षडानन्द सीताराम गुठी संरक्षणविहीन
दिङ्ला (भोजपुर) — ऐतिहासिक महत्त्व बोकेको षडानन्द सीताराम गुठीभित्र बनेका अधिकांश संरचना संरक्षण अभावमा अस्तव्यस्त बनेका छन् ।
आवाल ब्रह्मचारी षडानन्द अधिकारीले करिब डेढ सय वर्षअघि स्थापना गरेको गुठीभित्रका संरचना मासेर व्यक्तिगत घर बनाइएका छन् । अतिक्रमण बढ्दै गएपछि यो ऐतिहासिकस्थल संकटमा पर्दै गएको छ ।
गुठीको १८ सय रोपनीमध्ये करिब ७ बढी रोपनी जग्गाको अवस्था अन्योलमा रहे पनि सम्बन्धित निकायको उचित चासो जान नसकेको स्थानीयले गुनासो पोखे । विसं १९३२ सालमा स्थापना गरिएको षडानन्द संस्कृति विद्यालय सञ्चालनका लागि अधिकारीले १८ सय रोपनी जग्गा गुठीको रूपमा व्यावस्थापन गरेका थिए । दिङ्लास्थित केउरेनीपानी, मुलपानी र तुंगेछा क्षेत्रमा अधिकांश गुठीका जग्गा रहेका छन् । हाल मालपोतको स्रेस्तामा भने ११ सय ७५ रोपनी जग्गा मात्र गुठीको नाममा रहेको षडानन्द सीताराम गुठी सञ्चालन तदर्थ समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।
स्रेस्तामा खुलेका बाहेक अन्य जग्गा खोजि कार्य गरिने उनले जनाए । अघिल्ला समितिले गुठीको स्रोत पारदर्शी नगरी अन्योलमा पारेको उनको भनाइ छ । तीन वर्षदेखि गुठी समितिको नवीकरण तथा लेखा परीक्षणसमेत भएको छैन । हालको तदर्थ समितिले असार २८ भित्र कार्यसमितिको निर्माण गरिसक्नु पर्ने जिम्मेवारी भए पनि अघिल्लो समितिबाट नवीकरण र लेखा परीक्षण प्रक्रिया नगरिदिँदा समस्या रहेको पौडेलले बताए ।
अवस्था अन्योलग्रस्त रहेको गुठीका प्रमुख संरक्षक तथा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले स्वीकार गरिन् । ‘गुठीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सोचमा लागेकी छु, उनले भनिन्, ‘तत्काल मालपोत र नापीमा गुठी जग्गाबारे लगत संकलन गरेर अगाडी बढ्ने योजनामा छौं ।’
द्वन्द्वकालीन अवस्थामा तत्कालीन विद्रोही पक्षले गुठीबाट प्राप्त हुने अन्न खासगरी धानलाई त्रिभागी भन्दै असुल गर्न थालेपछि गुठी अव्यवस्थित बन्दै गएको उक्त गुठीका निवर्तमान अध्यक्ष किशोर किरातीको भनाइ छ ।
तीन भागको एक भाग तत्कालीन माओवादी र दुई भाग किसानले लिने गरेपछि गुठीभित्रका संरचना संरक्षणका लागि बजेट नहुँदा संकट निम्तिँदै गएको उनको तर्क छ । ‘गुठीको अवस्था दिनानुदिन खस्कँदै जानुमा आर्थिक व्यवस्थापन उपयुक्त ढंगले हुन नसक्नु प्रमुख हो,’ उनले भने, ‘समितिमा रहेकालाई राजनीतिक रंगले हेर्दै असफल पार्ने षड्यन्त्रमा जिम्मेवार पक्ष नै लागेकाले पनि समस्या पर्दै गएको हो ।’
षडानन्द अधिकारीले दिङ्ला बजार आसपासमा नर्मदेश्वर शिवालय, रामचन्द्र मन्दिर, सीता कुण्ड, हनुमान पोखरीलगायत १०८ विभिन्न प्रजातिका वनस्पति रहेको बगैंचा निर्माण गरेका थिए । तर ऐतिहासिक महत्व बोकेका ती कुण्ड तथा मन्दिरको उचित संरक्षण छैन । सीता कुण्ड, हनुमान पोखरी त कुरूप अवस्थामा नियाल्न सकिन्छ । ती स्थानमा हाल व्यक्तिगत घर निर्माण गरिएपछि ऐतिहासिक स्थलको अस्तित्व संकटमा परेको छ ।एकातर्फ गुठी अतिक्रमण गर्दै व्यक्तिगत घर बन्ने र अर्कोतर्फ पुरातात्त्विक महत्त्वको वस्तु तथा मोठमन्दिर संरक्षण नगरिँदा आफूहरू चिन्तित बनेको स्थानीयवासी तथा रामचन्द्र मन्दिरका पूजारी तोयानाथ गौतमले भावुक बन्दै आँसु खसाले ।
प्रकाशित : जेष्ठ ३१, २०७५ ०९:२४