भएन समयमा काम

ठेकेदारको लापरबाही
दीपेन्द्र शाक्य

संखुवासभा — प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमलाई टुटेदेउरालीबाट मुढेसम्मको दस किलोमिटर कालोपत्रे सडकमा यात्रा गर्न दुई घण्टा लाग्यो । काठमाडौंबाट तुम्लिङटारको उडान अवरुद्ध भएपछि विराटनगर हुँदै गौतम टुटेदेउराली आएका थिए ।

कालोपत्रे सडक हिलाम्मे भएपछि गाडी भासिएको उनले बताए । ठेकेदारले समयमै काम नगर्दा सबैले दुख पाउनु परिरहेको उनले बताए । सदरमुकाम खाँदबारी आएपछि सडकको विषयमा उनले ठेकेदार र प्रशासनबीच छलफल समेत राखे । काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया अघि बढाउन उनले प्रजिअलाई निर्देशन पनि दिए ।

यो वा त्यो बहानामा विकास निर्माण अवरोध गर्ने ठेकेदारलाई छाड्नेवाला छैनौ, उनले भने, ‘कामको गति अघि बढेन, असारमसान्तसम्मको गतिविधिका बारेमा साउन पहिलो साता छलफल गर्ने छांै, उनले भने, ‘सबै ठेकेदार कम्पनीलाई प्रगति बिवरण लिएर आउन भनेका छौं । त्यो बेला पनि कामको गति नभएको पाईए हदैसम्मको कारवाही हुनेछ, उनले भने, ‘जिम्मेवारी लिएपछि काम समयमै सम्पन्न हुनुपर्छ, ठेकेदारको लापरबाहीले सर्वसाधारणले दु:ख र कष्ट पाउनुभएन ।

धर्मदेवी नगरपालिकाको तामाफोकमा पर्ने टुटे देउरालीबाट मुढेबजारसम्मको १० किलोमिटर सडकमा यात्रुले सास्ती खेपिरहेका छन् । यो सडक ७ वर्षअघि कालोपत्रे गरिएको थियो । त्यस यता तुम्लिङटार सडक डिभिजन कार्यालयले पटकपटक मर्मतसंभार गरे पनि झाराटार्ने काम मात्रै भएको उनले आरोप लगाए ।

७ वर्षअघि सडक कालोपत्रे हुँदा खुसी थियौं, अहिले गाडी चढ्न पाएका छैनांै, सबैतिर हिलैहिलो छ, धर्मदेवी नगरपालिकाका प्रमुख रमेश जिमीले भने, ‘ठेकेदारको कमीकमजोरीले सबैले दु:ख पाएको छ । कालोपत्रे भएको ७ वर्ष नबित्दै हिलाम्मे सडकमा परिणत भएपछि १० किमि आवतजावत गर्न घण्टौं लाग्ने गरेको गुनासो गरे । सडक राम्रो हुँदा पहिले १५ मिनेट लाग्थ्यो, अहिले पुरै २ घण्टासम्म लाग्छ उनले भने, ‘टुटेदेउरालीसम्म पुग्न कम्तीमा २० ठाउँ उत्रिनुपर्छ, सामान हराउने व्यथा पनि त्यतिकै छ । सडकमा गरिएको कालोपत्रे असिना र पानीले बगाएपछि सडक पुरानै अवस्थामा फर्केको हो ।

सडक मर्मत गर्न तुम्लिङटार सडक डिभिजन कार्यालय, धनकुटा सडक डिभिजनमा मात्रै नभई मन्त्रालयसम्म पुग्दा पनि सुनुवाई नभएको स्थानीय देवराज सुबेदीले गुनासो गरे । कालोपत्रे सडक हिलाम्मे हुँदा यात्रुलेमात्रै दुख र सास्ती भोगेका छैनन् । हिलो पनि ५ फिटसम्म गहिरो छ, जताततै गाडी भासिन्छ, उनले भने, ‘मिलेर ठेल्छौं र निकाल्छौं । सुरक्षामा खटिएका सुरक्षाकर्मीको दिनचर्या पनि फेरिएको छ ।

सुरक्षाका लागि खटिएका प्रहरीको काम यतिखेर सडकमा भासिएका सवारीसाधन ठेल्ने र निकालेर सदरमुकाम खाँदबारीसम्म पठाउने भएको छ । २ वटा प्रहरी चौकीमा रहेका दुई दर्जनमध्ये २० जना प्रहरीको दिनचर्या २ महिनायता फेरिएको छ ।टुटेदेउरालीबाट मुढेसम्मको कालोपत्रे सडक हिलाम्मे भएपछि २० ठाउँभन्दा बढी स्थानमा सवारीसाधन फस्छ । सवारीसाधन फस्नासाथ प्रहरीलाई यात्रुले खबर गर्छन् र मद्दत लिन्छन् । सुनसरीको धरानबाट मुढे, चैनपुर हुँदै खाँदबारीसम्म दैनिक ११ वटा यात्रुबाहक बस आउँछ भने यी बजारका लागि दैनिक उपभोग्य सामग्री दिएर १ सय बढी ट्रक, ट्याक्टर र साना सवारीसाधन गुड्छन् ।

जिल्ला प्रहरीका डीएसपी श्यामकुमार सारुमगरका अनुसार प्रहरी चौकीमा आउने सेवाग्राहीका लागि २ जना कार्यालय बस्छन्, अरु सबै सवारीसाधन ठेल्न र निकाल्न जान्छन् । शान्ति सुरक्षा र अपराध नियन्त्रण बाहेक सवारी आवागमनलाई सूचारु गर्न पनि गाडी ठेल्नै पर्छ, उनले भने, ‘सडकको अवस्था एकदमै खत्तम छ । एक ठाउँ मात्रै बिग्रिएको छैन, उनले भने, ‘प्रहरी गाडी फसेको स्थानमा डोरी, झ्याम्पल र गैंती बोकेर हिंड्छ । कालोपत्रे एकै ठाउँ पनि देखिंदैन, टुटेबाट मुढेसम्मको सडक खण्ड पुरै हिलाम्मे छ, उनले भने, ‘लगातारको झरीले साह्रै समस्या पारेको छ, यात्रु भनेको समयमा गन्तव्यमा पुग्दैनन् ।’

यो सडक खण्डमा ५ फुट गहिरो हिलोमा गाडी भासिएपछि प्रहरीसँग सहकार्य गरेर बस व्यवसायी झम्पल, कोदालो र फरुवाको सहायताले यात्रीको सहयोग लिंदै धरानबाट चैनपुर आइपुग्ने गरेका छन् । त्यसबाहेक खाँदबारी, चेवा, धुपु, शीत्तलपाटी, हेलुवाबेसी, बाह्रबिसे, बाना सडक खण्डमा पनि प्रहरीको दायित्व थपिएको छ ।

Yamaha

प्रकाशित : जेष्ठ ३१, २०७५ ०९:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

षडानन्द सीताराम गुठी संरक्षणविहीन

रमेशचन्द्र अधिकारी

दिङ्ला (भोजपुर) — ऐतिहासिक महत्त्व बोकेको षडानन्द सीताराम गुठीभित्र बनेका अधिकांश संरचना संरक्षण अभावमा अस्तव्यस्त बनेका छन् ।

आवाल ब्रह्मचारी षडानन्द अधिकारीले करिब डेढ सय वर्षअघि स्थापना गरेको गुठीभित्रका संरचना मासेर व्यक्तिगत घर बनाइएका छन् । अतिक्रमण बढ्दै गएपछि यो ऐतिहासिकस्थल संकटमा पर्दै गएको छ ।

गुठीको १८ सय रोपनीमध्ये करिब ७ बढी रोपनी जग्गाको अवस्था अन्योलमा रहे पनि सम्बन्धित निकायको उचित चासो जान नसकेको स्थानीयले गुनासो पोखे । विसं १९३२ सालमा स्थापना गरिएको षडानन्द संस्कृति विद्यालय सञ्चालनका लागि अधिकारीले १८ सय रोपनी जग्गा गुठीको रूपमा व्यावस्थापन गरेका थिए । दिङ्लास्थित केउरेनीपानी, मुलपानी र तुंगेछा क्षेत्रमा अधिकांश गुठीका जग्गा रहेका छन् । हाल मालपोतको स्रेस्तामा भने ११ सय ७५ रोपनी जग्गा मात्र गुठीको नाममा रहेको षडानन्द सीताराम गुठी सञ्चालन तदर्थ समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।

स्रेस्तामा खुलेका बाहेक अन्य जग्गा खोजि कार्य गरिने उनले जनाए । अघिल्ला समितिले गुठीको स्रोत पारदर्शी नगरी अन्योलमा पारेको उनको भनाइ छ । तीन वर्षदेखि गुठी समितिको नवीकरण तथा लेखा परीक्षणसमेत भएको छैन । हालको तदर्थ समितिले असार २८ भित्र कार्यसमितिको निर्माण गरिसक्नु पर्ने जिम्मेवारी भए पनि अघिल्लो समितिबाट नवीकरण र लेखा परीक्षण प्रक्रिया नगरिदिँदा समस्या रहेको पौडेलले बताए ।

अवस्था अन्योलग्रस्त रहेको गुठीका प्रमुख संरक्षक तथा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले स्वीकार गरिन् । ‘गुठीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सोचमा लागेकी छु, उनले भनिन्, ‘तत्काल मालपोत र नापीमा गुठी जग्गाबारे लगत संकलन गरेर अगाडी बढ्ने योजनामा छौं ।’

द्वन्द्वकालीन अवस्थामा तत्कालीन विद्रोही पक्षले गुठीबाट प्राप्त हुने अन्न खासगरी धानलाई त्रिभागी भन्दै असुल गर्न थालेपछि गुठी अव्यवस्थित बन्दै गएको उक्त गुठीका निवर्तमान अध्यक्ष किशोर किरातीको भनाइ छ ।

तीन भागको एक भाग तत्कालीन माओवादी र दुई भाग किसानले लिने गरेपछि गुठीभित्रका संरचना संरक्षणका लागि बजेट नहुँदा संकट निम्तिँदै गएको उनको तर्क छ । ‘गुठीको अवस्था दिनानुदिन खस्कँदै जानुमा आर्थिक व्यवस्थापन उपयुक्त ढंगले हुन नसक्नु प्रमुख हो,’ उनले भने, ‘समितिमा रहेकालाई राजनीतिक रंगले हेर्दै असफल पार्ने षड्यन्त्रमा जिम्मेवार पक्ष नै लागेकाले पनि समस्या पर्दै गएको हो ।’

षडानन्द अधिकारीले दिङ्ला बजार आसपासमा नर्मदेश्वर शिवालय, रामचन्द्र मन्दिर, सीता कुण्ड, हनुमान पोखरीलगायत १०८ विभिन्न प्रजातिका वनस्पति रहेको बगैंचा निर्माण गरेका थिए । तर ऐतिहासिक महत्व बोकेका ती कुण्ड तथा मन्दिरको उचित संरक्षण छैन । सीता कुण्ड, हनुमान पोखरी त कुरूप अवस्थामा नियाल्न सकिन्छ । ती स्थानमा हाल व्यक्तिगत घर निर्माण गरिएपछि ऐतिहासिक स्थलको अस्तित्व संकटमा परेको छ ।एकातर्फ गुठी अतिक्रमण गर्दै व्यक्तिगत घर बन्ने र अर्कोतर्फ पुरातात्त्विक महत्त्वको वस्तु तथा मोठमन्दिर संरक्षण नगरिँदा आफूहरू चिन्तित बनेको स्थानीयवासी तथा रामचन्द्र मन्दिरका पूजारी तोयानाथ गौतमले भावुक बन्दै आँसु खसाले ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०९:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT