२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

छात्रवृत्ति कार्यविधिको विरोध

सुनसरी — चिकित्सा विद्यार्थीका लागि सरकारले तयार गरेको छात्रवृत्ति व्यबस्थापन तथा परिचालन कार्यविधिको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले विरोध गरेको छ ।

छात्रवृत्ति कार्यविधिको विरोध

सोसाइटीमा आवद्ध चिकित्सकहरूले मंगलबारदेखि सम्पूर्ण एकेडेमिक प्रोगाम बहिस्कार गरेका छन् । सोसाइटीले बुधबारदेखि अस्पतालको आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा पनि बहिस्कार गर्ने चेतावनी दिएका छन् । चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि पूर्वको रिफरल सेन्टर वीपी प्रतिष्ठानमा उपचारका लागि आएका दुई हजार विरामीहरूको उपचार सेवा पनि प्रभावित भएको थियो ।


सरकारले ल्याउन लागेको कार्यविधिमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले कुनै पनि अस्पतालमा पाँच वर्ष सेवा दिनुपर्ने प्रावधान राखिएको छ । उनीहरूलाई नवौं तहको मान्यता दिए पनि कुनै पनि निजी मेडिकल कलेजमा अध्ययन गरेर आएका आठौं तहका चिकित्सक मातहत रहेर सेवा दिनुपर्ने भएकाले सोसाइटीले सच्याउन माग गरेको छ ।


सोसाइटीले सरकारले चिकित्सा क्षेत्र सुधार्न ऐन ल्याउनुपर्नेमा छात्रवृत्तिमा अध्ययन गर्ने सरोकारवाला चिकित्सा शास्त्रका विद्यार्थीहरूसँग छलफल नै नगरी छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि ल्याउन लागिएकोमा आपत्ति जनाएको हो ।


सोसाइटीले स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गर्दै लेखेको पत्रमा भनिएको छ, ‘चिकित्साशास्त्रमा एमडी/एमएस, एमडिएस, डिएम/एमसिएच केवल अध्ययनमात्र नभइ शिक्षण अस्पतालमा गरिने ३ बर्षे सेवा पनि हो । तसर्थ यस तीन बर्षे अवधिलाई पनि यस कार्यविधिमा उल्लेखित पाच बर्षे सेवा अवधिमा गणना गरियोस् ।’ सोसाइटीले अनिवार्य सेवा दुइ बर्षको बनाउन पनि माग गरेको छ ।


सरकारले ल्याउन लागेको विभेदकारी कार्यविधिलाई सच्याउन माग गर्दै सोसाइटीले कुनै पनि अस्पताल वा प्रतिष्ठानमा कार्यरत स्थायी चिकित्सक सरह सेवा सुविधा कार्यविधिमार्फत परिचालित हुने चिकित्सकहरूका लागि तोकिनुपर्ने पनि माग गरिएको छ ।


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल महाराजगन्ज, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत सञ्चालित वीर अस्पताल लगायत मुलुकभरका प्रतिष्ठान र अस्पतालमा छात्रवृत्तिमा एमडी/एमएस, एमडिएस, डिएम/एमसिएच गरेर काम गरिरहेका चिकित्सकहरू करिव हजार जनाको संख्यामा छन् ।

प्रकाशित : असार १३, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?