कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राणाकालीन रूख काटेर १६ सय बिरुवा रोपिँदै

रमेशचन्द्र अधिकारी

धनकुटा — राणाकालीन समयमा रोपिएका धनकुटा बजारको सिरानमा रहेको ऐतिहासिक सल्लेरी राष्ट्रिय वनका पुराना रूख कटान गरी साढे १६ सय नयाँ रोपिने भएको छ ।

राणाकालीन रूख काटेर १६ सय बिरुवा रोपिँदै

तत्कालीन बडाहाकिम बमविक्रम राणाले १९३८ सालमा वृक्षरोपण गरेको सल्लेरी वन पछिल्लो समय पर्यटक आकर्षणको थलो समेत बन्दै आएको थियो ।

तर वर्षौं पुराना रूख ढलेर जनधनको क्षति हुने जोखिम बढ्दै गएपछि उक्त वनका रूख कटान गरेर नयाँ वन व्यवस्थापन गर्न लागिएको वन कार्यालय स्रोतले जनाएको छ । सरकारको स्वामित्वमा रहेको ४३ हेक्टर क्षेत्रफलको वनमा करिब १ सय ४० वर्ष पुराना रूख रहेका छन् । त्यहाँ रहेका रूख क्रमागत रूपमा हटाएर गत वर्षदेखि नयाँ वृक्षरोपण थालिएको जिल्ला वन अधिकृत कृष्ण वस्तीले जानकारी दिए ।

यसक्रममा यस वर्ष ४९ वटा रूख कटान गरेर ती स्थानमा नयाँ बिरुवा रोपिने तयारी गरिएको छ । यस्तै नयाँ बिरुवा रोप्ने स्थानबाट कटान गरिएका रूख बिक्रीबाट दुई वर्षको अवधिका करिब ५० लाख रुपैयाँ राजस्व प्राप्त भएको जिल्ला वन अधिकृत वस्तीले बताए । यस वर्ष २१ लाखभन्दा बढी राजस्व प्राप्त भएको छ । गत साल ६९ रूख बिक्रीबाट करिब २८ लाख राजस्व प्राप्त भएको वन कार्यालयले जनाएको छ ।

धनकुटा नगरपालिकाअन्तर्गत ४ र ६ वडामा ४३ दशमलव ७२ हेक्टरमा फैलिएको उक्त वनमा १ सय ४० वर्ष पुराना अधिकांश खोटे सल्लाका रूख रहेका छन् । कोसी राजमार्गअन्तर्गत धनकुटा हिले खण्डमा पर्ने उक्त वनका पुराना रूख ढल्न थालेपछि विशेषगरी यात्रु जोखिममा पर्ने गुनासो बढ्दै गएकाले कटान थालिएको जिल्ला वन अधिकृत वस्तीले जनाए ।

सरकारको स्वामित्वमा रहेको वन हाल जिल्ला वन कार्यालयले व्यवस्थापन गर्दै आएको छ । ‘झट्ट नियाल्दा आकर्षक वन देखिए पनि जोखिम उत्तिकै बढ्दै गएकाले पुराना रूख हटाउन जरुरी छ,’ वन अधिकृत वस्तीले भने, ‘केही वर्षपछि अझ नयाँ व्यवस्थापनमा आकर्षक वनका रूपमा विकास हुनेछ ।’ ४० वर्षे वन व्यवस्थापन कार्य योजना बनाएर रूख काट्न थालिएको उनले बताए । बालीचक्रीय प्रणाली कार्ययोजना अन्तर्गत हरेक १० वर्षमा चार भागका वन व्यवस्थापन गरिनेछ । वन व्यवस्थापन गर्ने योजनाअनुरूप चालु आर्थिक वर्षमा दोस्रो खण्डको रूख काटिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रामबाबु यादवले जनाए ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?