तटबन्धमा २५ करोड सकियो

बाढी गाउँ पस्ने जोखिम उस्तै
विनोद भण्डारी

विराटनगर — पूर्वी मोरङमा बग्ने बक्राहाखोला हरेक वर्षायाममा आसपासका बासिन्दाका लागि विपत् लिएर आउने गरेको छ । मध्यवर्षामा बाढीले कहाँनेर बाँध भत्काएर बस्ती पस्ने हो भन्दै स्थानीय बासिन्दा त्रसित हुने गरेका छन् ।

यही समस्या हटाउने उद्देश्यले गत वर्ष र यसपालि खोलाको मधुमल्लादेखि झुरकीयासम्मका विभिन्न ८ स्थानमा करिब २५ करोडको लागतमा ५ किलोमिटर तटबन्ध बनाइएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय प्रमुख देवनारायण साहका अनुसार खोलाको दुबैतर्फको बाँध होचो भएकाले बाढी कुनै पनि समय ओभरफल्ओ भई बस्तीमा पस्ने चिन्ता अझै छ । बाँधको कुल लम्बाइ ५१ किलोमिटर छ । ‘अघिल्लो र यसवर्ष मधुमल्ला, जयनगर, उर्लावारी, लेटी, इटहरा, बरडंगा, झुरकीया र गोविन्दपुरमा भत्किएको ५ किलोमिटर बाँध २५ करोडको लागतमा पुनर्निर्माण भइसकेको छ,’ साहले भने, ‘तर त्यसको जोखिम कायमै छ ।’

यो नदीमा गतवर्ष आएको बाढीले मधुमल्ला, हसन्दह, अमरदह, गोविन्दपुर, डाइनिया र राजघाटका सयांै परिवारलाई घरविहीन बनायो । हजारभन्दा बढी परिवार डुबानमा परे । १० हजार हेक्टरभन्दा बढी धान खेत बगरमा परिणत भएको सुरक्षा संयन्त्रको तथ्यांक छ । मधुमल्लामा बस्तीभन्दा माथि नदी भएका कारण हरेक वर्ष बाढीले बाँध फुटाई पानी पस्ने गरेको हो । गतवर्ष र अघिल्लो वर्ष आएको बाढीले बाँझो खेत, खामेझोडा, शान्ति टोली, वेतेनी र कसेनीको नयाँ बस्तीमा बाढी पस्दा मधुमल्लाका १ सय २ परिवार घरविहीन बने ।

मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवी आचार्यका अनुसार यसपालि पनि त्यहाँको जोखिम कायमै छ । बाढीले भत्काएको बाँधमा तटबन्ध गरिएको छ । कुनै पनि समय बाढी बस्तीमा पस्ने खतरा उस्तै छ । भत्किएको बाँध तटबन्ध गरेपछि केही परिवार बाढीले बगर बनाएको स्थानमा र केही परिवार जंगलको आसपास टहरा बनाएर बस्दै आएका छन् ।

यही बक्राहा खोलो मधुमल्लादेखि झन्डै १५ किलोमिटर दक्षिण हसन्दहको जयनगरमा बाँध फुटेर बस्तीमा पस्दा हसन्दह, अमरदह, गोविन्दपुर, डाइनयाँ, वरडंगा, टकुवा र आमगाछीका करिब ७ सय परिवार डुबानमा परेका थिए । त्यहाँको ७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको धान बाली बगरमा परिणत भएको दैवी प्रकोप उद्धार समितिको तथ्यांक छ । उक्त क्षेत्र हाल पथरी शनिश्चरे, सुनवर्षी र रतुवा नगरपालिकामा पर्छ ।

जयनगरमा भत्किएको करिब दुई सय मिटर बाँध १ करोड २ लाखको लागतमा तटबन्ध गर्ने काम सकिएको छ । सुनवर्षी नगरपालिका २ का अध्यक्ष प्रताप तामाङका अनुसार माटोको बाँध बाँधेर त्यसमाथि जालीमा ढुंगा भरेर गरिएको तटबन्ध खोलामा आएको सामान्य बाढीले नै भत्काउन सुरु गरेको छ ।


यो क्रम जारी रहे ठूलो बाढी आउँदा पुन: पानी बस्तीमा पस्ने स्थितिले आसपासका बासिन्दामा यसपालि पनि त्रास कायमै रहेको तामाङको भनाइ छ । त्यहाँबाट बाढी पुन: बस्तीमा पसे पथरी शनिश्चरे ५ सहित सुनवर्षी र रतुवामाई नगरपालिकाका सवै क्षेत्र प्रभावित हुने तामाङका भनाइ छ । उनका अनुसार सोमबार आएको बाढीले भर्खरै निर्माण गरिएको तटबन्धको माटो बगाउन थालेको छ ।

गतवर्ष बक्राहा र रतुवा खोलामा आएको बाढीले रतुवामाई नगरपालिका क्षेत्रमा मात्र ३० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो । नगर प्रमुख रविन राईका अनुसार यसपालि पनि त्यो त्रास नगरवासीमा कायमै छ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र नगरपालिकाले बढी जोखिम भएका क्षेत्रमा दुवै खोलामा तटबन्ध गरे पनि पानी पर्न सुरु भएपछि स्थानीयवासीमा बाढीको त्रास बढ्ने गरेको राईको बुझाइ छ ।

Yamaha

त्यसैगरी रेडक्रस शाखाले मोरङमा रहेका विभिन्न एक दर्जन खोलामा आउने बाढीका कारण जिल्लाका चार दर्जनभन्दा बढी स्थानलाई बाढीको उच्च जोखिम क्षेत्रका रूपमा वर्गीकण गरेको छ । शाखाका अध्यक्ष सुवोधकुमार सिंहका अनुसार मोरङमा बग्ने केसलीया, सिंघिया, लोहन्द्रा, चिसाङ, वक्रहा, रतुवा, मावा र तेली खोलाका कारण मधुमल्ला, उर्लाबारी पथरी शनिश्चरे, सुनवर्षी, रतुवामाई नगर, सुन्दर दुलारी, सिसवनी वडरा, हात्तीमुढा, विराटनगर महाननगर, डंग्रहा, बुधनगर, कटहरीलगायत ४३ स्थान बाढीको उच्च जोखिममा छन् ।

प्रकाशित : श्रावण १, २०७५ ०९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दशगजामा बाक्लो वस्ती

विनोद भण्डारी

सिक्टी(मोरङ) — भारतसँग जोडिएको पूर्वी मोरङको सिक्टी नाकाको दशगजामा बाक्लो वस्ती छ । त्यहाँ नेपाल र भारत छुट्याउने १६० नम्बरको सीमा स्तम्भ वस्तीको बीचमा छ । वस्तीका अधिकांश टहरामा पसल राखिएको छ ।

सिक्टी नाकाको दशगजा क्षेत्रको वस्तीको बीचमा रहेको १६० नम्बरको सीमा स्तम्भ । तस्बिर:विनोद / कान्तिपुर

ती पसलमा सामन खरिद गर्न ३ किलोमिटर उत्तर डाईनिया आसपासका उपभोक्ता दिनहुँ पुग्ने गर्छन्।

दशगजामा यसअघि ६१ परिवारको बसोबास थियो। अहिले घटेर करिब तीन दर्जनमा झरेको छ। स्थानीय इक्दु आलमले भने त्यहाँ बसोबास गर्ने सबै भारतीय नागरिक हुन्। यहाँका अधिकांश टहरामा पसल छ। पसल नभएका टहराका वासिन्दा दिनभर नेपालतर्फ मजदुरी गरेर परिवारको गुजरा चलाउँदै आएका छन्।

दशगजा क्षेत्रको बाक्लो वस्तीका कारण छिमेकका वस्तीका सर्वसाधारणको दैनिकीमा प्रभाव परेको उनको गुनासो थियो।

दशगजामा दशकदेखि भारतीय नागरिक आरिफ मियाँ टहरो बनाएर बस्दै आएका छन्। उनी हरेक दिन विहान मजदुरी गर्न नेपालका सीमावर्ती गाउँ पुग्छन् र साँझमा टहरामा पुग्छन्। म मात्र होइन वस्तीमा बस्ने सबै भारतीय नागरिक हुन्। मियाँले भने,‘सबैको दैनिकी विहान मजदुरी गर्न सीमावर्ती गाउँ पसेर साँझ वस्तीमा फर्कनु।’

सिक्टी मात्र नभई सोनापुर, केराबारी, मधुबनी, तरिगमा, जोगबनी, आमगाछी, डुवाटोली, पत्थरदेवा, तेलीयारी लगायतका स्थानमा दशगजा क्षेत्र छुट्याउनै गाह्रो छ। बुधनगरको तरिगमा दशगजा क्षेत्रमा पर्ने १७४ नम्बरको सीमा स्तम्भ वस्तीको माझमा छ। दशगजाको बाक्लो वस्तीका कारण झट्ट हेर्दा त्यहाँ कता नेपाल कता भारत छुट्याउन गाह्रो पर्छ।

भारतसँग जोडिएका मोरङको अधिकांश दशगजा क्षेत्र बाक्लो वस्तीका कारण छुट्याउनै गाह्रो छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को तथ्याङ्क अनुसार नेपाल र भारततर्फ २८ हजार ७ सय ७ वर्ग मिटर दशगजा क्षेत्र अतिक्रमण गरेर बाक्लो बस्ती बसेको छ।

एसएसबी बथनाहा ५६ ‌औँ बटालीयनको तथ्याङ्क अनुसार भारतर्फ १४ हजार ७ सय ८५ र नेपालतर्फ १३ हजार ९ सय २२ वर्ग मिटर दशगजा क्षेत्र अतिक्रमण गरेर बस्ती बसेको छ।

मोरङ र सुनसरीमा मुख्य र सहायक गरी २ सय ४४ वटा सीमा स्तम्भ छन्। ती मध्ये बेपत्ता भएका ३१ र क्षेत्रीग्रस्त २३ स्तम्भको पुर्ननिर्माण भइसकेको छ।
तरिगामा नाकाको दशगजा क्षेत्रको वस्तीको बीचमा रहेको १७४ नम्बरको सीमा स्तम्भ। तस्बिर– विनोद/कान्तिपुर
तरिगामा नाकाको दशगजा क्षेत्रको वस्तीको बीचमा रहेको १७४ नम्बरको सीमा स्तम्भ।

६३ दशमलव २ किलोमिटर भारतसँग सीमा जोडिएको मोरङका ठुला, सहायक, साना र रिफरेन्स गरी १ सय २४ वटा सीमा स्तम्भ सहिसलामत रहेको सशस्त्र सीमा सुरक्षा प्रहरीका उपरिक्षक मनिष थापाले वताए। मोरङमा पर्ने सबै सीमा स्तम्भ सुरक्षित छन्। उनले भने,‘तर अधिकांश दशगजा क्षेत्रको दुवैतर्फ बसेको बाक्लो वस्ती हटाउन भारतीय पक्षसँग सहकार्य भइरहेको छ। ’

जोगबनी नाकाको दशगजा क्षेत्रको वस्ती हटाउने काम भइरहेको उल्लेख गर्दै थापाले भने, ‘अन्य स्थानको दशगजा क्षेत्रको वस्तीपनि हटाउन भारतीय पक्षसँग आवश्यक छलफल भइरहेको छ। ’ उनका अनुसार दशगजा क्षेत्रको बासका कारण सीमावर्ती क्षेत्रमा अपराधिक गतिविधि नबढोस् भन्नका लागि संयुक्त सीमा सुरक्षा गस्तीपनि परिचालन गरिएको छ।

त्यसैगरी करिब ६२ किलोमिटर भारतसँग जोडिएको सुनसरीको ३८ स्थानमा दशगजा क्षेत्र अतिक्रमण गरेर बसोवास भएको सशस्त्र सीमा सुरक्षा प्रहरी सुनसरीको तथ्याङ्क छ। सशस्त्र प्रहरी नायब उपरीक्षक सुधिर सुवेदीका अनुसार त्यसमध्ये भारतीय पक्षबाट २० र नेपाल पक्षबाट १३ स्थानमा र दुवै पक्षबाट ५ स्थानमा अतिक्रमण गरेर बसोबास गरिएको छ।

नायब उपरीक्षक सुवेदीका अनुसार भारतीय पक्षसँग सहकार्य गरेर केही स्थानको दशगजाको वस्ती हटाएको र केही स्थानको हटाउने प्रयास भइरहेको छ। सुनसरीमा ठुलो, सहायक, साना र रिफरेन्स गरी २ सय ९० वटा सीमा स्तम्भ छन्। ती सबै सीमा स्तम्भ सलामत रहेको सुवेदीले बताए।

प्रकाशित : असार ५, २०७५ १४:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT