कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहयोगी बन्यो लघुवित्त

विप्लव भट्टराई

इलाम — लालाबालासहित सिलाइ पेसाले मात्र घर धान्न कम मुस्किल थिएन मोहन र शान्ता लावरलाई । दिनरात मिहिनेत गर्दा पनि खान लाउन सहज नभएपछि झापाबाट यो परिवार पहाड उक्लियो ।

सहयोगी बन्यो लघुवित्त

सुखी संसार खोज्दै तराई झर्ने परम्पराविपरीत लावर परिवार सदरमुकाम छेउको बिब्ल्याँटे बजारमा दु:ख भुलाउन थालेको ठयाक्कै १० वर्ष बितेछ ।

पुरानै पेसाले मात्र नथेगेर लावर परिवारले विकल्प खोज्यो । तर लगानी गर्ने रकम नहँुदा निराश भएको अवस्थामा उनीहरूले एउटा लघुवित्तबाट १० हजार रुपैयाँ ऋण लिए । मोहन कपडा सिलाउने र शान्ता सानो घुम्ती खोलेर फलफूल बेच्न उपाय खोज्दा उनीहरूको बिउ पुँजी बन्यो त्यही १० हजार रुपैयाँ ।

नियमित लगनका कारण उनीहरूले जीवन विकासमा नियमित किस्ता बुझाउन सफल रहे र ऋण पनि थप्दै लगे । १० हजारबाट २० हुँदै त्यही औसतमा उनीहरूले कारोबार पनि बढाए । राम्रो कारोबार गरेकाले अहिले जीवन विकासले उनीहरूलाई ३ लाख रुपैयाँ ऋण दिएको छ । १० हजारबाट थालेको व्यवसाय बढाएर ३ लाखभन्दा धेरै लगानी पुर्‍याएका छन् ।

‘उतिबेला यति रकम पत्याउने पनि कोही भएन,’ ग्राहकलाई आँप बेच्न व्यस्त शान्ताले भनिन्, ‘जुन बेला यो संस्थाले पत्यायो त्यहि दिनबाट सन्तुष्टि मिलेको छ ।’ अहिले आधा दर्जन प्रतिस्पर्धी पुगेका छन् । तर पनि नियमित सेवा दिएका उनीहरूको फलफूलको बिक्री घटेको छैन । छोराका बिहेसमेत गरेका लावर परिवार अब बचत गरी सानोतिनो घर बनाउने ध्याउन्नमा छन् ।

आफै गाडी किनेर चलाउने रहर भए पनि कसैले ऋण नदिँदा इलाम नगरपालिका ४, चारखाँदेकी हिमादेवी रिजाल र होमनाथ निराश थिए । तर लघुवित्तले ६ लाख रुपैयाँ ऋण दिएपछि अरु स्रोत जुटाएर उनीहरूले बुलेरो जिप खरिद गरे । अर्काको गाडी चलाएर दिक्क भएपछि आफैं गाडी किन्दा रिजाल परिवारलाई धेरै सहज भएको छ । महिनाको ९० हजार रुपैयाँसम्म बचाउन सफल उनीहरूले संस्थाको नियमित ब्याज तिरेर अन्यत्रको ऋण चुक्ता गर्न लागेका छन् । ‘सामान्य ऋणका लागि पनि महँगो ब्याजमा साहु काड्न जानुपर्ने प्रथा लघुवित्तले हटाएको छ ।

उनीहरू जस्तै धेरैका लागि २०६७ मा खुलेको जीवन विकास नामक संस्था सहयोगी बनेको छ । बिब्ल्याँटे, एकतप्पा, मंगलबारे, आइतबारे, नयाँबजार, श्रीअन्तु र दानाबारी शाखामार्फत संस्थाले संस्थाले ५८ करोड रुपैयाँभन्दा धेरै लगानी गरेको छ । साधारणदेखि आवास, शैक्षिक, स्वरोजगारलगायत विभिन्न विधामा ऋण लगानी गर्दै आएको जीवन विकासले ५८ करोड, ९२ लाख, २८ हजार, ६ सय ७७ रुपैयाँ लगानी गरेको हो ।

संस्थाले २३ करोड १३ लाख १० हजार ३ सय ८ रुपैयाँ बचत संकलन गरेको छ । कार्यक्रम लागू भएका क्षेत्रमा १३ हजार ७ सय २८ सदस्य छन् । त्यसमध्ये ९ हजार ७ सय ८२ जनाले ऋण लिएका छन् । १६ देखि २० प्रतिशत ब्याजमा ऋण प्रवाह गर्दै आएका संस्थाले ऋणीलाई विभिन्न सुविधासमेत दिने गरेकाले सदस्य थपिँदै गएको जिल्ला प्रमुख मनोज ढुंगानाले जानकारी दिए । संस्थाले आपतकालीन ऋण कोषमार्फत सदस्यको मृत्यु भए ऋण मिनाहा गर्ने गरेको छ ।

त्यस्तै काजकिरिया खर्चबापत १० हजार, सदस्यको पतिको मृत्यु भए ५ हजार, सदस्यको प्रसूतिका बेला शल्यक्रिया गर्नुपरे २ हजार र सामान्य अवस्थाका लागि १ हजार प्रदान गर्छ । त्यस्तै सदस्यालाई सर्पले टोकेको र प्राकृतिक प्रकोपमा परे १ हजार रुपैयाँ अनुदान दिने नियम बनाइएको छ ।

प्रकाशित : असार ३२, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?