कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छलफल सकियो

विराटनगर — प्रदेशसभा बैठकमा प्रस्तुत आर्थिक वर्ष ०७५/७६ को बजेट माथिको छलफल सकिएको छ । छलफलमा भाग लिएका सत्तापक्षका सदस्यले बजेट राम्रो रहेको दाबी गरे भने प्रतिपक्षी दलका सदस्यले कार्यान्वयन चुनौतीपूर्ण भएको तर्क अघि सारे ।

छलफल सकियो

प्रमुख विपक्षी कांग्रेसका सदस्य सूयर्माराज राईले कानुन अभाव, बजेट खर्च गर्ने समयन्त्रको अभावमा बजेट कार्यान्यमा शंका व्यक्त गरे । उनले राजस्वका स्रोत र दायरा स्पष्ट नहुनु र कानुनसमेत नबन्नुले के हुन्छ भन्ने स्पष्ट किटान गर्न नसकिने बताए । कांग्रेसकै शिवनारायण सिंह गनगाईले कृषिलाई प्राथमिकता दिइएको घोषणा गरेपनि रकम बाँडफाँड त्यस्तो नदेखिएको बताए ।

अर्की सदस्य कांग्रेसकै सञ्जाकुमारी दनुवारले संविधानले मौलिक हकका रूपमा प्रतिविम्बित गरेका धेरै विषयलाई बजेटले समेट्न नसक्नु त्रुटिपूर्ण भएको बताइन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेले बजेटले धेरै कार्यक्रम गर्न खोजेजस्तो देखिए पनि धेरै क्षेत्रहरू छुटेको बताइन् । राप्रपाकी इन्दिरा राईले बजेट सुन्दा र पढ्दा निकै राम्रो जस्तो देखिए पनि बाटो प्रस्ट नभएको दाबी गरिन् ।

सत्तापक्ष नेकपाका लक्ष्मण तिवारीले बजेटले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य आदि धेरै विषय समेट्दै निकै उत्कृष्ट रूपमा आएको बताए । उनले प्रदेशका १४ जिल्लाका १३७ स्थानीय तहलाई बजेटले समेट्न सफल भएको दाबी गरे । अर्का सदस्य विमल कार्कीले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट आएको चर्चा गर्दै यसले प्रदेश १ को विकासको खाका कोर्ने दाबी गरे ।

सदस्य सर्वध्वज साँवाले बजेटले उल्लेख गरेका कार्यक्रमहरू सपनाका रूपमा चित्रण गरेका थिए । बजेटमाथि उठेका जिज्ञासाको जवाफ दिँदै आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले रचनात्मक सुझावलाई समेटै बजेट कार्यान्वयनमा जाने र यसमा शंका नगर्न आग्रह गरे ।

प्रकाशित : असार ४, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?