१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सांसदसँग स्थानीयका मागैमाग

दीपेन्द्र शाक्य

संखुवासभा — सदरमुकामस्थित बरुण बहुमुखी क्याम्पसका प्रमुख टीकाराम गुरुङले प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमलाई भव्य स्वागत गरे, अनि क्याम्पसका बारेमा बेलीबिस्तार लगाए । उनले क्याम्पस सञ्चालनदेखि नै भवन अभाव भएको सुनाए ।

सांसदसँग स्थानीयका मागैमाग

क्याम्पसलाई बजेटको व्यवस्था मिलाइदिन उनले माग राखे । क्याम्पसको वार्षिक खर्च १ करोड बढी भएको उनले बताए । मादी, संखुवासभा र बरुण क्याम्पस मिलेर चलाएको २ सय ५० किलोवाटको विद्युत् आयोजना मर्मत गर्न नसक्दा क्याम्पस सञ्चालनमा समस्या भएको उनले सुनाए ।

उनले मर्मतका लागि बजेटको व्यवस्था मिलाउन माग पत्र पेस पनि गरे । बरुण समुदायबाट चलेको पुरानो क्याम्पस हो । यसलाई आंगिक बनाउन पहल गर्न पनि उनको माग थियो ।

क्याम्पसका बारेमा जानकारी गराउन बरुणले कार्यक्रम आयोजना गरेको हो । एक साता जिल्ला बस्नेगरी आएका सांसद गौतमलाई विकासे मागको चाङ लागेको बताए । जहाँ पुगे पनि स्थानीयले सडक, सामुदायिक भवन, विद्यालय भवन, सडकको स्तरोन्नति लगाएको माग आउने गरेको गौतमले जानकारी दिए । ‘योपटक दुबै क्षेत्र घुम्ने मौका पाए, उनले भने, ‘जता पुगे पनि स्थानीयले विकास मागेका छन् । टुटे देउरालीदेखि उत्तरी क्षेत्रसम्मका स्थानीयले विकासको अपेक्षा गरेका छन् ।’ एक सातामा ५ सय बढी स्थानीयले मागपत्र पेस गरेका छन् । तिनलाई प्राथमिकताका आधारमा बजेट छुट्याउने योजना उनले सुनाए ।

सबैभन्दा बढी गुनासो टुटेदेउरालीबाट चैनपुरसम्मको सडक खण्डको आएको उनले बताए । यो सडक कालोपत्रे गरिएको भए पनि हिलाम्मेमा परिणत भएको छ । जिल्ला प्रवेश गर्ने अर्को धनकुटाको हिले सभाखोला खडकको हालत पनि उस्तै भएकाले गुनासो यिनैमा बढी गरेका छन् । सांसद गौतम यति बेला गाउँगाउँका स्थानीयसँगको भेटघाटमा व्यस्त छन् । यो क्षेत्र आएर खाँदबारी नगरपालिकादेखि अरुणपारिका गाउँसम्म पुग्दा उनलाई स्थानीयले विकास मागेको बताए । ‘अब विकासतिर अघि बढ्नुपर्‍यो भन्ने माग जताततै पाए, उनले भने, ‘म जुन गाउँ पुग्छु त्यहाँका स्थानीयले सांसदज्यू गाउँमा विकास चाहियो भनेका छन् ।’

निर्वार्चित सांसदहरूलाई स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत ४ करोड खर्च गर्ने अधिकार दिएपछि जहाँ पुगे पनि मागको ओहिरो लाग्ने गरेको उनले बताए । सदरमुकाम नजिकैको सेकाहा, चैनपुर, खराङ, पुग्दा उनलाई गाउँलेको स्वागतसँगै विकासे कामको मागको ओहिरो लाग्यो । एउटै गाउँमा पुग्दा ५० बढी मागको चाङ लागेको थियो ।

कार्यक्रमअन्तर्गतको रकमबाट योजना छनोट गर्न पाउने भएपछि विकासप्रति अलिक चासो बढेको हो । स्थानीयले कार्यक्रमअन्र्तगतको बजेट प्रभावकारी हुने स्थानमा मात्रै छुट्याउन पनि आग्रह गरेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरेले मानेभञ्ज्याङको भगिवन्त रंगशाला निर्माणको मागपत्र बुझाए । ‘अब पनि विकासे काममा लागेनांै भने देश कहाँ पुग्ला’, उनको पनि सांसद गौतमलाई त्यही सुझाव थियो, अब विकासका काममा अघि नबढे कहिले बढ्ने ?’ भूकम्पले भत्काएको संरचना पुनर्निर्माणदेखि विद्यालय सञ्चालनसम्मको काममा सहयोगको माग समेत स्थानीयले राखेका छन् ।

उत्तरी क्षेत्र र सदरमुकाम आसपासका गाउँमा पुग्दा स्थानीयले विकास चाहेको सांसद गौतमले बताए । यो जिल्लाका धेरै गाउँमा बीसांै वर्षअघि निर्माण भएका झोलुङगे पुलहरू छन् । सबै पुराना भएकाले गाउँलेको माग पक्की पुल, गाउँसम्म जाने कच्ची नै भए पनि मोटरबाटो छ । ‘सबै माग एकैपटक पूरा गर्न सकिँदैन । प्राथमिकताका आधारमा सबै माग पूरा गरिनेछ ।

प्रकाशित : श्रावण १, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?