कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमकको बजेट १ अर्ब २३ करोड

दमक — दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि १ अर्ब २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपैयाँको बजेट निर्धारण गरेको छ । यो बजेट चालु वर्षको भन्दा ७ करोडले कम हो ।

दमकको बजेट १ अर्ब २३ करोड

चालु वर्षका लागि नगरपालिकाको पहिलो नगरसभाले एक अर्ब २९ करोड ४३ लाख २ हजार ४ सय ८७ रुपैयाँको बजेट पारित गरेको थियो । उक्त बजेट ३९ करोडले घाटामा गएपछि नगरपालिकाले आगामी वर्षका लागि घटाएको हो । नगरका अनुसार चालु वर्षको बजेटमा केन्द्र सरकारबाट ६९ करोड ३९ लाख र प्रदेश सरकारबाट १४ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएकोमा त्यसअनुसार प्राप्त नभएपछि ३९ करोडले घाटामा गएको थियो । उक्त घाटालाई आगामी बजेटको दायित्वअन्तर्गत राखिएको छ ।

शनिबार बसेको तेस्रो नगरसभामा मेयर रोमनाथ ओलीले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, बजेट सिलिङ र नगरपालिकाको आन्तरिक आयको प्रक्षेपणका आधारमा आगामी वर्षको बजेट निर्धारण गरिएको बताए ।

आगामी वर्षका लागि आन्तरिक राजस्वबाट १५ करोड ६४ लाख ८६ हजार, राजस्व बाँडफाँडबाट १० करोड १० लाख ८१ हजार एक सय, बेरुजु असुलीबाट १८ लाख ८ हजार १५ रुपैयाँ, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानका लागि २१ करोड ३१ लाख १४ हजार, सशर्त अनुदानबाट २८ करोड ३२ लाख, सामाजिक सुरक्षा भत्ता ११ करोड, सडक बोर्ड नेपालबाट एक करोड, अन्य विशेष अनुदान ३ करोड ४० लाख, लागत सहभागीताबाट ७ करोड, वित्तीय व्यवस्थापनअन्तर्गत नगर विकास कोषबाट ऋण १५ करोड र गत वर्षको मौज्दात १० करोड रहेको नगरसभामा बजेट सार्वजनिक गर्दै उपप्रमुख गीता अधिकारीले बताइन् ।

खर्चतर्फ प्रशासनिक ७ करोड ९६ लाख ८४ हजार, सामाजिक सुरक्षा कार्यक्रम १२ करोड ५ लाख, कार्यक्रम खर्च ३४ करोड १९ लाख ५२ हजार र विकास खर्च ६८ करोड १९ लाख ५३ हजार १ सय १५ रहेको उनले जानकारी दिइन् । सभामा नगरप्रमुख ओलीले बजेटमा प्रदेश सरकारबाट निर्धारण गरिने ससर्त एवं अन्य अनुदानको रकम यकिन नभएकाले समावेश नगरिएको जनाए ।

निर्धारित बजेट सीमाभित्र रहेर जनसंख्यालाई ५० प्रतिशत, क्षेत्रफललाई ३५ प्रतिशत र गरिबीको अवस्थालाई १५ प्रतिशत अंकभार दिई प्रत्येक वडागत सिलिङ तयार गरिएको उनको भनाइ छ । त्यसरी तयार गरिएको बजेट सिलिङका आधारमा टोल बस्तीमै योजना छनोट गरी वडा समितिहरूबाट प्राथमिकीकरण गरी योजना र कार्यक्रमहरू तर्जुमा गर्ने प्रयास गरिएको पनि ओलीले बताए ।

त्यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिकाले पनि आइतबार आगामी आवका लागि ७९ करोड ११ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख धनमाया तामाङले बजेट बजेटमा आयतर्फ आन्तरिक आयबाट ७ करोड ८५ लाख, राजस्व बाँडफाँडबाट १३ करोड ३७ लाख ५६ हजार, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १९ करोड ४१ लख, सशर्त अनुदान २२ करोड ११ लाख, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ४६ लाख ३७ हजार र सामाजिक सुरक्षा भत्ता १५ करोड ९० लाख ३४ हजार रहेको उनले बताइन् । नगरप्रमुख शिवप्रसाद ढकालले आगामी आवमा आर्थिक, सामाजिक, पूर्वाधार, कृषि, उद्योग, वातावरणीय दृष्टिकोणले सुन्दरहरैंचालाई ‘विकासको बगैंचा’ बनाइने बताए ।

प्रकाशित : असार ११, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?