कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले १० परिवार विस्थापित

बाढीले विभिन्न स्थानमा खेतीयोग्य जमिन कटान गर्न थालेको छ । कटानका कारण दस परिवार विस्थापित भएका छन्
अर्जुन राजवंशी

दमक — लगातारको वर्षाले जिल्लाका खोलाहरूमा बाढी आएको छ । बाढीले विभिन्न स्थानमा खेती योग्य जमिन कटान गर्न थालेको छ । कटानका कारण दस परिवार विस्थापित भएका छन् । एक जनाको मृत्यु भएको छ ।

बाढीले १० परिवार विस्थापित

रेडक्रस सोसाइटी जिल्ला शाखाका अनुसार गौरादह नगरपालिका ७ का फागो ऋषिदेवको डुबेर मृत्यु भएको छ । ४२ वर्षीय ऋषिदेवको बुधबार बिहान स्थानीय कल्भर्टको नालामा डुबेर मृत्यु भएको हो ।

कनकाई नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिकाका ८ परिवार विस्थापित भएका छन् । बुधबार राति भारी वर्षासँगै कनकाई नदीमा आएको बाढीले बिहीबार गौरीगञ्ज २ भाकुरमारीका ८ परिवारका ४० जना विस्थापित भएका हुन् । रेडक्रसका अनुसार विस्थापित परिवारलाई नेपाल–भारत सीमाना दरघाहा कञ्चनबारीमा राखिएको छ ।

रतुवा खोलामा आएको बाढीले दमक नगरपालिका ७ स्थित सुकुम्बासी बस्तीका दुई परिवार विस्थापित भएका छन् । रतुवा पुल उत्तर खोला किनारको बस्तीमा बिहीबार बिहानैदेखि कटान भइरहेको छ । नदी कटानका कारण स्थानीय अभिकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको परिवार विस्थापित भएको हो ।

चार कोठे पक्की घरको पर्खालसम्म खोला आइपुगेकाले घरभित्रका सबै सामान झिकेर सुरक्षित स्थानमा बसेको श्रेष्ठ परिवारले जनाएको छ । खोलाले तिम्सिनाको घरको दक्षिणतर्फको भाग पूरै भत्काएकाले घर बगाउनु अगावै घरबाट बाहिर निस्किएको तिम्सिना परिवारले जनाएको छ ।

रतुवा खोला किनारमा ‘०४७ देखि हामी यहाँ बस्दै आएका छौं,’ श्रेष्ठले भने, ‘घर छेउबाटै खोला बगे पनि कहिल्यै विगार गरेको थिएन । तर, यसपालि उठिबास नै बनायो ।’ उनले बाढीका कारण दुई दिनसम्म रातभर जाग्राम बसेको बताए । ‘लगातार पानी परिरहेको छ । खोलामा पानीको सतह बढेपछि दुई रातसम्म सुतेका छैनौं । आज त घर छोडेर भाग्नु नै पर्‍यो ।’

भारी वर्षाका कारण मावा खोलामा आएको बाढीले दमक ३ स्थित दूधे बस्ती नजिकैको जमिन कटान गर्न थालेको छ । खोलाले बुधबार र बिहीबार गरी दुई दिनमा एक बिघा जमिन कटान गरेको वडाध्यक्ष नबीन बरालले जानकारी दिए । बरालका अनुसार खोलाले स्थानीय राजु श्रेष्ठ र बालकृष्ण भट्टराईको एक बिघा खेतीयोग्य जमिन कटान गरेको छ । यस बर्ष धार परिवर्तन गर्दै मावा खोला बस्तीतर्फ सोझिएको छ । खोलाले कटान तीव्र पारेपछि दूधे बस्तीका ५० घर उच्च जोखिममा परेका छन् ।

‘नदीजन्य सारूपमा खोला दोहन गरेकाले यो वर्ष पहिलो पटक खोला कटान भएको हो’ बालकृष्ण भट्टराईले भने,‘खोलाको तल्लो भेकमा नदी उत्खनन गर्नेहरूले जथाभावी खोला गहिराएर गिटी, बालुवा झिके । अहिले खोलामा बाढी आउँदा माथिको माटो सबै बगाएर लगेकाले खोला अनियन्त्रित भएर बस्तीतर्फ सोझिएको छ ।’ खोलाले कटान तीव्र पारेपछि स्थानीय बासिन्दा बुधबारदेखि नै खोला नियन्त्रणमा जुटेका छन् । उनीहरूले वडा कार्यालयले उपलब्ध गराएको तारजाली र ढुंगा राखेर स्पर निर्माण तथा जेसीबी लगाएर खोलाको धार परिवर्तन गर्ने कार्यमा जुटेका छन् ।

सँगै जिल्लाका सबैजसो खोला/नदीमा बाढी आउँदा अधिकांश भूभाग डुबानमा परेको छ । बिर्तामोडदेखि भद्रपुर जाने बाटोको बिर्ताबजार क्षेत्र असार लागेदेखि जलमग्न छ । बाह्रदशी गाउँपालिकाको राजगढदेखि बागुडुब्बा जाने बाटो पूरै जलमग्न हुँदा आवतजावतमा समस्या भएको छ ।

गत वर्ष बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको झापा गाउँपालिकाका धेरै गाउँ डुबानमा परेका छन् । माई र सानो माई खोलामा आएको बाढीले खोला आसपासका बस्ती डुबानमा परेका हुन् । खोलामा आएको बाढी र खेतमा जमेको पानीको पर्याप्त निकास नहुँदा शिवसताक्षी नगरपालिकास्थित दूधे–शिवगञ्ज सडक भत्किएको छ ।

प्रकाशित : असार २२, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?