कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अव्यवस्थित पार्किङले दुर्घटना

५०२ दुर्घटनामा १०९ को मृत्यु
स्कुल बसलाई पनि निगरानी
देवनारायण साह

मोरङ — प्रदेश १ को अस्थायी राजधानी विराटनगरसमेत समेटिएको मोरङमा अव्यवस्थित पार्किङले दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ ।आर्थिक वर्ष ०७४/७५ मा सवारी दुर्घटनामा १ सय ९ जनाले ज्यान गुमाएका छन् ।

अव्यवस्थित पार्किङले दुर्घटना

ज्यान गुमाउनेमा ४ बालिका, २ बालक, १० महिला र ९३ जना पुरुष रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । वर्षभर भएको ५ सय २ सवारी दुर्घटनामा ८ सय २६ जना घाइते भएका हुन् ।

आर्थिक वर्ष ०७३/७४ मा भएको ४ सय ३४ सवारी दुर्घटनामा बालिका २, बालक ९, महिला १४ र पुरुष ७९ गरी १ सय ४ जनाले ज्यान गुमाएका थिए । ०७२/७३ मा ४ सय ३५ दुर्घटनामा बालिका २, बालक ४, महिला १४ र पुरुष ७७ गरी ९९ जनाको ज्यान गएको थियो । जिल्लामा वर्षेनी सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा वृद्धि हुँदै आएको ट्राफिक कार्यालयको तथ्यांकले जनाएको छ ।

प्रदेश राजधानी तथा औद्योगिक नगरी विराटनगरको मूल, सहायक र गल्लीलगायतका सडक जताततै अव्यवस्थित पार्किङले अस्तव्यस्त भएकाले दुर्घटनामा वृद्धि भएको ट्राफिक कार्यालयले जनाएको छ । पार्किङ क्षेत्र उल्लेख नभएको ठाउँमा पार्किङ गरेको पाइएमा तत्काल ट्राफिक प्रहरीलाई कारबाही गर्ने अधिकार छ । तर पार्किङ व्यवस्थित गर्ने जिम्मेवार निकाय ट्राफिक प्रहरीले यसमा केही पहल गरेको छैन ।

६ लेन बन्दै गरेको सडक रानी–इटहरीको विराटनगर खण्डमा जताततै मालवाहक ट्रक, लरी, बस, जिप, कार, अटोरिक्सा, मोटरसाइकललगायत साधन पार्किङ हुँदै आएको छ । प्रदेश १ आयल निगम कार्यालयमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने २ सय ५० बढी ट्यांकरको पार्किङस्थल ६ लेन सडक नै बनेको छ । सडकको दुबै छेउमा लहरै ट्यांकर पार्किङ गरिँदै आएको छ ।

ट्यांकर तथा मालवाहक सवारी साधन ट्राफिक प्रहरीसँगको सेटिङमा सडकमा पार्किङ गर्दै आएको निगमकै कर्मचारी बताउँछन् । इन्धन ट्यांकर व्यवस्थित पार्किङ गर्ने स्थान नभएकाले सडक किनार राखिँदा पटकपटक दुर्घटना हुँदै आएको छ । भारतीय मालवाहक सवारी चालक अरबिन्द सिंहले अनुसार भारतबाट मालसामान बोकेर सुनसरी–मोरङ औद्योगिक करिडोरको उद्योगको कच्चापदार्थ लिएर आउँदा र उत्पादित बस्तु लिएर फर्कँदा एउटा गाडीबाट ट्राफिक प्रहरीले सामान्य रूपमा २/४ हजार असुल्ने गरेको गुनासो पोखे । उनीजस्तै सुनसरी–मोरङ करिडोरका १ हजारभन्दा बढी मालवाहक सवारी चालकसँग यहाँका ट्राफिक प्रहरीको दैनिक २४ सै घण्टा यस्तै व्यवहार भइरहेको चालकहरूको गुनासो छ ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर बजारको मूल सडकमा ट्राफिक व्यवस्थापनका लागि भन्दै वन–वे गर्दै आएको थियो । तर वन–वे बाटोमा जताततै व्यापारीहरूको सवारी साधन पार्किङ हुँदै आएको छ । ट्राफिक प्रहरीले बजारको मूल सडकस्थित बि–प्लट चोकमा वन–वे गरेर सुनचाँदी पसल भएको पूर्व जाने बाटोबाट सवारी साधन सञ्चालन गर्दै आएको छ तर सुनचाँदी पसल बन्द भएको दिन वन–वे नहुने गरेको देखिन्छ ।

स्थानीय सुनचाँदी पसलेहरूले आफूहरूको पसलमा सर्वसाधारणको ध्यान केन्द्रित गर्न तथा ग्राहक आकर्षित गर्न उक्त बाटोबाट ट्राफिकले वन–वे गर्दै आएको गुनासो छ । सुनचाँदी व्यापारीहरूले ट्राफिक प्रहरीलाई मासिक अवैध रकम बुझाएर उक्त बाटोबाट सवारी साधन सञ्चालन गराउँदै आएको स्थानीय नारायण खडकाले गुनासो पोखे ।

जताततै अव्यवस्थित पार्किङ
विराटनगरस्थित निजी अस्पतालहरूको अगाडि बिरामी र कुरुवा बोक्ने सवारी साधनको व्यस्त सडकमा नै हुँदै आएको पार्किङले दुर्घटना भइरहेको स्थानीय व्यापारीहरूले गुनासो पोखे । अस्पताल अगाडि सडकमा पार्किङ गरेबापत अस्पताल, होटेललगायतका व्यवसायीहरूबाट ट्राफिक प्रहरीले मासिक रूपमा मोटो रकम अबैध रूपमा असुल्दै आएको स्थानीय व्यापारीहरूले गुनासो गर्ने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जिल्ला ट्राफिकमा आफू आएको एक महिनामा सुधारको पहल थालेको बताए । ‘साउन १ गतेदेखि विराटनगर महानगरस्थित ए र बि–प्लट चोकदेखि जलजला मोडसम्म पार्किङ निषेध गरी मोटरसाइकल दुईतर्फी सञ्चालन गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसअघि सडकमा हुँदै आएको पार्किङ महानगरको ए र बि–प्लटका साथै नमस्कार होटलको अगाडिको खाली जग्गामा गर्ने व्यवस्था गरिएको छ ।’ रानीदेखि इटहरी जाने ६ लेन सडकमा कही पनि कसैले सवारी पार्किङ गर्न नपाउने व्यवस्था गरेको उनले जनाए ।

प्रहरी निरीक्षक पोख्रेलले सार्वजनिक यातायातमा भाडा दर उल्लेख गर्नुपर्ने, सवारी चालकले जुत्ता लगाएर मात्रै सवारी चलाउन पाउने र चालक, सहचालकलगायत सार्वजनिक यातायातका कर्मचारीले परिचयपत्र झुन्ड्याउनुपर्ने व्यवस्था गरेको बताए ।

स्कुल बसलाई पनि निगरानी
‘स्कुल बसहरूले सहरी क्षेत्रमा घरघरबाट बालबालिकाा संकलन गर्दै आएकोले ट्राफिक जाम हुने गरेकोले २ सय मिटर क्षेत्रमा एक ठाउँ विद्यार्थी भेला गराएर चढाउने र ओराल्ने गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘स्कुल बसहरूमा सिटअनुसारको मात्रै विद्यार्थी चढाउन पाउने व्यवस्था गरेको र त्योअनुसार नगर्नेलाई कारबाहीको दायरामा ल्याउने छौं ।’ उनले ट्राफिक व्यवस्थापनको नाममा अबैध रूपमा असुली गरेको पाइए तत्काल कारबाही गर्ने समेत बताए ।

उनले ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत आर्थिक वर्ष ०७४/७५ मा जिल्लाभरि ५४ हजार ८ सय १६ सवारी साधनलाई कारबाही गरेर ३ करोड ४१ हजार ५ सय राजस्व असुली गरेको बताए । सबभन्दा बढी १९ हजार ७ सय ९२ मोटरसाइकल चालकलाई कारबाही गरी १ करोड २१ लाख ८ हजार राजस्व असुली गरिएको छ ।


जिल्ला ट्राफिकले आब ०७३/७४ मा ३३ हजार ८ सय ८३ सवारी साधनलाई कारबाही गरी १ करोड ९९ लाख ९६ हजार राजस्व असुली गरेको थियो भने आव ०७२/७३ मा ३५ हजार ४ सय ५४ सवारी साधनलाई कारबाही गरेर १ करोड ४७ लाख ७६ हजार ६ सय राजस्व असुली गरेको थियो ।

प्रकाशित : श्रावण १, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?