कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमा लाग्ने हाट व्यवस्थित पारिने

मोरङ — प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकाका सडकमा लाग्दै आएको साप्ताहिक हटियालाई व्यवस्थित गरिने भएको छ । मुल सडकदेखि सहायक सडकहरूमा सहर स्थापना भएदेखि लाग्दै आएका २६ वटा साप्ताहिक हटियालाई अन्यत्र सारेर व्यवस्थित पारिने भएको हो ।

सडकमा लाग्ने हाट व्यवस्थित पारिने

सम्बन्धित वडा अध्यक्षहरूसँगको संयोजनमा सुरक्षित स्थानमा व्यवस्थित गर्ने निर्णय भएको महानगर प्रमुख भीम पराजुलीले बताए । ‘प्रदेश राजधानी भएको सहर विराटनगरको सडकमा लाग्दै आएको हटियाले ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्नुका साथै सडक जाम हुने समस्या दिन प्रतिदिन बढ्दै गएकोले यसको व्यवस्थापन गर्ने निर्णय लिएका छौं,’ उनले भने ।

‘प्रत्येक वडामा कम्तिमा एक ठाउँमा साप्ताहिक हटिया लगाउने नीति बनाइने उनले बताए ।प्रमुख पराजुलीले महानगरस्थित सिंघिया खोलापारी बन्दै गरेको तरकारी तथा फलफूल थोक बजार पनि केही समयपछि व्यवस्थित रुपमा सञ्चालन हुने भएकोले महानगरभित्रको साप्ताहिक हटिया व्यवस्थापन आवश्यक भएकोले व्यवस्थित गर्ने निर्णय गर्न बाध्य भएको बताए ।

सडकमा नै लाग्दै आएको हटियाले महानगरको सौन्दर्यलाई कुरुप बनाउनुका साथै यहाँका मानव बस्तीमा समेत असर पुर्‍याइरहेको छ । महानगरले व्यवस्थित गर्न लागेको साप्ताहिक हटियाले यहाँका निम्न वर्गका सर्वसाधारणहरूलाई व्यवस्थित रुपमा साना व्यवसाय सञ्चालन गरेर दिगो रुपमा आयआर्जन समेत गर्ने अबसरको सृजना हुने भएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले सडकको हटिया व्यवस्थित गर्ने महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताए । उनले भने, ‘पहिले चारैतिर फराकिलो भएकोले सडकछेउ हटिया लाग्दा समस्या थिएन तर अहिले चौतर्फी घर निर्माण हुँदै गएपछि सडक छेउको हटिया सडकमनै आइपुग्दा सहरलाई कुरुप बनाएको छ । अब व्यवस्थापन आवश्यक भइसकेको छ ।’

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले सडकमा लाग्दै आएको हटियाको खाली ठाउँमा बैकल्पिक व्यबस्था गरेर स्थानान्तरण गर्ने महानगरको निर्णय सराहनीय भएको बताए । महानगरस्थित मूल तरकारी बजार ‘गुदरी हटिया’ बर्षौंदेखि सडकमा नै लाग्दै आएको छ । यस्तै, वडा १ को मंगलबारे, वडा २ को सोमवारे, इक्राहीको आइतबारे, कंचनबाडीको शुक्रबारे, आइतबारे, जामुनगाछी, राजवंशी चौकको आइतबारे, खार्जी, ढाटको बुधबारे र शुक्रबारे हटिया सडमा नै लाग्दै आएको छ ।

यस्तै, चांदनी चोकको बिहीबारे, कोचाखालको मंगलबारे, शान्ति चौक, वडा ७ को शनिहाट, वडा ८ को मंगलबारे र शुक्रबारे, वडा १० को सोमबारे, वडा १२ को शुक्रबारे, वडा १२ र १३ को आइतबारे र विहिबारे हयिा पनि सडकमा नै लाग्दै आएको हो । वडा १३ को बुधबारे र शनिबारे, वडा १४ को बुधबारे, घिनाघाको आइतबारे, मिलनचौकको मंगलबारे हटिया पनि सडकमै लाग्दै आएको छ ।

प्रकाशित : असार २१, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?