कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

सुक्खा पहिरो झरेपछि रातभर जाग्राम

दीपेन्द्र शाक्य

संखुवासभा — शिलिचोङ गाउँपालिका ३, ताम्कुको साप्तेलका अगमबहादुर राई रातभर जाग्राम बसेको एक महिना भयो । गत मंसिर ३ गते दिउँसो साप्तेल टोलमा सुक्खा पहिरो गएपछि उनी त्रसित छन् ।उनी मात्र होइन, टोलमा भएका १७ घरपरिवारको दैनिकी यसरी बित्ने गरेको छ ।

सुक्खा पहिरो झरेपछि रातभर जाग्राम

साप्तेललाई तानिँदै शंखुवाखोला समेत केही समय थुनिनेगरी झरेको पहिरो अझै रोकिएको छैन । ‘दिनहुँजसो माथिबाट ढुंगा र माटोको ढिस्को झरिरहन्छ,’ उनले भने, ‘पानी परेको समयमा झन् ठूलो मात्रामा माटो र ढुंगा खस्ने गरेको छ ।’

दिनदिनै पानी परिरहेकाले त्रसित हुनु परेको उनले सुनाए । ‘१७ परिवार एकैठाँउमा जाग्राम बस्छांै । जब सिमसिम पानी पर्न थाल्छ अनि सुक्खा पहिरो हेर्न थाल्छौं,’ उनले भने, ‘यहाँका बासिन्दाको मुटुमा ढ्याङ्ग्रो बज्न थाल्छ र त्रास फैलिन्छ ।’ पहिरोले गाउँलाई तान्न थालेको छ । यसै पनि वर्षांैदेखि पहिरोको जोखिममा बाँचिरहेका हामी अहिले जोखिम बढेको छ । रातको समयमा धेरै डर हुने उनले सुनाए । ‘अब झन बर्खा लाग्यो पानी परिरहन्छ, कुन दिन बगाउने हो टुंगो छैन,’ उनले भने, ‘सबै थोक यहीं छ चटक्क गाउँ छाडेर हिँड्ने अवस्था छैन । घरमा पालेका र लालाबालासहित बसाइँ सर्ने पिरलो छ ।’ गाउँपालिकाले वैकल्पिक व्यवस्था गरिदिनुपर्ने स्थानीयको माग छ ।

सिलिचोङ गाउँपालिका विकट मानिन्छ । यहाँ कुलुङ राईको बाहुल्यता छ । यहाँ सय मिटरमाथिबाट पहिरो खसेको छ । कतै सुरक्षित स्थानमा सर्न पाए आफ्नो ज्यान बचाउन सकिने स्थानीय भक्त कुलुङ बताउँछन् । दशकअघि छिमेकी गाउँ सिकिदिममा पहिरो गएको सम्झँदै उनले भने, ‘त्यस्तो अवस्था नआओस् ।’ सिकिदिममा पहिरो जाँदा १२ जनाको मृत्यु भएको थियो ।

सुक्खा पहिरो खसेपछि वडा सदस्य मणिकुमार कुलुङले प्रहरीको सहयोगमा घटनास्थलको अध्ययन गरेको जनाए । मुचुल्का तयार गरी जिल्ला प्रहरी र जिल्ला विपत् व्यवस्थापन समितिलाई प्रतिवेदन पनि बुझाइसकिएको छ । गाउँपालिका प्रमुख रामबहादुर कुलुङले पनि घटनास्थलको स्थलगत अनुगमन गरेका छन् । उनले सकेसम्म यहाँका बासिन्दालाई स्थानान्तरण गर्ने प्रतिबद्धता जनाए । केही दिनमा घुम्ती सेवासहित सिलिचोङ गएर स्थलगत अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ २९, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?