कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्पन्नद्वारा अस्पतालमा सुविधा माग

जितेन्द्र साह

विराटनगर — विपन्न वर्गलाई अस्पतालमा सेवासुविधा पुगेन भन्ने गुनासो सुनिरहेका हुन्छौँ । समाजका सम्पन्नले पनि यस्तो माग गरेको सुन्दा अचम्म लाग्न सक्छ । 

सम्पन्नद्वारा अस्पतालमा सुविधा माग

तर नेपाल नेत्र ज्योति संघद्वारा दानसहयोगमा सञ्चालित सीमावर्ती रानीस्थित आधुनिक संयन्त्रयुक्त विराटनगर आँखा अस्पतालमा भने यस्तै भएको छ ।


खल्तीमा ५० रुपैयाँ भएकाले पनि सहजै आँखाको सम्पूर्ण जाँच गराउन सक्ने यो गैर नाफामूलक अस्पतालमा लामो समयदेखि स्वदेश एवं विदेशका धनाढ्य नागरिकले विशेष उपचार सुविधाको माग गरिरहेका छन् ।


निरन्तरको गुनासोपछि अस्पताल व्यवस्थापनले आठ/नौ महिना लगाएर मूल भवनको पूर्वपट्टि मात्र ५० फिटको दूरीमा रहेको चमेना गृहलाई जीर्णोद्धार गरी धनाढ्य वर्गकालागि सुविधासम्पन्न छुट्टै उपचार एकाइको निर्माण गरेको छ ।


यो २० कोठ छुट्टै भवनको चार वटा कक्षमा दृष्टि जाँच, दुईमा सामान्य शल्यक्रिया, दुईमा आधुनिक यन्त्रयुक्त जटिल शल्यक्रिया, लहरे पुर्जी काउन्टरहरु, स्वागत डेस्क र कफि सपको निर्माण गरिएको छ ।

चिकित्सक, सहयोगी र प्रशासनिक कर्मचारीसहित ५० जनाको छुट्टै टोलीले सेवा दिने यो उपचार गृहबाट हुने अतिरिक्त आम्दानीले विपन्न वर्गको सहुलियत एवं नि:शुल्क उपचार सहयोग पुग्ने अस्पतालले जनाएको छ ।


‘आँखा उपचार सेवाको क्षेत्रमा यहाँजस्तो उपचार सुविधा स्वदेशमा काहिँ छैन, विदेशमा पनि औंलामा गन्न सकिने संख्यामा मात्र छन्,’उक्त अस्पतालका प्रबन्धक कुमार पृथुले भने, ‘त्यही भएर यहाँबाट धनी वर्गले यस्तो चाहना राख्नु स्वभाविकै हो, उनीहरुले निजी अस्पतालकै बरोबरी शुल्क तिरेर उपचार लिनेछन्, त्यो रकम पहुँच विहीन वर्गको हितमा उपयोगी हुन्छ ।’


दुवैतिर समानरुपले बिहान साढे सात बजेदेखि साँझ साढे सात बजेसम्म सेवा सुचारु हुने भएकाले बिरामीले इच्छाअनुरुप जता मन लाग्यो, उतै देखाउन सक्छन् ।


नयाँ भवनमा १६ भदौदेखि उपचार सुरु हुने भएपनि औपचारिक रुपमा २८ भदौमा उद्घाटन गरिने छ । ‘तत्कालै आधुनिक प्रविधि भित्र्याएर यो आँखा अस्पतालले प्रदान गर्ने भरपर्दो उपचार सेवा त पैसा तिरेरै पनि स्वदेशभित्र पाउनै कठिन छ,’विराटनगरका व्यवसायी दीपक अग्रवालले भने,‘समयको बचत गर्न पैसा तिर्न सक्नेका लागि छुट्टै व्यवस्था मिलाउन भनिरहेका हौँ ।’


नेपाल र भारतबाट आँखा बिरामी आउने उक्त अस्पतालमा सन् २०१७ मा ४ लाखले उपचार पाए । यसमा ८० प्रतिशत ४८ रुपैयाँको सामान्य पुर्जी कटाएर जँचाउने र २० प्रतिशत मात्र ३ सय २० रुपैयाँको शुल्क तिरेर पेइंग क्लिनिकमा देखाउने भएको प्रबन्धक पृथुले जनाए । पेइंग क्लिनिकमा दैनिक १ सय ५० भन्दा बढी बिरामीको जाँच नहुने भएकाले सम्पन्न वर्ग असन्तुष्ट थिए ।


‘अतिरिक्त शुल्क तिरेर पनि आँखा देखाउन आउनेको संख्या बढी र कोटा सिमित भएको गुनासो थियो,’उनले भने,‘अब एउटै प्रांगणमा धनी र गरिब दुवैले बिना गुनासो सेवा पाउँछन् ।’ दैनिक न्यून्तम ८ सयदेखि १ हजार ५ सय सेवाग्राही आउने गरेको उक्त अस्पतालको तथ्यांकबाट खुल्छ ।


वार्षिक ३ सय दिन बिहान साढे सात बजेदेखि साँझ साढे सात बजे धाराप्रवाह सेवा दिने उक्त अस्पतालको वार्षिक तथ्यांकको विश्लेषण गर्दा दैनिक औषत १ हजार १ सयले उपचार लिएको देखिन्छ ।

उक्त अस्पतालले प्रदेश १ को विभिन्न गाउँमा ८ वटा आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ भने दुई वटा गर्ने तरखरमा छ । उक्त अस्पतालले दुई/तीन कोठे यस्तो उपचार केन्द्रमा नेत्र सहायक, चस्मा निर्माण सहयोगी र इन्टरनेट मार्फत टेलिमेडिसिन उपचार सेवा उपलब्ध गराउँछ ।


अस्पतालले अपांग, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालागि छुट्टै टिकट काउन्टर राखी सहुलियत शुल्क वा आर्थिक स्थिति हेरेर नि:शुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । ४८ रुपैयाँदेखि १६ हजार रुपैयाँमै आँखाको जस्तो सुकै रोगको यहाँ उपचार हुने गरेको प्रबन्धक पृथुले प्रष्टयाए ।

प्रकाशित : असार २८, २०७५ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?