कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनर्निर्माणका लागि गाउँ पुगेनन् इन्जिनियर

डम्बरसिं राई

खोटाङ — भूकम्पछि पुनर्निर्माणमा कतिपय गाउँ निकै अघि बढेका बेला खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म इन्जिनियर पुगेका छैनन् । जिल्लाका अन्य स्थानीय तहमा दोस्रो किस्ता बापतको रकम वितरण गर्न थालिसक्दा पनि बराहपोखरी र ऐसेलुखर्क गाउँपालिका भने ओझेलमा परेको हो । 

पुनर्निर्माणका लागि गाउँ पुगेनन् इन्जिनियर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई महिनाअघि इन्जिनियर खटाए पनि विभिन्न बहाना देखाएर आउन नमानेको गाउँपालिका प्रमुखहरूको भनाइ छ । ‘इन्जिनियर नआएपछि भूकम्पपीडितसँगै हामी पनि अन्योलमा परेका छौं,’ ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले भने, ‘इन्जिनियरको लापरवाहीप्रति सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।’ प्राधिकरणले पठाएका इन्जिनियर आएर प्रमाणीकरण गरेका अन्य स्थानीय तहका लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझ्न सुरु गरेका छन् । पहिलो किस्ता बुझेका जिल्लाका आठ हजार एक सय ७३ लाभग्राहीमध्ये अहिलेसम्म ७९ लाभग्राहीले दोस्रो किस्ता बापत एक लाख ५० हजारका दरले अनुदान बुझेका हुन् ।

पहिलो किस्ता बुझेका भूकम्पपीडितले उक्त रकम बराबरको काम सम्पन्न गरेको लामो समयपछि मात्र दोस्रो किस्ता पाएका छन् । प्राधिकरणले बेलामा दोस्रो किस्ता नपठाएपछि कतिपय भूकम्पपीडितले आफ्नै खर्चमा घर बनाइरहेका छन् । आठ हजार चार सय ४३ लाभग्राही रहेको खोटाङका कतिपयले डीपीसी गरेर दोस्रो किस्ताको प्रतीक्षा गरिरहेका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिकासहित दस स्थानीय तह रहेको जिल्लामा पहिलो किस्ता बुझेर पनि घर निर्माण सुरु नै नगर्ने पनि छन् । भूकम्पपीडितले पहिलो किस्ता लिएर घर ठड्याउन थाले पनि दोस्रो किस्ता नपाउँदा निर्माणाधीन अधिकांश आवास बीचमै अलपत्र परेका छन् ।

अधिकतम भूकम्पपीडितले डीपीसीको काम पूरा गरिसके पनि दोस्रो किस्ता नपाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका तेजनाथ ढकालले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?