ किलोमिटर मर्मत गरेर पक्की सडक बनाउन लागिएको इन्जिनियर यादवले बताए ।

प्रदेश नम्बर १ को पश्चिम उत्तरकोका सोलु, ओखलढुंगा र खोटाङलाई सवारी आवागमन गर्ने यो लोकमार्ग मात्रै हो । यात्रु ओसारपसार गर्न विकल्पमा अन्य सडक भए पनि मालवाहक सवारी साधनका लागि अन्य सडक छैन । त्यसैले पनि सिद्धिचरण लोकमार्गमा सवारी आवागमनको अत्यधिक चाप रहेको डिभिजन सडक कार्यालय लाहानले जनाएको छ ।

‘ठाँटी भञ्ज्याङमा आरसीसी रिजिड पेभमेन्ट (सिमेन्ट ढलान) र दायाँ बायाँ पिच गर्ने कार्य हँुदै छ,’ इन्जिनियर यादवले भने, ‘ढलान र पिच गर्नुपर्ने र निजकबाट डाइर्भसन गर्ने सक्ने स्थान नहँुदा लोकर्माग बन्द गर्नुपरेको हो ।’ लोकमार्ग हँुदा ठूला सवारी साधन भने सञ्चालन हुन सक्दैन तर अहिलेको डाइर्भसनबाट हुलुका सवारी साधन भने सञ्चालन हुने उनले बताए ।

सडक मर्मत गर्न सिराहास्थित विकास निर्माण सेवाले असार १५ भित्रसम्म काम सक्ने गरी ठेक्का लिएको छ । यता महिना दिनसम्म लोकमार्ग बन्द हुँदा व्यापार व्यवसायमा समस्या हुने उदयपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेशचन्द्र श्रेष्ठले वबाए । ‘लोकमार्ग बन्द हँुदा वर्षातको लागिसोलु, ओखलढुंगा र खोटाङमा खाद्यान्न लगायत दैनिकी उपभोग्य वस्तुको ढुवानीमा समस्या हुने भयो,’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘पहाडी क्षेत्रमा वर्षातमा हुने दैवी विपत्तिका लागि अहिले नै खाद्यान्न लगायतका उपभोग्य वस्तु मौज्दात गर्नुपर्ने हो ।’ तर लोकमार्ग बन्द हुँदा समस्या हुने उनले बताए ।

सिद्धिचरण माथिल्लो पहाडी क्षेत्रलाई तराईसँग जोड्ने लोकमार्ग हो । त्यसैगरी पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी महादेव दर्शन गर्न सडकमार्ग हँुदै जाने मुख्य सडक पनि हो । विशेषगरी सडकमार्ग हँुदै भारत र भुटानलगायत मुलुक र स्वादेशकै विभिन्न भागबाट आउने तीर्थयात्री कटारी घुर्मी हँुदै हलेसी जाने गर्छन् ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?