कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलैंचीको बजार खोज्न सरकारसँग भट्टराईको आग्रह

आनन्द गौतम

ताप्लेजुङ — प्रतिनिधिसभा सदस्य योगश भट्टराईले नेपालमा उत्पादित अलैंचीको बजार खोज्न सरकारलाई आग्रह गरेका छन् । बुधबार संसद्‍ बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यो विषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने माग गरेका हुन् । 

अलैंचीको बजार खोज्न सरकारसँग भट्टराईको आग्रह

ताप्लेजुङ लगायत देशका ४७ जिल्लामा उत्पादित अलैंचीको उत्पादन र मूल्य घटिरहेका बेला यसमा सरकार गम्भीर हुनुपर्ने भट्टराईको माग छ । तथ्यांकसहित प्रस्तुत भएका भट्टराईले बंगलादेशलाई नेपालको अलैंची निर्यातमा भन्सार छुटका लागि पहल गर्न आग्रह गरे । १ सय ८ वटा वस्तुमा भन्सार छुट दिइरहेको बंगलादेशले अलैंचीमा पनि छुट दिए नेपाली किसानलाई राहत हुने उनको दाबी छ ।


प्रतिमन (४० किलो) १ लाख २० हजारसम्म पुगेको मूल्य ३० हजारमा झरेको, सन् २००७ मा १० हजार टन भएको अलैंची गतवर्ष ५ हजार ५ सयमात्रै उत्पादन भएको नेपालमा एक प्रतिशत मात्रै खपत हुने बाँकी शत् प्रतिशत भारत निर्यात हुने यसमा एक लाख किसान सहभागी रहेको उल्लेख गरिएको छ ।


नेपालको वैदेशिक व्यापार घाटा डरलाग्दो अवस्थामा रहेकाले त्यसलाई सन्तुलन गर्न अलैंची माध्यम बन्न सक्नेमा भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन् । १० अर्ब बराबरको अलैंची १४ हजार ८ सय ७५ हेक्टरमा लगाइएको छ । यसको प्रवर्द्धनका लागि अलैंची विकास बोर्ड गठन गर्न र ५० प्रतिशत उत्पादन गर्ने ताप्लेजुङलाई ‘अलैंची सुपर जोन’ घोषणा गर्न पनि भट्टराईले माग गरेका छन् ।


नेपालको अलैंचीबाट अहिलेसम्म भारतीय ब्यापारीले मात्रै अधिक लाभ लिएको दाबी भट्टराईको छ । चीन हुँदै खाडी राष्ट्र पुर्‍याउन सके नेपाली किसानले राम्रो मूल्य पाउने दाबी उनको छ । नेपाल, भारत र भुटानमा उत्पादन हुने अलैंची भारतबाट पाकिस्तान र खाडी राष्ट्र निर्यात हुने गरेको छ । १० बुँदे लिखित प्रस्ताव पढेका भट्टराईलाई सभामुखले ३ मिनेट समय दिएका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?